सहरमा गैंडा : संरक्षणको सफलता कि अर्को चुनौती ?

दुर्लभ वन्यजन्तु सहरमै निस्फिक्री डुल्नु अब चितवनका लागि नौलो दृश्य रहेन । बरु उल्टै प्रश्न उठ्न थालेको छ- गैंडा सहर छिरेको हो कि मानिसहरू गैंडाको पुरानो थातथलोमा फैलिएका हुन् ?

जेष्ठ ८, २०८३

रमेशकुमार पौडेल

Rhinos in the city: A conservation success or another challenge?

What you should know

चितवन — सडकका बत्तीमुनि एउटा एकसिंगे गैंडा निर्धक्क दौडिरहेको छ । कोही मोबाइल निकालेर भिडियो खिचिरहेका छन्, कोही डरले भागिरहेका छन् । 

रात गहिरिँदै जाँदा चितवनको चौबिसकोठी चोकतिर अचानक यसरी हलचल मच्चिन्छ । 

जंगलभित्र जिप सफारी गरेर मात्रै देख्न पाइने दुर्लभ वन्यजन्तु सहरमै यसरी निस्फिक्री डुल्नु अब चितवनका लागि नौलो दृश्य रहेन । प्रश्न बरु उल्टो उठ्न थालेको छ- गैंडा गाउँ र बजारमा आएको हो, कि मानिसहरू गैंडाको पुरानो थातथलोमा फैलिएका हुन् ?

चितवन राष्ट्रिय  निकुञ्ज नेपालमा गैंडाको मुख्य बासस्थल हो । यहाँका गैंडा हेर्न लाखौं स्वदेशी-विदेशी पर्यटक आउँछन् । 

राप्ती नदी सरसफाइ अभियान चलाइ रहेका भरतपुर पटिहानीका अपिल घिमिरेले गएको वैशाख ६ गते सामाजिक सञ्जालमा एउटा भिडियो राख्दै लेखेका थिए, ‘चितवनमा जुनसुकै बेला र जहाँ पनि गैंडा निस्कन सक्छ, निस्कन पाउनुपर्छ । यो नौलो कुरा होइन, उसको थातथलो हो । हामी जोगिएर हिँड्नुपर्‍यो ।’ 

उनले राखेको भिडियोमा एकसिंगे गैंडा अँध्यारोमा भरतपुर चौबिसकोठी चोकमा दौडँदै थियो । 

Rhinos in the city: A conservation success or another challenge?

वन्यजन्तुका सम्बन्धमा किताब लेख्दै आएका ददि सापकोटाले वैशाख २८ गते गैंडाको भिडियो सामाजिक सञ्जालमा राख्दै लेखे, ‘गैंडा गाउँको सडकमै आएर लडाइँ खेले । खासमा गैंडा गाउँ पसेको हैन । गाउँ र सडक गैंडाको पिता पुर्खाले खाइखेलो गरेको वनमा पसेका हुन् । त्यसैले अचम्म होइन यो ।’ उनले पोस्ट गरेको उक्त भिडियोमा दुईवटा भाले गैंडा सौराहाको सडकमै एक आपसमा मजाले जुधेका थिए ।

सौराहाको व्यस्त सडकमा त्यस दिन दिउँसै त्यसरी गैंडा जुधेको दृश्य सञ्जालमा मात्रै भाइरल भएन, देश-विदेशका विभिन्न मिडियामा समेत प्रसारण भयो । २०७४ सालको बाढीमा बग्दै गरेको माउबिनाको बच्चा गैंडालाई निकुञ्जले उद्धार गरेर पूर्वी क्षेत्र सौराहामा छाडेको थियो । मेघौलीबाट उद्धार गरेर ल्याएका कारण यसको नाम नै मेघौली भयो । यो गैंडा मान्छेकै स्याहार र उपचार पाएर हुर्कियो बढ्यो ।

बेलाबेला राप्ती तरेर निकुञ्जको जंगल जाने, अलि हिँड्दै पश्चिम उत्तरमा रहेको बाघमारा जंगलमा बस्ने गरे पनि मेघौली प्राय: सौराहा बजार क्षेत्र र खेतबारीमा रमाउने गर्छ । यसलाई कोशीटप्पुमा लगेर राख्ने प्रयास पनि भएको थियो । २०८० चैतमा कोशी पुगे पनि मेघौली त्यहाँ रमाउन सकेन । घाँस नखाने, खोरमा टाउको हिर्काउन थाल्यो । लगेको चार दिनपछि मेघौली सौराहा नै फर्कियो ।

सौराहाको सडकमा मेघौली डुलेको देख्दा पर्यटक दंग पर्छन् ।

मेघौली भाले गैंडा हो । वैशाख २८ गते दिउँसो जंगलबाट सौराहा छिर्ने गरेको अर्को भाले गैंडासँग मेघौलीको जम्काभेट भयो । राप्ती किनारबाट सौराहाको एक होटल हुँदै यी गैंडा सडकसम्म आए । त्यहाँ घमासान पर्‍यो । यो लडाइँमा मेघौलीले जित्यो । अनि हार्नेलाई लखेट्दै जुन बाटो आएको हो, त्यही बाटो जंगल फर्काइदियो ।

यो भिडियोले देश-विदेशमा चर्चा पाउँदा संरक्षण कार्यमा जोडिँदै आएका सौराहाका पर्यटन व्यवसायी रामकुमार अर्याल भन्छन्, ‘यो घटनाले के देखायो भने उद्धार गरेर हुर्काएको गैंडाले उस्तै उमेरको भाले तर पूरै जंगली वातावरणमा बसेको अर्को गैंडालाई पनि जित्न सक्दो रहेछ ।’ 

बास स्थानबाहिर बजार क्षेत्रमा गैंडाले देखाउने यस्ता अप्रत्याशित गतिविधि संरक्षणकर्मीलाई अनौठो र अचम्म नलाग्ने रहेछ ।

स्थानीयको ज्यान नै जोखिममा

मुख्य बासस्थलभन्दा बाहिर गैंडाहरु निर्धक्क निस्फिक्री निस्कँदा मानिसले ज्यानसमेत गुमाएका घटना चितवनमा छन् । ६० वर्षकी अम्बिका पाठकका ६५ वर्षीय श्रीमान् तेजबहादुर पाठक दिनभर बाख्रा चराउँथे । साँझपख डुल्दै घरदेखि एक किलोमिटर परसम्म पुग्ने र झमक्क भएपछि घर फर्कने उनको बानी थियो । तर गएको माघ १७ गते एकाबिहानै अम्बिकाले नमिठो खबर सुनिन् । 

भरतपुर महानरपालिका–३ बाह्रघरे नजिक नारायणी दोभान टोलमा उनको घर छ । यहाँ बस्न थालेको १५/१६ वर्ष भयो । नारायणगढ बजारदेखि लगभग अढाई किलोमिटर पर पश्चिममा नारायणी नदी आडमा नै छ यो टोल । नदी आडमा हुँदा बर्खामा बाढी र डुबानको डर हुन्थ्यो । तर अहिले जंगली जनावरको डर छ । उनको घर आडबाटै गैंडा हिँड्न थालेको छ । 

त्यही गैंडाले उनका श्रीमान् तेजबहादुरको ज्यान लियो । ‘गैंडा यही घर नजिक नै आउँछन् । बच्चा लिएरै गैंडा हिँड्छन् । तर हामीले उहाँको शव घरदेखि पश्चिम एक-डेढ किलोमिटर पर भेटाएका हौं । रातभर फर्कनुभएन । गैंडाकै डरले निस्केर बोलाउन वा खोज्न जान पनि सकिएन । बिहान आडका मन्छेले देखेछन् र खबर गरे,’ अम्बिकाले सुनाइन् । उनको घर वरपर गैंडा आउन लागेको धेरै भएको छैन ।

Rhinos in the city: A conservation success or another challenge?

अम्बिकाको घर आडमा पर्ने भरतपुर–४ रामेश्वर शान्ति टोल विकास समितिका अध्यक्ष राजेन्द्र कँडेल सात-आठ वर्षयता गैंडाको आउजाउ बढेको बताउँछन् । ‘आडमा नगर वन छ । नगर वनमा सात-आठवटा गैंडा हामीले देखेका छौं । पहिला थिएनन्, सात-आठ वर्षयता गैंडा आयो । एक वर्षयता धेरै देखिन्छन्,’ कँडेलले भने । महानगरको सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि उनले यो समस्या राखे । 

‘पाठक बुबाको बाहेक अन्य त्यस्तो ठूलो घटना भएको त सुनिएको छैन । तर यो बजार नजिकको क्षेत्र हो । यहाँबाट मुख्य बजार क्षेत्र पुलचोक सहिदचोक अढाई या तीन किलोमिटरजति पर होलान् । बिहानै मान्छे निस्कनुपर्छ । साँझ अबेला घर फर्कनुपर्छ । गैंडा पनि यही समयमा सक्रिय हुन्छ । डर बढेको छ,’ कँडेलले भने । 

बेलाबेलामा मर्निङवाकमा निस्कनेलाई गैंडाले लखेटेको भिडियो भाइरल हुन्छ । 

नारायणगढ बाह्रघरेका ८६ वर्षीया प्रजापति सापकोटा नियमित मर्निङवाक गर्छन् । पहिला उनी घरबाट निस्केर दक्षिण हानिन्थे । तीन-चार वर्ष भयो पूर्व बजार क्षेत्रतिर लाग्ने गरेका छन् । ‘बिहान ४ बजे निस्कन्छु । पहिला दक्षिण लाग्दा धारापानीनेर गैंडा भेटिने, डर लाग्यो । त्यसैले पूर्व सहिदचोकतिर मर्निङ वाक गर्न सुरु गरेँ,’ सापकोटाले भने । यता लाग्दा पनि बेलाबेला गैंडासँग जम्काभेट हुन्छ ।

घरदेखि सडकैसडक हिँड्दै ५ सय मिटर पर आउँदा नौघरेमा बेलाबेला गैंडाले बाटो काट्ने गरेको उनले बताए । 

गीता बयलकोटी ३० वर्षदेखि नौघरे बस्दै आएकी छन् । ‘पहिला-पहिला हामी नगर वन जाँदा गैंडा थिएन । अहिले त त्यही वनमा गैंडा बस्छ । रात परेपछि यता आउँछ, र बिहान फर्कन्छ । यही हाम्रो घरको आडबाट निस्कन्छ,’ उनले भनिन् । नगर वनबाट एक किलोमिटर पर छ उनको घर । 

नगर वनबाट निस्केको गैंडा दक्षिण हुँदै करिब ३ किलोमिटर पर लंकु क्षेत्रसम्म पुग्ने गरेको स्थानीयहरू बताउँछन् । 

वैशाख ६ गते चौबिसकोठीमा पनि नगरवनबाटै गैंडा पुग्यो कि भन्ने अनुमान छ । चौबिसकोठीबाट पूर्वमा ३-४ किलोमिटर पर बरण्डाभार जंगल क्षेत्रमा रहेका सामुदायिक वनहरु छन् । तर, चौबिसकोठी पुगेको गैंडाका बारेमा वन कार्यालयसँग यकिन विवरण छैन ।

चितवन निकुञ्जले २०८० जेठमा सार्वजनिक गरेको विवरणअनुसार निकुञ्जको १२७ ठाउँबाट गैंडाहरु बाहिर निस्कने गर्छन् । निकुञ्जको मध्यवर्ती र जंगल आडको बस्ती र खेतीमा गैंडा पसेर गर्ने क्षति नौलो होइन । तर उद्धार गरेको गैंडाको बच्चा हुर्कंदै गर्दा सौराहामा उसले गर्ने ओहोरदोहोर र नारायणगढ क्षेत्रको नगर वन आडमा गैंडा डुल्नु अनौठो लाग्ने घटना हुन् ।

Rhinos in the city: A conservation success or another challenge?

नगर वन नारायणगढ पुलचोकबाट नजिकै छ । नारायणी पुलबाट पश्चिम हेर्दा कुनै बेला नगर वन आडमा गैंडा चरेको देख्न सकिन्छ । नगर वनदेखि पश्चिम लहरै सामुदायिक वन छन् । डिभिजन वन अन्तर्गतका यी वन गैंडाका नयाँ बासस्थल हुन् । त्यस क्षेत्रको ज्ञानेश्वर सामुदायिक वन तथा सामुदायिक वन उपभोक्ता महासंघ चितवनका पूर्व अध्यक्ष सुरवीर पोखरेलले २० वर्षयता गैंडा बढेको बताए ।  

बच्चा जोगाउन नयाँ ठाउँ

बच्चा जन्माउने गैंडालाई बाघबाट जोगिनुपर्ने हुन्छ । त्यसैले बाघ बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रका वनभन्दा बाघ बस्न सुरु नगरेको नारायणी आडका सामुदायिक वनलाई गैंडाले रोजेको पोखरेलले बताए । 

यी वनहरूमा बच्चासहितका गैंडा देखेको हुँदा पोखरेलले यस्तो भनेका हुन् । सात वर्षअघि पुसमा नगर वनमा बस्ने एउटा गैंडाले वनभन्दा पनि बाहिर बस्तीको झाडीमा बच्चा जन्माएको थियो ।  

गैंडा हिउँदमा बढी आउने पोखरेल बताउँछन् । ‘हिउँदमा जंगलमा घाँस कम हुन्छ । गाउँतिर गहुँ, मकै र तरकारी लगाएको हुन्छ । यसैमा चर्न गैंडा निस्कन्छ । रामपुरको घोलसम्म जान्छ । त्यो घोल जंगलदेखि त्यस्तै ४ किलोमिटर पर दक्षिणमा छ । रामपुरको त्यो घोलको नाम नै गैंडा घोल भएको छ,’ पोखरेलले भने । 

जिल्ला वनका अधिकारीहरु पनि यो कुरा स्वीकार गर्छन् ।

‘ज्ञानेश्वर ब्लक त्यत्ति फराकिलो छैन । पर्याप्त घाँस छैन । पानी छ तर घाँस नभएपछि चर्न बाहिर निस्कन्छन्,’ भरतपुरको डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी पौडेलले भने । राति अबेला वनबाट निस्केर बिहान सबेरै फर्कने गरेका कारण रातमा र बिहान चाँडै हिँड्नेहरु चनाखो हुनुपर्ने उनले बताए । सहर बजारमा गैडासँग जम्काभेट भए के गर्ने भन्ने मेसो नहुने उनको भनाइ छ ।

Rhinos in the city: A conservation success or another challenge?

राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयको प्रमुखसमेत भएका तर हाल स्वतन्त्र रुपमा कार्यरत वन्यजन्तु विज्ञ बाबुराम लामिछाने चितवन निकुञ्ज आडमा पहिलाको तुलनामा निकै कम गैंडा जंगलबाट बाहिर निस्कने गरेको बताउँछन् । ‘२०/३० वर्षअघि हेर्ने हो भने चितवनका हरेक ठाउँमा गैंडा कुर्न बस्ने, अहिले बाँदर लखेटेको झैं त्यो बेला गैंडा लखेट्ने गरेको इतिहास छ,’ उनले भने ।

निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन, विद्युतीय झड्का तारबार, सिमेन्टका पर्खाल निर्माणजस्ता काम भएका कारण वन्यजन्तु आउने क्रम कम भएको बताए । 

चितवन निकुञ्जका पूर्वप्रमुख तथा हाल निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत गणेश पन्त जंगलभित्र भाले-भाले जुध्दा लखेटिएको अर्को भाले गाउँतिर छिर्ने गरेको बताउँछन् ।

‘नगर वनजस्ता नयाँ ठाउँ ती गैंडाको रोजइमा परेका छन् । किन परे यसबारे राम्रो अध्ययन हुनुपर्छ । जलवायु परिवर्तनको असरले यसो पो भयो कि ?,' गैंडाका विषयमा विद्यावारिधि गरेका पन्तले भने । 

पन्त र लामिछाने दुवैको मत छ, ‘चितवन गैंडाको क्षेत्र हो । गैंडा जहाँ पनि निस्कन सक्छ । त्यसैले स्थानीय सचेत बन्नैपर्छ ।’

संरक्षणकर्मी रामकुमार अर्याल नयाँ बासस्थलमा गैंडा धेरै देखिएको हो भने त्यसलाई पुरानो ठाउँमा ल्याएर छाड्नु उपयुक्त हुने तर्क गर्छन् । ‘पहिला निकुञ्जको पूर्वी क्षेत्रमा धेरै गैंडा थिए । अहिले पूर्वमा कम र पश्चिममा धेरै भएको गणनाले देखाएको छ । त्यसैले पुरानो बासस्थल निकुञ्जको पूर्वी क्षेत्रमा नगर वनजस्ता नयाँ ठाउँमा धेरै भएका गैंडा ल्याएर राख्नुपर्ने हुन्छ,’ उनले भने ।

भरतपुर–४ को रामेश्वर शान्ति टोल विकास समितिका अध्यक्ष राजेन्द्र कँडेल पनि आफूहरुको यही माग रहेको बताउँछन् । 

तारबार र कंक्रिटवाल गर्न बजेट कम हुने गरेको डिभिजन वनका सूचना अधिकारी देवी पौडेलले बताए । ‘बजेट ५ लाख आएको छ । यसले कत्ति नै छेकबार लगाउन सकिएला र,' पौडेलले भने, 'केही त भएको छ तर पर्याप्त छैन ।’

Rhinos in the city: A conservation success or another challenge?

गैंडा गणनाको पाँच वर्षअघि सार्वजनिक नतिजा अनुसार देशभर ७५२ गैंडा छन् । नेपालमा सवैभन्दा धेरै गैंडा चितवन निकुञ्ज र यस आसपासको वन क्षेत्रमा छन् । यहाँ ६९४ गैंडा छन् । 

चितवनसहित चार जिल्लामा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्रमा मात्रै गत आर्थिक वर्षमा जंगली जनावरले आक्रमण गर्दा १० जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए ।

त्यसमध्ये गैंडाले आक्रमण गर्दा मृत्यु हुने ८ जना थिए । त्यसै गरी चालु आर्थिक वर्षमा गैंडाले दुई र बाघले एक जनालाई मारेको  मगरले बताए । 

मान्छे मात्रै होइन चर्नका लागि बस्ती छिर्ने गरेका गैंडा पनि जोखिममा छन् । चालु आर्थिक वर्षमा मात्रै पनि नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती र चितवनको माडीमा खेतमा चर्न गएका दुई गैंडाको करेन्ट लागेर मृत्यु भएको थियो । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully