एनएसजीको १६ सदस्यीय टोलीलाई लेफ्टिनेन्ट कर्नेल रामचन्द्र थापाले नेतृत्व गरेका थिए भने मेजर अखिलेश भट्ट क्लाइम्बिङ लिडरका रूपमा रहेका थिए ।
काठमाडौं — भारतको राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी) 'ब्ल्याक क्याट्स' एभरेष्ट अभियान २०२६ ले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । टोली शुक्रबार बिहान ३:२६ बजे शिखरमा पुगेको हो ।
एनएसजीको १६ सदस्यीय टोलीलाई लेफ्टिनेन्ट कर्नेल रामचन्द्र थापाले नेतृत्व गरेका थिए भने मेजर अखिलेश भट्ट क्लाइम्बिङ लिडरका रूपमा रहेका थिए । अभियानलाई नेपाली शेर्पा टोलीले सहयोग गरेको थियो । काठमाडौंबाट प्रस्थान गरेको केवल २० दिनमै टोलीले सगरमाथा आरोहण पूरा गरेको जनाएको छ, जुन उल्लेखनीय छ ।
सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंका अनुसार काठमाडौंबाट प्रस्थान गरेको २० दिनमै अभियान सम्पन्न हुनु आफैंमा ठूलो उपलब्धि हो ।
अभियानलाई छाङ दावा शेर्पाले सुरुदेखि नै प्रत्यक्ष रूपमा समन्वय तथा व्यवस्थापन गरेका थिए । अभियानको सरदारका रूपमा मिङ्मा थिन्दुक शेर्पाले टोलीको नेतृत्व गरेका थिए । सगरमाथा आरोहण गर्ने भारतीय एनएसजी सदस्यहरू मेजर अखिलेश भट्ट (क्लाइम्बिङ लिडर), बविन्दर सिंह, भूपेन्द्र सिंह, पंकज सिंह दोसाद, राहुल सिंह, रविन्दर सिंह, सतीश कुमार, सोनु, सुलिन्दर सिंह र सुरेश कुमार थिए ।
उनीहरूलाई सघाउनेमा नेपाली शेर्पा गाइडहरू मिङ्मा थिन्दुक शेर्पा, दानुरु शेर्पा, लाक्पा टेम्बा शेर्पा, ङिमा दोर्ची शेर्पा , मिङ दोर्ची शेर्पा, पेम्बा शेर्पा, लाक्पा तेन्दु शेर्पा, र फुर्तेन्जी शेर्पा थिए ।
