रेड नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै गत साता इन्टरपोलले पत्र फिर्ता गरेको हो ।
What you should know
काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा तानिएका पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले दोस्रो पटक पनि अस्वीकार गरेको छ ।
देउवा दम्पतीविरूद्द नोटिस जारी गर्न आवश्यक पर्ने कागजातहरू अपुग भएको भन्दै इन्टरपोलले नेपालले गरेको आग्रहलाई अस्वीकार गरेको हो ।
नेपाल प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम्बद्ध अधिकारीहरूका अनुसार गत साता पत्र फिर्ता आएको हो । ‘रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गरिदिन विभागले पहिले गरेको अनुरोधको जवाफमा कागजातहरू पर्याप्त नभएको उल्लेख गरिएकामा दोस्रो पटक पुनः विभागले केही विवरण थप गरेर पुनः अनुरोध गरिदिन भनेको थियो, त्यसपछि हामीले वैशाख तेस्रो साता इन्टरपोललाई पत्र पठाएका थियौं तर दोस्रो पटकको पत्रअनुसार पनि नोटिस जारीका लागि अझै कागजात पुगेन भनेर जवाफ आएको छ,’ नाम नबताउने शर्तमा प्रहरीका एक अधिकारीले कान्तिपुरसँग भने, ‘इन्टरपोल बाट प्राप्त यो व्यहोरा विभागलाई फरवार्ड गरिसकेका छौं ।’
विभागका एक अधिकारीले पनि नोटिस जारीका लागि थप कागजात माग्दै इन्टरपोलबाट जवाफ आएको पुष्टि गरे । विभागका निर्देशक तथा सूचना अधिकारी उत्तमकुमार घिमिरेले भने अनुसन्धानमा भइरहेको विषय भएर नोटिसबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धानका लागि भन्दै २४ चैतमा जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी लिएको थियो । अदालतबाट पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमा थिए । उनीहरू अहिले पनि विदेशमै छन् ।
पक्राउ पुर्जी लिएपछि विभागले रेड नोटिस जारीका लागि इन्टरपोलसमक्ष अनुरोध गरिदिन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । त्यसपछि प्रहरीले इन्टरपोललाई पत्र पठाएको थियो । फ्रान्समा मुख्यालय रहेको इन्टरपोलको एसीया प्यासिफिक क्षेत्र हेर्ने कार्यालय सिंगापुरमा छ । प्रहरीले एसिया प्यासिफिक हेर्ने क्षेत्रीय कार्यालय सिंगापुरमै नोटिस जारीका लागि अनुरोध गरेको थियो ।
विभागले देउवा दम्पतीविरूद्ध सम्पत्ति शुद्धीकरणको आरोप लगाएर अनुसन्धान गरिरहेको छ । २१ फागुनको प्रतिनिधिसभा चुनाव अगावै सिंगापुर गएका देउवा दम्पती हाल हङकङ रहेको देउवा निकटहरूले बताएका छन् । दुवै जनालाई विदेशबाट पक्राउ गरेर नेपाल ल्याउने योजनासहित विभागले नेपाल प्रहरीमार्फत इन्टरपोललाई रेड नोटिस जारी गर्नका लागि अनुरोध गरेको थियो । तर, इन्टरपोलले अहिलेकै अवस्थामा नोटिस जारी गर्न इन्कार गरेपछि देउवा दम्पतीलाई विदेशबाट नेपाल ल्याउने सरकारको प्रयास बिफल भएको हो ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार देउवा दम्पतीविरूद्धको अनुसन्धानमा ‘सम्बद्ध कसुर कुन हो ? कुन कानुन टेकेर उनीहरूविरूद्ध अनुसन्धान भइरहेको छ ? आरोपितविरूद्ध कति रकम शुद्धीकरण भएको छ ?’ लगायत विषय समेटेर थप स्पष्टता खोज्दै इन्टरपोलले नोटिस जारीको पत्र फिर्ता गरिदिएको हो । यसअघि वैशाख दोस्रो साता इन्टरपोलले नोटिस जारीका लागि गरिएको अनुरोधसहितको पत्र फिर्ता गरिदिएकामा २४ वैशाखमा दोस्रो पटक प्रहरीले पुनः पठाएको थियो । दोस्रो पटक पनि तिनै विषय समेटेर थप जवाफ मागेर पत्र फिर्ता गरिदिएको स्रोतको भनाइ छ ।
कुनै गैरकानुनी कार्यबाट कमाएको सम्पत्तिलाई औपचारिक आर्थिक च्यानलमा ल्याउनुलाई सम्पत्ति शुद्धीकरण गरेको मानिन्छ । त्यसका लागि पहिल्यै अर्को कसुर गरेर गैरकानुनी तवरबाट सम्पत्ति कमाएको पुष्टि हुनुपर्छ । कानुनी भाषामा सम्बद्ध कसुर भनिने त्यस्तो कसुर देउवा दम्पतीका हकमा के हो भनेर इन्टरपोलले फेरि पनि सोधेको छ ।
संघीय संसद्बाट सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ संसोधन गरी विभागबाट सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न पाउने अधिकार प्रहरी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत विभिन्न १३ निकायलाई प्रत्यायोजन गरिएकामा यो व्यवस्थासहितको कानुन ३० चैत २०८० मा राजपत्रमा प्रकाशित भएको थियो । त्यसयता परेका उजुरीको हकमा विभाग आफैंले अनुसन्धान गरी मुद्दा दायरका लागि सरकारी वकिल कार्यालयमा पठाउन पाउँदैन । त्यसका लागि कुन अपराधबाट आर्जित धन शुद्धीकरण भएको हो भन्नलाई सम्बद्ध कसुर खुलाउनु पर्छ । इन्टरपोलले पनि देउवा दम्पतीविरूद्ध भइरहेको अनुसन्धानमा सम्बद्ध कसुर कुन हो ? भनेर प्रश्न गरेको हो ।
देउवा ५ पटक प्रधानमन्त्री, ७ पटक सांसद तथा राणा १ पटक मन्त्री र ३ पटक सांसदका रूपमा सार्वजनिक पदमा बसेकी छन् । सार्वजनिक पदमा बसेका व्यक्तिले भ्रष्टाचार वा पदको दुरूपयोग गरेको भए अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियार छ । तर, अख्तियारले दुवै जनाविरूद्ध अनुसन्धान गरेको छैन भने विभागले सिधै सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।
जेन-जी आन्दोलनका क्रममा गत वर्ष २४ भदौमा बूढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीबाट देउवा दम्पती कुटिएका थिए भने उनको निवासमा तोडफोड र आगजनी भएको थियो । साँझ सुरक्षाकर्मीले दुवै जनालाई उद्धार गरी अस्पताल पुर्याएकामा केही समय अस्पतालमै बसेकामा पछि डिस्चार्ज भएर बाहिर बसेका थिए । पछि थप उपचारका लागि भन्दै दुवै जना सिंगापुर गएका थिए ।
पछि दुवै जना गत १० कात्तिकमा उपचारका लागि भनेर सिंगापुर गएका थिए । १८ दिनपछि २८ कात्तिकमा देउवा दम्पती नेपाल फर्केका थिए । त्यसपछि आरजु २१ पुसमा दिल्ली गएकी थिइन् । त्यतैबाट उनी सिंगापुर गएकी थिइन् । देउवा चुनावको अघिल्लो साता १३ फागुनमा सिंगापुर गएका थिए । त्यसपछि उपचारका लागि भन्दै हङकङ गएको बताइएपनि दुवै जना हाल कहाँ छन् भनेर एकिन भइसकेको छैन ।
देउवाले आफूविरूद्ध २४ चैतमा पक्राउ पुर्जी जारी भएकामा सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका थिए । उनले आफ्नो र परिवारबारे सम्पत्तिसम्बन्धी विषयमा भ्रामक प्रचार भएको दाबी गरेका थिए । ‘नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु,’ उनले फेसबुकमा लेखेका थिए, ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्छु ।’
