प्रधानन्यायाधीश सिफारिसमा विवादसम्बन्धी रिट १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशपछि प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचिएको दाबीसम्बन्धी रिट दर्ता प्रक्रिया सुरु भएको छ।

जेष्ठ ४, २०८३

दुर्गा दुलाल

Acting Chief Justice orders to register writs related to disputes on the recommendation of the Chief Justice by 1 pm

काठमाडौँ — कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्ले  सर्वोच्च अदालतको प्रधान्यायाधीश सिफारिसमा वरिष्ठता मिचेको दाबी गरिएको रिटको दरपिठविरुद्धको निवेदन दर्ता १ बजेभित्र गर्न आदेशपछि दर्ता हुने प्रक्रिया सुरू भएको छ । 

रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदनसमेत नभएको भनी उजुरी दिएका थिए । उक्त उजुरीपछि कामु प्रधान्यायाधीशले एक बजेभित्र दर्ता गर्न आदेश गरेको र अहिले आफूहरू दर्ताका लागि पुगेको सिलवालले बताए । 

सर्वोच्च प्रशासनले दर्ता गरेपछि उक्त निवेदनको पहिलो  सुनुवाइ जेठ ५ गते  हुने छ । २०८३  वैशाख २५ गते संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाललगायतले सर्वोच्चमा रिट पेस गरेका थिए ।

उक्त रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता  गर्न अस्वीकार गरी दरपिठ गरिएको थियो । प्रधानन्यायाधीशको सिफारिस र  नियुक्तिसम्बन्धी स्थापित प्रचलन, बेंग्लुरू घोषणाको प्रतिकूल एवं नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी महासन्धिको धारा १४ समेतको खिलाप भएको दाबी रिटमा गरिएको छ । 

दरपिठविरुद्ध २०८३ वैशाख २८ गते इजालससमक्ष निवेदन लिएर अधिवक्ता सिलवाल गएका थिए । सर्वोच्च अदातलको निवेदन केही समयमा दर्ता हुने भन्दै  रोकेको थियो ।  सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले सल्लाह गरेर दर्ता गर्ने भन्दै मौखिक आदेश र आशय’बाट अस्वीकार गरेपछि अधिवक्ता सिलवाल कामु प्रधानन्यायाधीश मल्लको सचिवालयमा निवेदन लिएर गएका थिए ।

न्यायाधीशको इजलासले खारेज गर्न वा अन्य आदेश दिन सक्ने बाटो हुँदाहुँदै रिट निवेदन नै दर्ता नगर्ने सर्वोच्च अदालत प्रशासनको अडानविरुद्ध गएपछि प्रधानन्यायाधीश मल्लको सचिवालयले सिलवालको दरपिठविरुद्धको निवेदन दर्ता गर्न लिखित आदेश दिएको थियो । उक्त आदेशपछि निवेदन दर्ताको प्रक्रियामा गएको हो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully