पर्सा प्रहरीका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता भएको हो ।
पर्सा — मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । पर्सा प्रहरीका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता भएको हो ।
प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार पर्सा जिल्ला अदालतमा उपस्थित गराए पनि अदालतले मुद्दा हेर्न नभ्याएको भन्दै उनलाई फिर्ता पठाएको छ । पर्सा प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईंलाई मंगलबार पुनः अदालतमा पेस गरिनेछ ।
प्रहरीका अनुसार प्रसाईंमाथि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्याउने तथा सरकारप्रति अवहेलना सिर्जना हुने खालका अभिव्यक्ति दिएको आरोप लागेको छ ।
उनी जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ परेका थिए । यता प्रसाईंका समर्थकहरूले सोमबार पनि वीरगन्जमा प्रदर्शन गरेका छन् ।
