सहमतिअनुसार अनुज अरोराले श्रम अदालतको फैसला बमोजिम पाउनुपर्ने कुल २० लाख ५५५ रुपैयाँ ९४ पैसामध्ये नियमानुसार लाग्ने १५ प्रतिशत कर (टीडीएस) कट्टा गरी १७ लाख ४७२ रुपैयाँ ५५ पैसाको चेक पाएका छन् ।
What you should know
काठमाडौं — अंग्रेजी दैनिक 'द हिमालयन टाइम्स'को प्रकाशक संस्था 'इन्टरनेसनल मिडिया नेटवर्क नेपाल प्रालि'ले श्रम अदालतको फैसला कार्यान्वयन गर्दै पूर्वसमाचार सम्पादक अनुज अरोरासँग सम्झौता गरेको छ ।
अदालतको आदेश नमानेपछि बैंक खाता र सेयर कारोबार नै रोक्का भएर दबाबमा परेको व्यवस्थापन पक्षले शुक्रबार (८ जेठमा) श्रम तथा रोजगार कार्यालय, टेकुमा सहमति गर्दै बाँकी बक्यौता रकमको चेक हस्तान्तरण गरेको हो ।
श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको रोहबरमा निवेदक अनुज अरोरा र विपक्षी संस्थाकातर्फबाट चिफ अपरेटिङ अफिसर (सीओओ) प्रभाशंकर श्रीवास्तवबीच लिखित सहमति भएको हो ।
सहमतिअनुसार अरोराले श्रम अदालतको फैसला बमोजिम पाउनुपर्ने कुल २० लाख ५५५ रुपैयाँ ९४ पैसामध्ये नियमानुसार लाग्ने १५ प्रतिशत कर (टीडीएस) कट्टा गरी बाँकी रकम भुक्तानी गरिएको छ । संस्थाका तर्फबाट सीओओ श्रीवास्तवले अरोरालाई १७ लाख ४७२ रुपैयाँ ५५ पैसाको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक हस्तान्तरण गरेका हुन् ।
के थियो विवादको पृष्ठभूमि ?
सन् २००३ देखि 'द हिमालयन टाइम्स'मा आबद्ध अरोरालाई कम्पनीले कोभिड-१९ महामारीको कारण देखाउँदै २०७६ चैतदेखि २०७९ मंसिरसम्म पारिश्रमिकमा ५० प्रतिशत कटौती गरेको थियो भने पछि लामो समयसम्म तलब नै दिएको थिएन ।
तलब नपाएपछि कानुनी लडाइँमा गएका अरोराको पक्षमा २०८२ मंसिर २१ गते श्रम अदालतले फैसला गर्दै २० लाखभन्दा बढी रकम भुक्तानी गर्न आदेश दिएको थियो । तर, कम्पनीले उक्त फैसला कार्यान्वयन गर्न आलटाल गर्दै सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै बाटो खुला गरिदिए पनि कम्पनीले 'मुद्दा विचाराधीन रहेको' बहानामा भुक्तानी रोकेको थियो ।
एक वर्षभन्दा लामो समयसम्म पनि फैसला कार्यान्वयन नभएपछि अन्तिम विकल्पका रुपमा श्रम तथा रोजगार कार्यालयले गत वैशाख २१ गते नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गर्दै उक्त कम्पनीको बैंक खाता रोक्का गरेको थियो । सम्पूर्ण व्यावसायिक कारोबार नै ठप्प भएपछि अन्ततः कम्पनी अरोरालाई सहमतिमा ल्याएर पारिश्रमिक तिर्न बाध्य भएको हो ।
सम्बन्धित समाचार
