१६ वर्षका ३ त्रासदी : जंगली च्याउले लियो चेपाङ गाउँका १६ जनाको ज्यान 

चेपाङहरूले जंगलमा पाइने तरुल, गिट्ठा, भ्याकुर, सिस्नो, टाँकी र च्याउ खाएर गुजारा चलाउने पुरानो चलन हो । च्याउ पहिलेदेखि खाँदै आए पनि कुन विषालु हो भन्ने उनीहरू छुट्याउन सक्दैनन् ।

जेष्ठ ६, २०८३

रमेशकुमार पौडेल

3 tragedies in 16 years: Wild mushrooms kill 16 people in Chepang village

What you should know

चितवन — सामान ढुवानी गर्ने बोलेरो जिपको पछाडि टुक्रुक्क बसेर श्यामबहादुर चेपाङ शुक्रबार दिउँसो भरतपुर अस्पताल आइपुगे । आडमा छिमेकी भाइहरू थिए । आकस्मिक कक्षअगाडि गाडी रोकिएपछि सबै मिलेर मैलो तन्नाले बेरेको शव निकाले । 

त्यो श्यामबाहदुरकी ९ वर्षकी कान्छी छोरी नमुनाको थियो । भित्र श्यामबहादुरका अरू दुई सन्तानको उपचार हुँदै थियो ।

नमुनाको निधन भइसकेको थियो भने गम्भीर देखिएका श्यामबहादुरका १३ वर्षकी जेठी छोरी मनिता र ११ वर्षका छोरा साजनलाई स्थानीय विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले उपचारका लागि छिटोछिटो अस्पताल ल्याएका थिए । उनीहरुलाई आकस्मिक कक्षमा भर्ना गरेर उपचार सुरु गरेको लगभग दुई घण्टापछि श्यामबहादुर आइपुगे ।

कान्छी छोरीको शव बोकेर आएका श्यामबहादुर उपचारपछि दुई सन्तान निको भएर घर फर्कलान् भन्ने आशामा थिए । तर शनिबार राति छोरा साजन बिते । मंगलबार बिहान जेठी छोरी मनिताको पनि मृत्यु भयो । यसरी पाँच दिनभित्रै उनका सबै तीन सन्तानले ज्यान गुमाए । 

‘वैशाख ३० गते बुधबार अलिअलि हुँदै बिहीबारबाट सिकिस्त भए । २९ गते मंगलबार सबैले मकैको भात र टाँकीको साग खाएर सुतेको हो । त्यसपछि उनीहरुले केही खाएकै छैनन् । पानी खाँदा पनि बान्ता गरे,’ श्यामबहादुर भन्छन् । श्यामबहादुर-पदममायाको अवस्था भने सामान्य नै छ । 

आइतबार दिउँसो भरतपुर अस्पतालको ‘बी ब्लक’ अगाडि हतास मुद्रामा भेटिएका श्यामबहादुरले सम्झँदै भनेका थिए, ‘बच्चाहरु बिरामी हुनुभन्दा ठ्याक्कै १० दिन अगाडि जंगलबाट ल्याएको कटुसे च्याउ भने खाएको  हो ।’ तर यो च्याउले केही गर्दैन भन्छन् उनी । कटुसे च्याउ अघिल्ला वर्ष जंगलबाट ल्याएर पटकपटक खाने गरेका थिए । यो वर्ष एक पटक मात्रै खाए, त्यो पनि निकै थोरै ।

भरतपुर अस्पतालका प्रवक्ता डा.रामप्रसाद सापकोटाले मृत्यु हुनेहरुको सबै लक्षण विषालु च्याउ खाँदा हुने असरसँग मिल्ने बताए । तर अभिभावकले फरक कुरा गरेपछि थप परीक्षण र अनुसन्धान गरेर यकिन गर्न लागेको उनको भनाइ छ । ‘विषालु च्याउ खाँदा जे लक्षण हुन्छ बिरामीमा सबै मिल्छ । तर अभिभावकले तत्काल कुनै च्याउ खाएका थिएनौं भनेका कारण हामीले शवको पोस्टमार्टम मात्रै नगरेर थप परीक्षणका लागि रगतको नमुना लिएका छौं । अन्य केही नमुना पनि झिकेका छौं,’ डा.सापकोटाले भने । 

अस्पतालका वरिष्ठ फिजिसियन डा.प्रमोद पौडेल केही जंगली च्याउमा अमेनिटा नामक विषाक्त तत्व हुने बताउँछन् । त्यस्तो तत्व भएको च्याउ खाए कलेजोमा असर गर्छ । स्नायु, रगत र मिर्गौलामा पनि असर गर्दै जटिलता बढेपछि मान्छेको मृत्युसमेत हुन्छ । उपचारका लागि आएका बच्चामा सुरुमा कलेजोमा समस्या थियो ।

जंगली च्याउले विनाश निम्त्याएको घटना नौलो भने होइन । चितवनमा च्याउ खाएर एकै घरका ८ जनासम्मको मृत्यु भएको छ ।

०००

यस वर्ष एसईई नतिजा सार्वजनिक भएलगत्तै चितवनमा सन्सरबहादुर प्रजा चेपाङको सोधीखोजी सुरु भयो । २०६७ जेठ १४ मा उनका हजुरबा बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर घरका सबैले खाए । सन्सरबहादुर त्यो बेला वर्ष दिनका पनि भएका थिएनन् । त्यसैले उनले च्याउ खाएनन् । जसले च्याउ खाए बिरामी भएर साता दिनभित्र सबै बिते ।

3 tragedies in 16 years: Wild mushrooms kill 16 people in Chepang village

घरमा सन्सरबहादुरका हजुरबा/आमा, आफ्ना बाआमा, काकाकाकी र दुई दिदी थिए । च्याउ खाएर बिरामी भएपछि सन्सरबहादुरका हजुरबा/आमा र एक दिदीको गाउँमै निधन भयो । बाँकी पाँचजनालाई भरतपुर अस्पतालसम्म ल्याए पनि ज्यान जोगिन सकेन । अनाथ भएपछि सन्सरबहादुरलाई भरतपुरको एसओएस बालग्रामले आश्रम दिएको थियो । त्यहीँबाट उनले यो वर्ष एसईई उत्तीर्ण गरे । 

उत्तरी पहाडी भेग इच्छाकामना–१ काउले हात्तीबाङ आडको कुलबाङ गाउँका ५५ वर्षीय श्यामबहादुर र ३५ वर्षकी पदममाया चेपाङले हालै तीन सन्तान गुमाएजसरी सन्सरबहादुरले १६ वर्षअघि आफ्ना सबै अभिभावक गुमाएका थिए । 

कारण- उही जंगली च्याउ । 

०००

चितवनकै पहाडी भेग कविलासको चौकीडाँडामा २०६९ जेठ ३१ मा स्थानीय बुद्धिबहादुर चेपाङले जंगलबाट ल्याएर च्याउ खाएका थिए । घरमा उनीसहित श्रीमती सोमती र पाँच भाइ छोरा थिए । छोरामध्ये सानो भएका कारणले साइँला र कान्छाले च्याउ खाएनन् । 

च्याउ खाएर बिरामी परेपछि उनीहरु पाँचैजनालाई भरतपुर अस्पताल भर्ना गरिएको थियो । तर बिरामी भएका कोही पनि बचेनन् । नखाएका कारण जोगिएका बुद्धिबहादुरका साइँला छोरा त्यो बेला दुई वर्षका थिए । कान्छा छोरा ६ महिनाका मात्रै भएका थिए । 

घटनापछि दुई वर्षका छोरालाई नेपाली सेनाका तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले लगेर पढाए । कान्छा फुपूसँग बसे ।

‘कान्छो त अहिले पनि फुपूसँग छ । छत्रमान सापले लगेको छोरो काठमाडौं बसेर पढिरहेको छ । पढ्न त खै कति पढ्यो कुन्नि, यो पटक घर आएको थियो । नागरिकता बनाएर पठाइदिएँ,’ च्याउ खाएर बितेका बुद्धिबहादुरका दाइ लीलबहादुर चेपाङले भने । 

यसअघि भएका पुराना दुई घटनामा बच्चाले अभिभावक गुमाएका थिए । यस पटकको घटनामा अभिभावकले आफ्ना सबै बच्चा गुमाएका छन् ।

विकट गाउँको व्यथा 

च्याउ खाएर एकै परिवारक पाँचजना बितेको कविलासको चौकीडाँडा अहिले भरतपुर महानगरपालिका–२९ मा पर्छ । तर यो पहाडी भेग आउजाउलाई अहिले पनि सजिलो छैन । 

नारायणगढ-मुग्लिन सडकको नारायणगढदेखि २० किलोमिटर पर भोर्लेबाट दक्षिण पहाडी भेगको उकालो-ओरालो गर्दै चौकीडाँडा पुग्न सकिन्छ । भोर्ले-चौकीडाँडा दुरी १० किलोमिटर छ । घटना हुने समयमा चौकीडाँडा जाने बाटो अहिलेभन्दा कठिन थियो । गाडीहरु फाट्टफुट्ट चल्थे । 

कान्दामा त अहिले पनि गाडी पुग्ने बाटो छैन । नारायणगढदेखि २५ किलोमिटर पूर्वमा छ महेन्द्र राजमार्ग आडको भण्डारा बजार । भण्डाराबाट उत्तर पहाडी भेगमा छ लोथरको कान्दा । लगभग दुई घण्टा गाडीमा पहाडी बाटो पार गरेपछि कान्दा पुग्न थप कम्तीमा तीन घण्टा उकालो हिँड्नुपर्छ । १६ वर्षअघि दिनभर अर्थात् १०/१२ घण्टा लगातार हिँडेर राजमार्ग आउनुपर्ने बाध्यता थियो । 

