मौसम पूर्वानुमानअनुसार योजना बनाए सम्भावित जोखिमबाट जोगिन सकिन्छ : एआईजी कार्की

जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न चालक तथा यात्री दुवैलाई उनको अपिल छ ।

जेष्ठ ८, २०८३

न्युज एजेन्सी नेपाल

Possible risks can be avoided by planning according to weather forecasts: AIG Karki

काठमाडौँ — प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना र जनधनको क्षति न्यूनीकरणका लागि मौसम पूर्वानुमानको पूर्ण पालना गर्न सरोकारवालाहरूलाई आग्रह गरेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष (स्टल) को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । एआईजी कार्कीले पछिल्लो समय मौसम पूर्वानुमानको प्रविधि अत्यन्तै विश्वसनीय भएको उल्लेख गर्दै त्यसलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तने गरेको तर्फ ध्यानाकर्षण गराए । नाफाभन्दा पनि मानवीय सुरक्षालाई प्राथमिकता दिन यातायात व्यवसायी र चालकहरूलाई समेत उनले निर्देशन दिए ।

जोखिमयुक्त क्षेत्रमा जबर्जस्ती सवारी चलाउने मानसिकता त्याग्न र खराब मौसममा यात्रा स्थगित गर्न चालक तथा यात्री दुवैलाई उनको अपिल छ ।

‘अहिले प्रविधिको विकासले मौसमको जानकारी ठ्याक्कै मिल्न थालेको छ, तर हामी त्यसलाई पालना गर्दैनौँ । पूर्वानुमानलाई स्वीकार गरी सोहीअनुसार यात्राको योजना बनाउने हो भने सम्भावित जोखिमबाट जोगिन सकिन्छ,' उनले भने, 'प्रहरीले रोक्दारोक्दै पनि जोखिम मोलेर अघि बढ्ने र समस्यामा परेपछि उद्धार भएन भन्ने दोहोरो मापदण्डले थप जटिलता ल्याएको छ, आफ्नो सुरक्षामा आफैँ बढी सजग हुनुपर्छ ।’

विगतका वर्षहरूमा जस्तो बाढी र पहिरोका कारण सवारी साधन र यात्री बेपत्ता हुने दुःखद घटना यो वर्ष दोहोरिन नदिन सबै पक्षबीच सहकार्य हुनुपर्नेमा एआईजी कार्कीले जोड दिए ।

न्युज

Link copied successfully