वीरगन्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

मेयर सिंहले नक्कली कागजातका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो ।

जेष्ठ १२, २०८३

शंकर आचार्य

Arrest warrant issued against Birgunj Mayor Rajesh Man Singh

पर्सा — वीरगन्ज महानगरका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले मंगलबार सिंहविरुद्ध पुर्जी जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी मंगलबार कार्यालयमा प्राप्त भएको जानकारी दिएका छन् । ‘पक्राउ पुर्जीको पत्र आज प्राप्त भएको हो,’ उनले भने, ‘आजबाट खोजतलास प्रक्रिया पनि अघि बढेको छ ।’

जिल्ला अदालत स्रोतका अनुसार, मेयर सिंहविरुद्ध चार वटा मुद्दा परेको थियो, तर लिखतसम्बन्धी कसुरमा पक्राउ जारी गरेको हो। लिखत सम्बन्धी कसुरमा अनुसूची (२२) अनुसार पक्राउ पुर्जी जारी भएको हो । मेयर सिंहले नक्कली कागजातका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो ।

सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो। वीरगन्जका स्थानीय लियाकत अलीको जाहेरी अनुसार लिखतसम्बन्धी कसुरमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो । स्रोतका अनुसार, मेयर सिंह हाल वीरगन्जमा छैनन् । मेयर सिंहनिकट स्रोतका अनुसार, महानगरकै काम विशेषले काठमाडौं गएका छन् । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully