गत वैशाखमा तीन वर्षयताकै धेरैले घुमे चितवन निकुञ्ज

विदेशी पर्यटक चैतमा ९ हजार ७ सय १७ र वैशाखमा ९ हजार ८ सय ८१ आएका थिए ।

जेष्ठ ११, २०८३

रमेशकुमार पौडेल

Chitwan National Park saw the highest number of visitors in three years last April

What you should know

चितवन — चैतपछि चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेहरूको संख्या घट्न सुरु हुन्छ । तर यस वर्ष चैतको तुलनामा वैशाखमा धेरै जनाले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । गएको वैशाखमा स्वदेशी, विदेशी र सार्क देशका गरी कुल २९ हजार ७ सय ४० जनाले निकुञ्ज घुमेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जनाए । वैशाखमा निकुञ्ज घुम्नेहरूको यो संख्या तीन वर्षयताकै धेरै हो ।

सामान्यतया कात्तिकमा चितवन निकुञ्ज घुम्नेहरूको संख्या अत्यधिक हुन्छ । हिउँदपछि निकुञ्ज घुम्नेहरू चैतमा धेरै हुने गरेको निकुञ्जको विवरणमा देखिन्छ । गएको कात्तिकमा ३२ हजार २५२ जनाले निकुञ्ज घुमेका थिए । त्यसपछि संख्या घट्दै गएर फागुनमा २७ हजार ४ सय ५ पुग्यो । चैतमा झनै घटेर २५ हजार ९८५ पुग्यो । तर वैशाखमा आएर फेरि बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ को वैशाखमा निकुञ्ज घुम्ने २६ हजार ६३० थिए । त्यस वर्ष चैतमा ३४ हजार ४१९ जनाले निकुञ्ज घुमेका थिए । २०८१/८२ को वैशाखमा २२ हजार ७ सय ७७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । त्यसभन्दा अघिल्लो महिना चैतमा निकुञ्ज प्रवेश गर्नेको संख्या २५ हजार ४ सय २२ थियो । चालु आर्थिक वर्षमा भने चैतभन्दा बढी वैशाखमा पर्यटक आएका छन् ।

धेरै घुम्नेमा स्वदेशी छन् । चैतको तुलनामा वैशाखमा निकुञ्ज घुम्ने सार्क देशका पर्यटक केही घटेका छन् । विदेशी भने थोरै बढेका छन् । विदेशी पर्यटक चैतमा ९ हजार ७ सय १७ र वैशाखमा ९ हजार ८ सय ८१ आएका थिए । सार्क देशका चैतमा २ हजार ३ सय ४४ र वैशाखमा योभन्दा पनि घटेर १ हजार ८ सय १३ आएका छन् । चैतमा १३ हजार ९ सय २४ नेपालीले निकुञ्ज घुमेका थिए । वैशाखमा यो संख्या १८ हजार ४६ पुगेको छ ।

नेपालीले कात्तिकपछि सबैभन्दा धेरै वैशाखमै निकुञ्ज घुमेका छन् । कात्तिकमा निकुञ्ज घुम्ने नेपाली १९ हजार १ सय ९ रहेको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसपछि घट्दै गएर चैतमा झनै खुम्चिएको थियो । सरकारले हाल शनिबार र आइतबार दुई दिन कार्यालय बिदा दिने निर्णय गरेको छ । इन्धन प्रयोग घटाउन सुरु भएको बिदाले घुमघाममा सकारात्मक प्रभाव पारेको पर्यटन व्यवसायीको अनुभव छ ।

दुईदिने बिदाको प्रभाव राम्रो परेको सौराहाका पर्यटन तथा होटल व्यवसायी जितु तामाङ बताउँछन् । ‘पहिला शनिबार मात्र बिदा हुँदा शुक्रबार अबेला आउने, शनिबार घुमेर फर्कने चलन थियो । हामीहरू आज शुक्रबार धेरै पाहुना आउँछन् भन्थ्यौं । यो पटक दुईदिने बिदाले शुक्रबार होइन, शनिबार मान्छे आउँछन्,’ तामाङले भने । शनिबार चाँडै आउने र आइतबार अबेला फर्कने गरेको उनले जनाए । 

वैशाखको सुरुमा नयाँ वर्षको प्रभाव पर्ने तामाङको भनाइ छ । यस पटक दिनहुँजसो पानी परिरहेकाले चर्को गर्मी छैन । ‘नेपालीहरू खास गरेर असोज, कात्तिक, मंसिर र पुसमा धेरै आउँछन् । माघ, फागुन र चैतमा विदेशी धेरै हुन्छन् । वैशाखदेखि भदौसम्म पर्यटक अरू बेलाको तुलनामा कमै हुने गर्थे,’ नेचर गाइडसमेत रहेका तामाङले भने । यस पटक जेठमा पनि नेपालीको संख्या राम्रै रहेको उनी बताउँछन् ।

चितवन निकुञ्ज देशको पहिलो राष्ट्रिय निकुञ्ज हो । वन्यजन्तु अवलोकन गर्ने पर्यटकका लागि चितवन देशको मुख्य गन्तव्य हो । निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ जस्ता अनेकौं जीवजन्तु छन् । निकुञ्ज आसपासका आदिवासी थारू, बोटे, कुमाल र दरै समुदायको संस्कृतिले पनि पर्यटकलाई आकर्षित गरेको छ । हात्ती सफारी, जंगल जिप सफारी, जंगल वाक र डुंगा सफारी यहाँका मुख्य पर्यटकीय गतिविधि हुन् । निकुञ्ज घुम्न देश–विदेशबाट वर्षमा तीन लाख हाराहारीमा पर्यटक आउने गरेको निकुञ्जको तथ्यांक छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully