सर्वोच्च प्रशासनको विरोधमा नेपाल बारले मंगलबार दिउँसो लालटिन बाल्ने

सोमबार आकस्मिक रुपमा बसेको बारको बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको जनाएको हो ।

जेष्ठ ४, २०८३

कान्तिपुर संवाददाता

Nepal Bar to light lanterns on Tuesday afternoon in protest against Supreme Court administration

काठमाडौँ — नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगर्नु न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य भएको बताएको छ । सोमबार आकस्मिक रुपमा बसेको बारको बैठकले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालना नगरेर सर्वोच्च प्रशासनले असाधारण र अप्राकृतिक 'रबैया' देखाएको जनाएको हो । 

साथै अदालतमा विचाराधीन विषयमा संसद्‌मा छलफल गर्न बन्देज गर्ने प्रावधान संविधानको धारा १०५ मा लेखिएको विषयलाई नजरअन्दाज गरी सोमबार संसदको बैठकमा छलफल गरिएको विषय पनि अत्यन्त दुःखद् रहेको बारको भनाइ छ । 

बारले मंगलबार दिउँसो बारको प्रांगणमा लालटीन बालेर अदालत प्रशासनको व्यवहारको विरोध गर्ने जनाएको छ ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएकी थिइन् । तर, उक्त समय सीमाभित्र सर्वोच्च प्रशासनले निवेदन दर्ता गरेन । रिट निवेदकहरू रिट लिएर सर्वोच्च प्रशासन पुगेपनि मुख्य रजिस्ट्रार विमल पौडेल र रजिष्ट्रारहरू भद्रकाली पोखरेल र मानबहादुर कार्की कार्यालयबाट बाहिरिएका थिए ।

कान्तिपुर

Link copied successfully