चेपाङहरु अति सीमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय हुन् । उनीहरु रुखो र पाखो जमिन भएको पहाडी भेगमा बस्छन् । 

कुलबाङको अवस्था पनि यस्तै यस्तै छ । श्यामबहादुरको पुस्तौनी थलो कुलबाङ । पहाडी पाखोमा मकै हुन्छ । जाँगर गरेर रोपे कोदो पनि फल्छ । अरु अन्न तरकारी खासै हुँदैन । यो बेला मकै हर्लक्क बढेको छ । पोहोर स्याहारेको मकै थोरै बचेको छ । घरमा प्राय: त्यसैको भात पाक्छ । 

खेतमा साग उम्रेको छैन । जंगलबाट ल्याएको टाँकी पकाएर उनीहरु तरकारीको अभाव टार्दै आएका छन् ।  

कुलबाङदेखि डेढ घण्टा पर छ सयरलिङ गाउँ । त्यहाँ बस्छन् झारफुक गर्ने झाँक्री । चेपाङहरुको रीतिरिवाजमा ‘फाल हाल्ने’ भएका कारण उनलाई ठूलो झाँक्री मानिन्छ । श्यामबहादुरले तिनै फाल हाल्ने झाँक्रीको साहारा लिने निधो गरे । शुक्रबार उज्यालो भएपछि उनी लागे सयरलिङ गाउँ । झाँक्री ल्याएर आउँदा अलि अबेलै भयो । छिमेकीले उपचार गर्न भन्दै बिरामीलाई हात्तीबाङ दौडाइसकेका थिए । 

हात्तीबाङ, बाँसपुर हुँदै शक्तिखोर फिस्लिङ सडकको शक्तिखोर झरेर भरतपुर आउन डेढ घण्टा लाग्यो । कुलबाङबाट हात्तीबाङ गाडी चल्दैन । डेढ घण्टा हिँड्नुपर्छ भन्छन् श्यामबहादुर । 

सहर र सडकदेखि पर उपचार गर्न झट्ट जान नसक्ने ठाउँमा यस्ता घटना भएका छन् । जहाँ सिकिस्त बिरामी भए पनि उपचार गर्न अस्पताल लैजाने हैन झाँक्री खोज्ने चलन अझै पनि कायमै छ । 

गाउँपालिकाको सूचना- 'च्याउ खाँदै नखानू'

इच्छाकामना गाउँपालिकाले बुधबार सूचना निकाल्दै जंगलका कुनै पनि च्याउ नखान अपिल गरेको छ । 

कुलबाङमा जंगली च्याउ खाएका कारण तीनजना बालबालिकाको ज्यान गएको भन्दै गाउँपालिकाले जंगली च्याउको प्रयोग पूर्ण रुपमा बन्द गर्न भनेको छ । गाउँपालिकाले परिवार र निर्दोष सन्तानको ज्यान जोखिममा नपार्नका लागि च्याउ टिप्ने, बेच्ने र पकाएर खाने काम नगर्न अनुरोध गरेको हो ।

‘वनजंगलमा आफै उम्रेका रैथाने या जंगली च्याउहरु अत्यन्त विषालु हुन सक्छन् । कुन च्याउ खान हुने र कुन नहुने भनेर सजिलै छुट्याउन नसकिने हुँदा जंगली च्याउ खान बन्द गरौं,’ गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चन्द्रकान्त बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यसैगरी बिरामी परेमा धामीझाँक्री वा परम्परागत झारफुकको भर नपरी तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जान पनि पालिकाले अनुरोध गरेको छ । चैत लागेपछि चेपाङ गाउँमा खाने कुराको अभाव हुने गर्छ । ‘अहिले कम हुँदै आएको छ । तर पहिलेपहिले त चैत लागेपछि अन्न नै नहुने, अनिकाल लागेझैं हुन्थ्यो,’ नेपाल चेपाङ संघका महासचिव सन्तबहादुर चेपाङले भने ।

उनका अनुसार यो बेला चेपाङहरुले जंगलमा पाइने कन्दमूल तरुल, गिट्ठा, भ्याकुर, सिस्नो, टाँकी र च्याउ खाएर गुजारा चलाउने पुरानो चलन हो । ‘च्याउ पहिलेदेखि खान्छन् । तर विषालु हो या होइन चिन्न गाह्रो छ । खाइरहेको च्याउ पनि कुनै बेला विषालु हुन्छ भन्छन् पाका पुरानाहरु,’ उनले भने । जंगलको च्याउ नखाएकै राम्रो हुने र यस बारेमा सवै मिलेर चेतना फैलाउनुपर्ने उनले आग्रह गरे । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully