पुरातत्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले क्लब भवनमा राखिएको मूर्तिको विषयमा पुरातत्त्व विभागले तीन महिनादेखि अध्ययन गरिरहेको बताए।
What you should know
काठमाडौँ — भित्तामा लश्करै राखिएका २९ वटा सिसाका बक्सहरू। जसमध्ये २६ वटा बक्सभित्र भगवानका मूर्तिहरू राखिएका छन्। यो कुनै मन्दिर, सङ्ग्रहालय वा पुरातत्व विभागको वर्णन होइन। यो प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब हो।
प्रहरी संगठनभित्रको कल्याणमुखी इकाइ मानिने पुलिस क्लब प्रहरी कर्मचारी र उनीहरूको परिवारको मनोबल, एकता, खेलकुद तथा मनोरञ्जनसँग सम्बन्धित संरचना हो। तर, यहाँ राखिएका मूर्तिहरू कहाँबाट कहिले ल्याइयो र त्यसको उद्देश्य के हो भन्नेमा संरक्षणकर्मीहरूले प्रश्न उठाउँदै आएका छन्। जबकि प्राचीन स्मारक संरक्षण ऐन अनुसार, पुरातात्विक महत्वका वस्तु जुनसुकै स्थानबाट प्राप्त भए पनि पुरातत्त्व विभागको संरक्षण र निगरानीमा रहनुपर्ने व्यवस्था छ।
गत साउन २९ मा पुरातत्व विभागले नेपाल प्रहरीको प्रधान कार्यलयलाई यी मूर्तिहरूबारे चासो राख्दै पत्राचार गरेको थियो। अभियन्ताको उजुरीपछि पत्राचार गरेको विभागले उक्त पत्रमा भनेको छ, 'स्थलगत निरीक्षणका लागि विभागबाट खटिइ आउनुहुने पुरातत्व अधिकृतलाई आवश्यक सहयोग गरिदिनु।'
विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले क्लब भवनमा राखिएको मूर्तिको विषयमा पुरातत्त्व विभागले तीन महिनादेखि अध्ययन गरिरहेको बताए। उनले भने, 'मूर्तिहरू पुरातत्त्वको दृष्टिले महत्वका छन् वा छैनन् भन्ने हाम्रो अध्ययनको मुख्य विषय हो। यदि पुरातात्विक महत्व पुष्टि भएमा कानुनअनुसार प्रक्रिया अघि बढाइन्छ।'
यहाँ राखिएका मूर्तिबारे न त महेन्द्र पुलिस क्लबले न त प्रहरी प्रधान कार्यलयले नै स्पष्ट उत्तर दिन्छन्। यी मूर्तिहरू कहाँबाट आयो र किन राखिएको हो? यसबारे हामीले क्लब समेत हेर्ने जिम्मेवारी पाएको प्रहरी कल्याण महाशाखाका एसएसपी संजयसिंह थापालाई सोध्यौं। उनले यस विषयमा आफूले उत्तर नदिने बताउँदै भने, 'यसबारे प्रहरी प्रधान कार्यलयमा नै सोध्नुहोला।'
हामीले यही प्रश्न प्रहरी प्रवक्तालाई पनि सोध्यौं। प्रवक्ता डीआईजी अभि नारायण काफ्लेले पुरानो प्रहरी क्लब भवनमा रहेका मूर्तिहरूलाई व्यवस्थित रूपमा सुरक्षित राखिएको दाबी सुनाए। उनले क्लबमा हुने सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा सौन्दर्यका लागि प्रहरीले २०४२ सालतिर मूर्तिहरू खरिद गरेर राखेको बताउँदै भने, 'निकै पुरानो विषय भएकाले त्यसको अभिलेख खोजी भइरहेको छ। खरिद मूल्य र विस्तृत विवरण भने तत्काल उपलब्ध छैन। हामी खोज्दै पनि छौं।'
यहाँ रहेका मूर्तिबारे सार्वजनिक रूपमा प्रश्न उठाइरहेका अभियन्ता याद्धवलाल कायस्थले यस्ता मूर्तिहरू मूल मन्दिर वा सम्बन्धित सम्पदा स्थलमा राख्नु राज्यको दायित्व भएको बताए। उनले भने, 'प्रहरीले यति धेरै मूर्ति कसरी ल्यायो? जफत गरिएको हो भने त्यसलाई मूल मन्दिर वा सम्पदास्थलमै फिर्ता गर्नु राज्यको जिम्मेवारी हुन्छ। प्रहरी भवनभित्र कैदीझैं राखेर संग्रह गर्नु संस्कृति र सभ्यताको अपमान हो।'
