बिदामा बसिन् सर्वोच्च अदालतकी न्यायाधीश मल्ल

आजदेखि उनी २० दिन बिदामा बसेको सर्वाेच्च प्रशासनले जानकारी दिएको छ ।

जेष्ठ ६, २०८३

जयसिंह महरा

Supreme Court Justice Malla goes on leave

काठमाडौँ — सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा नियुक्त भएपछि असन्तुष्ट बनेकी न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छन् । 

आजदेखि उनी २० दिन बिदामा बसेको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । 

मल्लले केही दिन विदेश जानुपर्ने भएको र फैसला लेखन पनि बाँकी भएकाले त्यसका लागि बिदा आवश्यक भएको निवेदनमा उल्लेख गरेकी छन् ।

संवैधानिक परिषद्‌बाट सिफारिस भएको १२ औं दिन मंगलबार मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । ‘फास्ट ट्र्याक’ को संसदीय सुनुवाइबाट अनुमोदन हुनासाथ नियुक्ति पाएका उनले शपथग्रहण पनि गरिसकेका छन् । ३३ प्रधानन्यायाधीशका रूपमा शर्माले मंगलबार नै जिम्मेवारी पनि सम्हालेका छन् । प्रधानन्यायाधीश शर्माले शपथ लिने क्रममा मल्ल अनुपस्थित थिइन् । 

संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठलाई प्रधानन्यायाधीश बनाउने परम्पराविपरीत चौथो वरीयताका शर्मालाई सिफारिस गरिएपछि अनेक टीकाटिप्पणी भएका थिए ।

यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अवकाश पाएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully