दुर्लभ गैंडाको काल बन्दै विद्युतीय धराप

खागका लागि तस्करहरुले विद्युतीय धराप थापेर गैंडा मार्ने र किसानले पनि खेतीबाली जोगाउन करेन्ट छाड्ने गर्दा दुर्लभ गैंडा मर्ने क्रम बढेको छ ।

जेष्ठ ४, २०८३

रमेशकुमार पौडेल

Electric traps are killing rare rhinos

What you should know

चितवन — गत शुक्रबार बिहान नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१ स्याउली टोलको मकै बारीमा मृत गैंडा भेटियो । राजमार्गदेखि दुई किलोमिटर उत्तरको उक्त ठाउँ निकुञ्जको मध्यवर्ती क्षेत्र नभइ डिभिजन वन अन्तर्गत पर्छ ।

नवलपुर कावासोतीको डिभिजन वन कार्यालयले घटनाको अनुसन्धान गरिरहेको छ । मरेको गैंडा फेला परेको ठाउँभन्दा दुई सय मिटर तल दक्षिणमा लोकाहा खोलाको काँसघारीमा जिआई (बेन्डिङ) तारले बेरिएका बाँसका २७ वटा किला लुकाएर राखेको भेटिएको छ ।

घटनास्थलबाट उत्तर पश्चिम रहेको घरबाट सिंगल फेजका रिङसहितको करिब १३ मिटर वायरिङ तारसमेत बरामद भएको डिभिजन वनले निकालेको विज्ञप्तीमा उल्लेख छ । ‘उक्त बरामद सामग्री तथा घटनास्थलको अवस्थालाई आधार मान्दा गैंडाको मृत्यु करेन्ट लगाएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

वन कार्यालयको अनुमानमा खागका लागि भन्दा पनि बाली जोगाउन या अन्य केही कारणले थापेको धरापमा गैंडा परेको हुन सक्छ । विजुलीको झट्काले गैंडा मर्ने क्रम पछिल्ला वर्ष लगातार भएका छन् । खागका लागि तस्करहरुले विद्युतीय धराप थापेर गैंडा मार्ने र किसानले पनि खेतीबाली जोगाउन करेन्ट छाड्ने गर्दा दुर्लभ गैंडा मर्ने क्रम बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको फ्रतिवेदन अनुसार आर्थिक वर्ष ०७२/७३ देखि ०७९/८० सम्म आठ वर्षमा मरेका २०४ गैंडामध्ये ७ वटा करेन्टका कारण थिए । करेन्ट लागेर गैंडा मर्ने क्रम रोकिएको छैन । शुक्रबार गैंडा मृत भेटिएको ठाउँ निकुञ्जको जंगल र मध्यवर्ती क्षेत्र आसपासमै पर्ने भएका कारण गैंडा ओहरदोहर गरिरहने सूचना अधिकारी अधिकारीले बताए । ‘अनुसन्धान अधिकृत तोकेर काम भइरहेको छ । अहिल्यै यसै भन्न सकिन्न । खागकै लागि पनि हुन सक्छ । मकै जोगाउन छेकबार लगाएर करेन्ट छाडेको अथवा बँदेल जस्ता जनावर मार्न पनि यसो गरेको हुन सक्छ,’ उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गत साउन २१ मा बाली जोगाउन गरेको विद्युतीय छेकबारमा परेर गैंडा मरेको थियो । चितवन माडी नगरपालिका–२ भैरबपुरका किसान हरिभक्त श्रेष्ठको धानखेतमा करेन्ट लागेर गैंडा मरेको फेला परेको थियो । श्रेष्ठले धानबाली जोगाउन खेतमा तार घेरेर करेन्ट छाडेका थिए । सोही करेन्टले गैंडा मरेपछि उनी पक्राउ परे ।

त्यसको एक वर्षअघि २०८१ साउन ८ मा भरतपुर महहानगरपालिका–२६ भगडीमा विद्युतीय छेकबारमा परेर मकैबारीमा गैंडा मृत फेला परेको थियो । त्योबेला बँदेल मार्न थापेको पासोमा गैंडा परेको निकुञ्जको आशंका थियो । आर्थिक वर्ष ०७९/८० पछि पनि गैंडा विद्युतीय पासोमा हरेक वर्ष जस्तो पर्दै आएका छन् । ‘हामीले स्थानीयलाई विभिन्न तरिकाले सचेत र सजग गराउँदै आएका छौं । यसरी आफुखुसी तारबारमा करेन्ट छाड्दा जनावरहरु मर्ने र मरेपछि कानुनी कारवाही नै हुन्छ भनेर बुझाएका छौं । घटना नरोकिएपछि हामीले यो अभियानलाई स्थानीय मध्यवर्ती उपभोक्ता समितिमार्फत तीब्र बनाउने छौं,’ निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत अविनाश थापा मगरले भने ।

यसरी विद्युतीय छेकबार लगाउँदा जनावर मात्रै हैन मानिस नै परेर मृत्यु पनि भएको छ । गत वर्ष माडीमा गैंडा मृत भेटिएका दिन मकवानपुर मनहरी जोगीतालको धानबारीमा लालबहादुर मोक्तान पनि मृत भेटिए । गैंडालाई छेक्न लगाएको विद्युतीय तारबारमा परेर उनको ज्यान गएको थियो ।

मध्यवर्ती क्षेत्रमा बालीनाली जोगाउन नियन्त्रित विद्युत पठाएर सामान्य झट्का दिने तारबार लगाउने विधि प्रयोगमा छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्वस्थापन समितिका अध्यक्ष शिवजी गायकका अनुसार जंगली जनावरलाई झट्का दिएर तर्साउन र भगाउन लगाइने विद्युतीय तारबार सौर्य उर्जाबाट सञ्चालित हुन्छ । यसमा लगातार विद्युत प्रवाह हुँदैन । एक/दुई सेकेन्डको अन्तरालमा तारमा विद्युत प्रवाह हुने सिस्टम जडान भएको हुन्छ । जनवरले तार र जमिन छोएमा झट्का लाग्छ । अरू केही हानी हुँदैन । झट्कापछि जनावर तर्सेर भाग्छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा यस्तो तारबार प्रचलित छ । तर सबै ठाउँमा तारबार या अन्य कुनै भरपर्दो छेकबार छैन । त्यहाँ यस्तो ज्यानै लिने बिजुलीको धराप अपनाउने गरिएको छ । आफ्नै हिसाबले अनियन्त्रित विजुली प्रवाह गरेर लगाएको छेकबारका कारण मानिस र दुर्लभ वन्यजन्तु दुवैको ज्यान लिएको छ । यही विधि तस्करहरुले गैंडाको नाकमाथि हुने सिङ जस्तो वस्तु खागका लागि गैंडा मार्न पनि प्रयोग गरिरहेका छन् ।

२०७९ माघ ६ मा नवलपरासीको अमलटारी सेक्टर अन्तर्गत भुताहा पोष्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा करेन्ट लागेर मरेको गैंडाको खाग फेला नपरेकाले तस्करले नै मारेको पुष्टि भएको थियो । गैंडाको पोष्टमार्टममा पनि करेन्ट लागेर मरेको प्रष्ट भएको निकुञ्जका तत्कालीन सूचना अधिकारी गणेश तिवारीले बताएका थिए ।

जंगली जनावरले मध्यवर्ती क्षेत्रमा बालीनाली नोक्सानी गरे निकुञ्जले राहत दिने प्रावधान छ । बालीनालीको क्षतिमा पाइने रकम बढाएर प्रक्रिया सरल बनाए बाली जोगाउनकै लागि बिजुलीको धराप राख्ने जोखिम नलिने स्थानीय किसानले बताउने गरेका छन् । ‘वन र वन्यजन्तुको संरक्षणका लागि मध्यवर्तीमार्फत स्थानीयलाई यही कुरा बुझाइरहेका छौं । जनावरले गर्ने नोक्सानीको राहत क्षतिपुर्तीको व्यवस्था छ । त्यसैले क्षति रोक्न आफु र जनावरलाई पनि जोखिम हुने कुनै काम नगर्न अनुरोध गर्दछौं,’ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष गायकले भने ।

गैंडा विश्वकै दुर्लभ वन्यजन्तु हो । एक सिंगे गैडा भारतपछि नेपालमा धेरै पाइन्छन् । नेपालमा चितवनमा धेरै गैंडा छन् । पाँच वर्षअघि भएको गणना अनुसार देशभर ७५२ गैंडा रहेकोमा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा मात्रै ६९४ वटा थिए । गैंडा मारेमा, यसको अंगको कारोबार या ओसारपसार गरेमा ५ देखि १५ वर्षसम्म कैद वा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । खेतबारीमा मृत भेटिने गैंडामा पनि अनुसन्धान र सजाय समेत भएका घटना छन् ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully