परराष्ट्र सेवालाई आर्थिक कूटनीति र संस्थागत सुधारमा केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्री खनालको जोड

मन्त्री खनालले सीमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक र कूटनीतिज्ञहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Foreign Minister Khanal stresses the need to focus the Foreign Service on economic diplomacy and institutional reforms

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र सेवालाई समयसापेक्ष परिमार्जन गर्दै आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । 

परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले मन्त्रालय र वैदेशिक नियोगहरूलाई परिणाममुखी बनाउनुपर्ने बताएका हुन् । ‘हाम्रो रणनीतिक ध्यान अब आर्थिक कूटनीतिमा केन्द्रित हुनुपर्छ । वैदेशिक प्रत्यक्ष लगानी, पर्यटन प्रवर्द्धन, प्रविधि हस्तान्तरण र बजार पहुँचका लागि परम्परागत शैलीलाई त्यागेर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माण गर्नुपर्ने समय आएको छ,' उनले भने,  ‘वैदेशिक नियोगहरू अब केवल प्रशासनिक अड्डा मात्र नभई लगानी र प्रविधिका केन्द्र बन्नुपर्छ । नियोगको पदस्थापनलाई केवल अधिकारका रूपमा मात्र नभई कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा लिइनेछ ।’

मन्त्री खनालले सीमित स्रोत र साधनका बाबजुद राष्ट्रिय सार्वभौमसत्ता र हितको रक्षा गर्न पूर्वप्रशासक र कूटनीतिज्ञहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । 

मन्त्री खनालले परराष्ट्रनीति आन्तरिक प्राथमिकताको प्रतिबिम्ब हुनुपर्ने उल्लेख गरे । विश्व भू–राजनीतिमा भइरहेको तीव्र परिवर्तन, जलवायु संकट र प्रविधिको विकासले निम्त्याएका चुनौतीहरूलाई सामना गर्न कूटनीतिक चातुर्य र रणनीतिक दूरदर्शिता आवश्यक रहेको उनको भनाइ छ । 

मन्त्री खनालले नेपालले विश्व परिवेशमा हुने परिवर्तनहरूको केवल प्रतिक्रिया मात्र नजनाई, तिनको पूर्वानुमान गरी राष्ट्रिय हितमा उपयोग गर्नुपर्नेमा जोड दिए । संस्थागत सुधारको आवश्यकता औंल्याउँदै मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई तथ्यांकमा आधारित कार्यप्रणालीमा लैजाने र पूर्णरूपमा योग्यता प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खनालले परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र समृद्धिको पहिलो घेराका रूपमा स्थापित गर्ने संकल्प गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र झन्झटरहित बनाइने बताए ।

कान्तिपुर

Link copied successfully