प्रहरी क्लबका मूर्ति पुरातत्व विभागलाई हस्तान्तरण गर्ने तयारी

सम्पदा संरक्षणकर्मीहरूको दबाबपछि भृकुटीमण्डपस्थित पुलिस क्लबमा रहेका भगवानका पुराना मूर्तिहरू सोमबार राष्ट्रिय संग्रहालयमा हस्तान्तरण गरिँदैछ।

जेष्ठ ३, २०८३

गौरव पोखरेल

Preparations to hand over Police Club statues to the Department of Archaeology

काठमाडौँ — भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएका १९ वटा भगवानका मूर्ति पुरातत्व विभागलाई फिर्ता गरिने भएको छ ।  

सोमबार) संग्रहालय दिवसको अवसर पारेर आयोजना हुने औपचारिक कार्यक्रमका बीच मूर्ति हस्तान्तरण हुन लागेको विभागका प्रवक्ता सन्दीप खनालले बताए । ‘बिहान साढे ९ बजे हुने कार्यक्रममा त्यो मूर्ति राष्ट्रिय संग्रहालय, छाउनीलाई हस्तान्तरण हुनेछ,’ उनले कान्तिपुरसँग भने ।

प्राचीन स्मारक संरक्षण ऐन अनुसार, पुरातात्विक महत्त्वका वस्तु जुनसुकै स्थानबाट प्राप्त भए पनि पुरातत्व विभागको संरक्षण र निगरानीमा रहनुपर्ने व्यवस्था छ । तर, प्रहरीको कल्याणमुखी इकाई पुलिस क्लबमा त्यसलाई लामो समयदेखि राखिएको भन्दै सम्पदा संरक्षणकर्मीले प्रश्न उठाउँदै आएका थिए ।

प्रहरीले ती मूर्ति कहाँबाट ल्यायो भन्नेसमेत स्पष्ट जानकारी दिएको थिएन ।  २९ साउन २०८२ मा पुरातत्व विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गर्दै मूर्तिबारे जानकारी मागेको थियो । पछि विभागका कर्मचारी स्थलगत निरीक्षणका लागि समेत गएका थिए ।

अध्ययनका क्रममा ती मूर्ति पुरातात्विक महत्त्वको भएको पाइएपछि संरक्षण गर्ने प्रक्रिया अघि बढाइएको विभागका अधिकारी बताउँछन् । 

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully