'युथ अफ वीरगन्ज' नामक फेसबुक पेजबाट सार्वजनिक भएको उक्त अडियोमा पत्रकार श्रेष्ठले रकम लिएर गुरुङविरुद्ध समाचार लेखेको दाबी गरिएको छ भने श्रेष्ठले यसलाई आफ्नो बदनाम गर्न चिनियाँ नागरिकको प्रयोग गरी रचिएको योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन् ।
What you should know
काठमाडौं — जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ र पूर्वगृहमन्त्री सुधन गुरुङ जोडिएको एक विवादित 'अडियो' सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले त्यसमा आपत्ति जनाएको छ । 'युथ अफ वीरगन्ज' नामक फेसबुक पेजबाट सार्वजनिक भएको उक्त अडियोमा पत्रकार श्रेष्ठले रकम लिएर गुरुङविरुद्ध समाचार लेखेको दाबी गरिएको छ भने श्रेष्ठले यसलाई आफ्नो बदनाम गर्न चिनियाँ नागरिकको प्रयोग गरी रचिएको योजनाबद्ध षड्यन्त्र भएको दाबी गरेका छन् ।
आइतबार बिहान १०:४१ बजे 'युथ अफ वीरगन्ज-वाइओबी' नामक फेसबुक पेजबाट ३ मिनेट ३ सेकेन्ड लामो एउटा अडियो सार्वजनिक भएको थियो । 'एक्सक्लुसिभ' दाबी गरिएको उक्त अडियोमा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले १० लाख रुपैयाँ र एक बोतल मदिरा लिएर सुधन गुरुङविरुद्ध समाचार लेखेको आरोप लगाइएको छ ।
उक्त अडियोमा अंग्रेजी भाषामा भएको संवादको अडियो रेकर्ड राखिएको छ, जसलाई पत्रकार श्रेष्ठकै आवाज भएको दाबी गरिएको छ । संवादमा अज्ञात व्यक्तिहरूले 'किशोर' नाम गरेका व्यक्तिको पत्रकारिताको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । विशेषगरी 'सुधन गुरुङ' नाम गरेका व्यक्ति आफ्नो लागि ठीक नभएको र 'खतरनाक व्यक्ति' भएको भन्दै संवादमा उनको चर्चा गरिएको छ । साथै, 'गिफ्ट' पठाउने, पछि '१ लाख रुपैयाँ र मदिराको बोतल' पुगे/नपुगेको सोधपुछ गर्ने तथा 'सिग्नल' एपमार्फत थप समन्वय गर्न आग्रह गरिएको संवादमा सुनिन्छ ।
अडियो बाहिरिएको केही घण्टापछि आइतबार दिउँसो १ बजेर ५३ मिनेटमा पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जालमार्फत ११ वटा तस्बिर पोस्ट गर्दै उक्त 'एक्सक्लुसिभ अडियो'को खण्डन गरेका छन् । उनले आफू र आफ्नो मिडियालाई बदनाम गर्न योजनाबद्ध षड्यन्त्र गरिएको दाबी गरेका हुन् । श्रेष्ठले चिनियाँ नम्बरहरूबाट पटक-पटक फोन गरेर पूर्वगृहमन्त्री गुरुङविरुद्ध जनमत बनाउन खोजिएको आरोप लगाएका छन् ।
श्रेष्ठका अनुसार 'मिस्टर यिङ' र 'मिस्टर एम' नाम प्रयोग गर्ने व्यक्तिले फोनमार्फत रवि लामिछाने कास्की अदालतबाट छुटेको विषयमा पुष्टि मागेका थिए । त्यसपछि उनीहरूले 'रवि र अन्य मिलेर सुधनलाई गृहमन्त्री बन्न नदिने' कुरा गरेको तथा बेलुका एक युवतीमार्फत कार्यालयको गेटमा मदिरा र नगद छाड्न लगाएको उनले उल्लेख गरेका छन् ।
जेन-जी आन्दोलनमा भोलेन्टियरका रुपमा खटिएका सुधन गुरुङ बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । गुरुङको सम्पत्ति र विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानीको विषयमा प्रश्न उठेपछि उनले गत वैशाख ९ गते राजीनामा दिएका थिए ।
गत वैशाख २८ गते मन्त्रिपरिषद् बैठकले गुरुङको विषयमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने गरी ३ सदस्य छन् ।
समिति बनेर उनीमाथि छानबिन भइरहँदा पनि उनी पुन: गृहमन्त्री बन्ने भन्दै चर्चा छ । उनलाई पुन: गृहमन्त्री बनाउनुपर्ने मागसहित माइतीघरमा केही व्यक्तिले धर्ना गरेका थिए ।
सुधन गुरुङ र दिपक भट्टको सेयर कनेक्सनबारे सार्वजनिक गर्ने मिडियामध्ये एक जनआस्था पनि हो । त्यसयता जनआस्थाले सुधनका विषयमा समाचारहरू लेख्दै आएको छ । उनले सुधनका विषयमा नियमित समाचार लेखिरहेको भन्दै चिनियाँ नम्बरबाट सम्पर्क गर्ने ती व्यक्तिले रकम र रक्सीको अफर गरेको श्रेष्ठको दाबी छ ।
श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, 'अब रविले सुधनलाई गृहमन्त्री बन्न दिन्न, हामी सबै मिलेर सुधनलाई छेक्नुपर्यो भन्दै मास्क र कालो चश्माधारी एउटी युवतीलाई बेलुका पठाएर गेटमा रक्सी र ५० हजार रूपैयाँ छाडेको देखियो । पछि सुधन गुरुङ एकदम खराब मान्छे हो, यसलाई गृहमन्त्री बन्नबाट जसरी पनि रोक्नुपर्यो, १० लाख दिन्छु भन्ने लिखित प्रलोभन पनि आयो । फोन नउठाउँदा पनि म्यासेज आइरह्यो ।'
श्रेष्ठले आफूले कुनै उपहार वा रकम माग नगरेको र त्यस्ता प्रस्तावहरू अस्वीकार गरेको स्पष्ट पारेका छन् । घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको र अनुसन्धान सुरु भइसकेको उनले बताएका छन् । जनआस्थाको कार्यालयबाट गत शनिबार (जेठ ९) नै जिल्ला प्रहरी परिसर, ललितपुरमा निवेदन दिएको परिसरका प्रवक्ता गौतम मिश्रले बताए । ‘निवेदनमाथि अनुसन्धान भइरहेको छ, मान्छे को हुन् भनेर पत्ता लागेको छैन, बुझ्दै छौँ,’ उनले भने ।
श्रेष्ठले फेसबुकमा एउटा सीसीटीभी फुटेज समेत पनि सार्वजनिक गरेका छन्, जसमा मास्क र कालो चश्मा लगाएकी एक युवतीले गेटमा केही सामान राखेको देखिन्छ ।
'चिनियाँ नागरिकले फोन गरेर सुधन गुरुङविरुद्ध समाचार लेख्न लगाएको' आरोप सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावासले यसप्रति आपत्ति जनाउँदै प्रेस नोट जारी गरेको छ । सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) र फेसबुकमार्फत जारी गरिएको वक्तव्यमा दूतावासले उक्त आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।
'चीनको छबिलाई जानाजानी बदनाम गर्ने यस्ता गतिविधिको हामी कडा शब्दमा निन्दा गर्छौं,' दूतावासको वक्तव्यमा भनिएको छ । चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्त पालना गर्दै आएको र नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर समर्थन गरिरहेको दूतावासले प्रष्ट पारेको छ ।
दूतावासले नेपालका सम्बन्धित निकायहरूलाई यस घटनाबारे गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्न तथा संलग्न योजनाकारहरूलाई कानुनअनुसार कारबाही गर्न आग्रह गरेको छ । अफवाहको अन्त्यका लागि विवेक र समझदारी आवश्यक रहेको उल्लेख गर्दै दूतावासले नेपालसँग कानुन कार्यान्वयन र सुरक्षा सहकार्यलाई थप सुदृढ गर्न चीन तयार रहेको समेत जनाएको छ ।
यसैबीच, पत्रकार श्रेष्ठले उक्त अडियो नियोजित रूपमा 'एडिट' गरेर भ्रम फैलाउन खोजिएको दाबी गरेका छन् । कान्तिपुरसँग कुराकानी गर्दै श्रेष्ठले भने, 'उसले अडियो रेकर्ड गर्यो, फिल्टर गर्यो, एडिट गर्यो र आफूलाई चाहिने कुरा मात्रै राख्यो । तर, मैले उसलाई 'यस्ता कुरा नगर' भनेर दिएको जवाफ चाहिँ उसले हटायो ।'
कार्यालयको गेटमा छाडिएको रकम र मदिराबारे थाहा पाएपछि आफूले 'तेरो पैसा र रक्सी फिर्ता लैजा, मलाई डिस्टर्ब नगर' भनेर जवाफ पठाएको श्रेष्ठको भनाइ छ । उनले भने, 'यो भिडियो 'युथ अफ वीरगन्ज' भन्ने पेजले लिक गर्यो, जुन भारतीय हिन्दू सङ्गठन आरएसएससँग सम्बन्धित छ ।'
सम्बन्धित समाचार
जनआस्था साप्ताहिक : दरबारको 'गसिप'देखि जाँचबुझ प्रतिवेदन 'लिक' सम्म
