ओली र भण्डारीबीच सम्बन्ध सुधार

एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली–भण्डारीबीच सम्बन्ध सुधार भएको हो ।

जेष्ठ ५, २०८३

गंगा बीसी

Relations between Oli and Bhandari improve

What you should know

काठमाडौँ —  

एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो । यो निर्णयसँगै भण्डारी र ओलीबीच विगत लामो समयदेखि जारी ‘द्वन्द्व’ मा पनि विराम लागेको छ ।

अध्यक्ष ओली निवास गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘आज एउटा महत्त्वपूर्ण निर्णय भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता दिने निर्णय भएको छ,’ उनले भने । योसँगै पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको सम्बन्ध सुधार भएको छ । २१ फागुनको निर्वाचनमा एमाले सानो आकारमा खुम्चिएपछि दुई नेताबीच संवाद सुरु भएको थियो ।

एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली–भण्डारीबीच सम्बन्ध सुधार भएको हो ।पत्थरीको शल्यक्रियापछि ओलीले स्वास्थ्य लाभ गरिरहेका बेला २८ वैशाखमा ओलीलाई भेट्न गुन्डु, भक्तपुर पुगेकी थिइन् । त्यहाँ दुई नेताबीच करिब दुई घण्टा राजनीतिक विषयमा छलफल भएको थियो । भण्डारीनिकट नेता एवं एमाले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलले दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको उल्लेख गर्दै दूरी बढाउन जरुरी नभएको बताए । ‘दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको जानकारी पाएको छु,’ उनले भने, ‘नेताहरूबीच दूरी बढाउन आवश्यक छैन ।’ त्यसबेला भण्डारीको सदस्यता ‘पेन्डिङ’ राखेर ‘गैरराजनीतिक विवाद’ उठाइएको उनको भनाइ छ ।

गुन्डु संवादको परिणामस्वरूप आइतबार पूर्वमहासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ३३औं स्मृति दिवसमा एमालेले भण्डारीलाई प्रमुख अतिथि बनाएको थियो । एमाले केन्द्रीय कार्यालय मुख्य सचिव भीष्म अधिकारी ‘मदन–आश्रित’ स्मृतिमा भएको कार्यक्रममा प्रमुख आतिथ्यका लागि निम्ता दिन भण्डारी निवास गएका थिए । प्रमुख अतिथि भइदिन ‘अध्यक्ष ओलीको आग्रह’ भएकाले निम्तो दिएका थिए । प्रमुख अतिथिका रूपमा भण्डारीले एकता, जनतासँगको सम्बन्धबारे धारणा राखेकी थिइन् । साथै एमाले सुधारका लागि गर्नुपर्ने कामबारे धारणा राखेकी थिइन् ।

निर्वाचनपछि भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय बनाउँदा फरक नपर्ने ओलीको बुझाइ रहेको एक नेताले बताए । ‘विद्या भण्डारीले सदस्यता नवीकरण गरेर पार्टी अध्यक्ष हुने तयारी गरेपछि केपी ओली रोक्न लाग्नुभएको थियो । पुस २०८२ मा तेस्रो कार्यकालका लागि अध्यक्ष भइसक्नुभएको छ,’ उनले भने, ‘अब विद्यासँग दूरी बढाउनु हुन्न भन्ने निष्कर्षमा ओली पुग्नुभएको छ ।’

भण्डारी पार्टी नेतृत्वमा आउनेबारे निर्णयअनुसार हुने उपमहासचिव भट्टले बताए । ‘पूर्वराष्ट्रपति भण्डारी नेतृत्वमा आउनेबारे पार्टीले निर्णय गर्छ । अहिले सदस्यता दिने निर्णय मात्र भएको छ,’ उनले सचिवालय बैठकपछि बताए । भण्डारीका स्वकीय सचिव राजकुमार राईले पार्टीले ‘मदन–आश्रित’ स्मृति कार्यक्रममा प्रमुख अतिथि बनाउनु पार्टीका लागि सकारात्मक विषय भएको बताए । ‘पूर्वराष्ट्रपतिलाई सम्मानपूर्वक पार्टीमा सक्रिय हुने वातावरण दिनु सकारात्मक कुरा हो,’ उनले भने, ‘यसले आगामी दिनमा राम्रो परिणाम दिने वातावरण बन्छ ।’ एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली–भण्डारीबीच सम्बन्ध सुधारको थालनी भएको हो ।

भण्डारीले ‘मदन जयन्ती’ मा गत १४ असारमा पार्टी नेतृत्वमा आउने उद्देश्यसहित सक्रिय एमालेको राजनीतिमा आउने घोषणा गरेकी थिइन् । पार्टी नेतृत्व लिन आफू एमालेमा सक्रिय भएको बताएपछि ओली झस्किएका थिए । त्यसपछि ५ र ६ साउनमा बसेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता ‘पेन्डिङ’ राखेपछि एमालेमा विवाद चुलिएको थियो । त्यसको एक वर्षअघि नै केन्द्रीय कार्यालय च्यासल गएर भण्डारीले सदस्यता नवीकरण गरे पनि केन्द्रीय कमिटीले त्यसलाई मान्यता दिएको थिएन । बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको थियो ।

गंगा

Link copied successfully