नर्वेजियन आरोही क्रिस्टिन हरिलाले गरिन् नुप्त्सेको आरोहण

‘ट्रिपल क्राउन’ अभियानअन्तर्गत अब सगरमाथा र ल्होत्से चढ्ने

जेष्ठ ३, २०८३

सुरज कुँवर

Norwegian climber Kristin Harila climbs Nuptse

What you should know

काठमाडौँ — विश्वविख्यात नर्वेजियन आरोही क्रिस्टिन हरिलाले आइतबार बिहान नेपाली माउन्टेन गाइड मिङ्तेम्बा शेर्पा सँगको सहकार्यमा नुप्त्से हिमाल (७,८५५ मिटर) को सफल आरोहण गरेकी छन्।

सेभेन समिट ट्रेक्सका अनुसार उनले आफ्नो महत्त्वाकांक्षी ‘ट्रिपल क्राउन’ अभियानअन्तर्गत नुप्त्से हिमाल आरोहण गरेकी हुन्। 

यस अभियानअन्तर्गत एउटै निरन्तर प्रयासमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्ने लक्ष्य राखिएको छ। नुप्त्सेको सफल आरोहणसँगै टोली अब आगामी केही दिनमा बाँकी दुई विशाल हिमालतर्फ अघि बढ्नेछ।

उच्च हिमाली पर्वतारोहणमा ‘ट्रिपल क्राउन’ अभियानलाई सबैभन्दा दुर्लभ र चुनौतीपूर्ण उपलब्धिमध्ये एक मानिन्छ। उक्त ऐतिहासिक अभियानको व्यवस्थापन तथा आयोजना नेपाली एजेन्सी  सेभेन समिट ट्रेक्स ले गरिरहेको छ।

क्रिस्टिन हरिलाको आधिकारिक वेबसाइटअनुसार, सन् १९८६ मार्च २८ मा नर्वेको वाडसोमा जन्मिएकी क्रिस्टिन हरिला त्यहाँको आदिवासी ‘सामी’ समुदायसँग सम्बन्धित हुन्।

पर्वतारोहणमा लाग्नुअघि उनी व्यावसायिक क्रस–कन्ट्री स्की खेलाडी तथा एक प्रतिष्ठित कम्पनीमा व्यवस्थापकका रूपमा कार्यरत थिइन्। 

सन् २०१९ मा कर्पोरेट जागिर छोडेर उनले पूर्ण रूपमा पर्वतारोहण र साहसिक अभियानमा आफूलाई समर्पित गरेकी थिइन्। त्यसयता उनले पर्वतारोहण इतिहासमा एकपछि अर्को गर्दै थुप्रै विश्व कीर्तिमान कायम गरेकी छन्।

क्रिस्टिन र मिङ्तेम्बा शेर्पा दुवै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरिसकेका सीमित तथा उत्कृष्ट आरोहीहरूमध्ये पर्छन्।

क्रिस्टिनले सन् २०२३ मा आफ्ना आरोहण साझेदार तेन्जेन (लामा) शेर्पासँग मिलेर विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ९२ दिनमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेकी थिइन्। यसअघि उक्त कीर्तिमान निर्मल पुर्जा को नाममा थियो। २०१९ मा नेपाली आरोही निर्मल पुर्जाले ६ महिनामै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व रेकर्ड बनाएका थिए ।

उनी सगरमाथा र ल्होत्से हिमाल ८ घण्टाभन्दा कम समयमा आरोहण गर्ने विश्वकै सबैभन्दा तीव्र गतिकी महिला आरोही पनि हुन्। 

साथै सगरमाथासहित विश्वका पाँच सबैभन्दा अग्ला हिमाल केवल ६९ दिनमा आरोहण गर्ने सबैभन्दा द्रुत आरोहीको कीर्तिमान पनि उनको नाममा रहेको छ। 

सन् २०२३ मा शिशापाङ्‍मा हिमालमा आएको हिमपहिरोमा परी उनका प्रिय आरोहण साझेदार तेन्जेन लामा शेर्पाको निधन भएको थियो। उनको सम्झनामा क्रिस्टिनले ‘लामा शेर्पा फाउन्डेसन’ स्थापना गरेकी छन्।

उक्त फाउन्डेसनले हिमाली क्षेत्रका कामदार तथा आरोहण सहयोगी स्टाफहरूको हित र सहयोगका लागि काम गर्दै आएको छ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully