नागरिकका प्रधानसम्पादक लुइँटेलले दिए राजीनामा, सम्पादकमा अधिकारी

रिपब्लिक मिडियाले जेठ २०८० मा आईपीओमार्फत सर्वसाधारणबाट ४३ करोड ५३ लाख रुपैयाँ लगानी संकलन गरेको थियो ।

जेष्ठ ७, २०८३

दया दुदराज

Nagarik Editor-in-Chief Luitel resigns, Adhikari takes over as editor

काठमाडौँ — नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित नागरिक दैनिकको प्रधानसम्पादकबाट गुणराज लुइँटेलले राजीनामा दिएका छन् । उनको राजीनामापछि सम्पादकमा बालकृष्ण अधिकारी नियुक्त भएका छन् ।

लुइँटेलले दिएको राजीनामा बिहीबार स्वीकृत भएको नेटवर्कका अध्यक्ष रोमनाथ घिमिरेले जानकारी दिए । ‘उहाँ सधैंका लागि बिदा हुनुभएको होइन । उहाँ सायद किताब लेख्दै हुनुहुन्छ, त्यो किताबका लागि ब्रेक लिनुभएको हो,’ उनले भने, ‘उहाँ जोडिन चाहे फेरि हामीसँगै काम गर्नुहुन्छ ।’

लुइँटेल १२ जेठ २०७२ देखि सम्पादकीय नेतृत्वमा थिए । ‘मैले आफ्नै योजनाअनुसार राजीनामा दिएको हो । नेपालमा नयाँ नेतृत्व सबै ठाउँमा चाहिन्छ र नयाँ ढंगले काम होस् भन्ने मेरो चाहना हो,’ उनले भने, ‘दैनन्दिन समाचारको साइकलमा कुद्नुभन्दा अब केही क्रिएटिभ काम गर्न सकिन्छ कि भन्ने लागेको छ । अहिलेलाई कुनै निश्चित योजना बनाएको छैन ।’

संस्थापक अध्यक्ष विनोदराज ज्ञवाली पनि लुइँटेलको बिदाइमा कार्यालय उपस्थित भएका थिए । नागरिकका एक पत्रकारका अनुसार उनले आफूहरू नयाँ ढंगबाट जाने बताएका थिए । ‘हामीलाई कुनै समस्या छैन । तपार्इंहरूले अन्यथा सोच्नै पर्दैन र डराउनुपर्ने केही छैन,’ ज्ञवालीले भनेका थिए, ‘हामी अहिले खर्च कटौती गरेर संस्थालाई कसरी अझ राम्रो बनाउने भन्नेमा लागेका छौं ।’

लुइँटेलले आफ्नै इच्छाले राजीनामा दिएको संस्थापक अध्यक्ष ज्ञवालीले कान्तिपुरलाई बताए । ‘कुनै संकटका कारणले उहाँले राजीनामा दिनुभएको होइन । यो नियमित प्रक्रिया पनि हो,’ उनले भने, ‘मैले हाम्रा साथीहरूलाई त्यसैअनुरूप भनेको छु ।’

यसअघि गत २९ वैशाखमा मिडिया अध्यक्षबाट शोभा ज्ञवालीले राजीनामा दिएकी थिइन् । शोभाले राजीनामा दिएपछि सञ्चालक समितिले रोमनाथ घिमिरेलाई अध्यक्षमा नियुक्ति गरेको थियो । शोभा गत पुस मसान्तमा अध्यक्ष बनेकी थिइन् । त्यसअघि उनका पति विनोदराज अध्यक्ष थिए । उनीहरूकी छोरी समृद्धि ज्ञवालीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट गत ११ फागुनमा राजीनामा दिएकी थिइन् ।

अध्यक्ष घिमिरेले रिपब्लिक मिडिया कम्पनी भएका कारण पारिवारका सदस्यहरू सञ्चालक समितिबाट बाहिरिएको बताए । ‘संस्थापक अध्यक्ष ज्ञवालीजीले गएको वार्षिक साधारणसभामा फेमिली रनभन्दा पब्लिक रनमा जाऔं भन्ने विचार सार्वजनिक गर्नुभएको थियो, त्यसैअनुसार अघि बढेका हौं,’ उनले भने ।

रिपब्लिक मिडियाले जेठ २०८० मा आईपीओमार्फत सर्वसाधारणबाट ४३ करोड ५३ लाख रुपैयाँ लगानी संकलन गरेको थियो ।

दया दुदराज कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully