दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश 

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ लिएर महान्यायाधीवक्ता कार्यालयमार्फत उपस्थित हुन आदेश दिएको हो ।

जेष्ठ ६, २०८३

दुर्गा दुलाल

Order to submit written response within 24 hours on Durga Prasai's custodial interrogation

काठमाडौँ — सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण निवेदनमा २४ घण्टाभित्र जवाफ दिन आदेश गरेको छ। 

न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ लिएर महान्यायाधीवक्ता कार्यालयमार्फत उपस्थित हुन आदेश दिएको हो । प्रसाईंको हकमा अधिवक्ता आशिष लुइँटेलले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । 

पछिल्लो पटक प्रसाईं सोमबार राति वीरगन्जबाट पक्राउ परेका थिए । उनलाई अदालतले  जेठ ५ गते ३ दिनको म्याद थपेको थियो । प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप अनुमति लिएको थियो । 

प्रसाईंले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सन्जालबाट दिएको अभिव्यक्तिले सार्वजनिक शिष्टाचारविरुद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्‍याउने तथा सरकारप्रति अवहेलना सिर्जना गर्ने खालको रहेको प्रहरीको दाबी छ ।  

प्रसाईंलाई वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully