कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सोमबार सर्वोच्च प्रशासनलाई रोकिएका रिट निवेदनहरू दर्ता गर्न लिखित आदेश दिएकी छिन् ।
नेपाल बार एशोसिएशनले आकस्मिक कार्यसमिति र सल्लाहकार परिषद्को बैठक बोलाएको छ । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेट गरी फर्किएपछि बारले आधिकारिक धारणा बनाउन उपत्यका बारका पदाधिकारीसहित नेपाल बारका पदाधिकारीको बैठक बोलाएको हो । बैठक जारी छ ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनी मान्यता र अभ्यास विपरीत रिट निवेदन दर्ता गर्न आदेश दिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।
बैठकमा रास्वपाका सांसदहरु समीक्षा बास्कोटा र यज्ञमणि न्यौपानेले भावी प्रधानन्यायाधीश सिफारिस प्रक्रियाअन्तर्गत संवैधानिक परिषद्बाट भएको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश जारी हुनुलाई राम्रो मान्न नसकिने धारणा व्यक्त गरे । उनीहरूले स्वतन्त्र न्यायपालिकाले आफ्नो काम गरोस् भन्नेमा स्पष्ट भए पनि न्याय प्रशासनभन्दा बाहिर गएर हुने कामकारबाहीप्रति असहमति व्यक्त गरे । तत्पश्चात् एमालेका सांसदहरुले नियमापत्ति गर्दै न्यायिक कार्यका सम्बन्धमा संसद्मा छलफल नगर्ने नियमावलीको व्यवस्था विपरीत अभिव्यक्ति आएकामा आपत्ति जनाए ।
-रासस
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधान्यायाधीश सिफारिसमा वरिष्ठता मिचेको दाबी गरिएको रिटको दरपिठविरुद्धको निवेदन दर्ता १ बजेभित्र गर्न आदेश दिएकी थिइन् । दर्ताको समय सकियो मुख्य रजिस्ट्रार र रजिष्ट्रारहरू सम्पर्कबाहिर रहेका छन् ।
रिट निवेदन दर्ताबारे बुझ्न काठमाडौं उपत्यका बार र नेपाल बारको टोली कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेट्न पुगेको छ । नेपाल बार एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता विजय मिश्र भन्छन् : दुईवटा अदालत देखियो । यो विवादलाई निष्कर्षमा पुर्याउनुपर्छ । उनले प्रश्न सोधेका छन्, 'कामु प्रधान्यायाधीशको आदेश पालना हुँदैन भने सरकार र अन्य निकायले अदालतको आदेश कसरी पालना गर्ने भन्ने प्रश्न उठ्यो ?'
रिट निवेदक प्रेम सिलवालले बिहानै कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई भेटेर इजलासमा पेस हुने निवेदनसमेत नभएको भनी उजुरी दिएका थिए । उक्त उजुरीपछि कामु प्रधान्यायाधीशले एक बजेभित्र दर्ता गर्न आदेश गरेको र अहिले आफूहरू दर्ताका लागि पुगेको सिलवालले बताए ।

