हुम्ला र बाजुराबीचको विवाद अध्ययन गर्न समिति गठन

नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन

जेष्ठ १०, २०८३

कान्तिपुर संवाददाता

Committee formed to study dispute between Humla and Bajura

काठमाडौँ — सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक-एक जना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य-सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । 

बाजुरा र हुम्लाबीच अघिल्लो सातादेखि उत्पन्न तनाव कायमै छ । घटनामा संलग्नहरूमाथि कारबाही नगरिएको भन्दै बाजुरास्थित हिमाली गाउँपालिकाका युवाहरूले आइतबार पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन् ।

उक्त करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुलाचौरमै रोकिएका छन् । सडक तेस्रो दिन पुनः अवरुद्ध गरिएको हो । 

गत सातादेखि तनावग्रस्त बनेको रानीसैन, लाम्पाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाइएको छ । 

कान्तिपुर

Link copied successfully