संसद्‌ परिसरमा ‘भ्युज’ को दौड : सांसद र मन्त्रीलाई घेरीघेरी प्रश्न

भ्युजको होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरहरूको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्न थालेका छन् ।

जेष्ठ ३, २०८३

दया दुदराज

'Views' race in Parliament premises: MPs and ministers are bombarded with questions

What you should know

काठमाडौँ — बिहीबार साँझ सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । जसमा एउटा समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई घेरेर हिँड्नै मुस्किल पारिरहेको देखिन्छ । 

पहिलो नजरमा मन्त्रीलाई ठम्याउनै गाह्रो पर्छ । ध्यान दिएर हेर्दा क्यामेरा, माइक, बुम र मोबाइल फोन बोकेका नौ जना व्यक्तिहरू त्यहाँ देखिन्छन् । वाग्ले छिटोछिटो पाइला चाल्दै भीडबाट निस्कन संघर्ष गरिरहेका हुन्छन्, तर उनलाई प्रश्न सोध्छन्, ‘प्रधानमन्त्रीलाई सबैले खोजिरहेका छन् । तपाईंको भनाइ के छ ?’ 

वाग्लेले जवाफ दिन्छन्, ‘प्रतिनिधिसभाको कामकारबाही यसकै नियमावलीअनुसार चल्छ । हामी त्यही प्रक्रिया पछ्याइरहेका छौं ।’ त्यसपछि उनी संसद् गेटबाट भित्र पस्छन् । उनीहरू हतारहतार दौडिँदै फर्कन्छन् । 

यो समूह नियमित रूपमा सिंहदरबारस्थित संघीय संसद् भवन परिसर पुग्छ, त्यहाँका गतिविधि रेकर्ड गर्छ र युट्युब तथा फेसबुकजस्ता प्लाटफर्ममा भिडियो अपलोड गर्छन् । 

त्यही दिन साँझ एउटा फेसबुक पेजबाट २ मिनेट ३८ सेकेन्डको अर्को भिडियो पोस्ट हुन्छ । जसमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई माइक र बुमको घेरामा परेको देखिन्छन् । 

भीडबाट एक जनाले सोध्छन्, ‘अहिले के भइरहेको छ, भनिदिनुहोस् ?’ राई जवाफ दिन्छन्, ‘छलफल ।ती व्यक्ति अर्को प्रश्न दोहोर्‍याउँछन्, ‘छलफल... यता हेर्नुस् यता , क्यामेरातिर ।राई एकपटक क्यामेरातिर र फेरि ती व्यक्तिलाई हेर्दै जवाफ फर्काउँछन्, ‘नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।’ 

यसैबीच, अर्का एक व्यक्तिले राईको कुमको पछाडिबाट माइक अगाडि ल्याउँछन् । असहज महसुस गरिरहेका राई त्यही व्यक्तितर्फ हेर्छन् । फेरि अर्का व्यक्ति सोध्छन्, ‘प्रधानमन्त्री आउनुहुन्न रे हो ? हामीले त जानकारी पाइसकेका छौं ।अलमलमा परेका राई भन्छन्, ‘हो र ? आउनुपर्ने त हो ।चारैतिरबाट प्रश्नहरू दोहोरिरहेको र राई अक्कबक्क भएको भिडियोमा स्पष्टै देखिन्छ । 

पछिल्लो समय यस्ता दृश्यहरू संसद् भवन परिसरमा सामान्य बन्न थालेका छन् ।

अध्यक्ष राईलाई सोधिएका प्रश्नहरू नै हेरौं, ‘यता हेर्नुस्’, ‘प्रधानमन्त्री आउने कि नआउने ?’,‘हिजो त निकै जोसिलो हुनुहुन्थ्यो, आज किन सेलाउनुभएको ?’ यस्ता प्रश्नहरूले उकुसमुकस देखिने राई मुस्किलले भीडबाट उम्किएर आफ्नो गाडीमा पस्छन् । गाडी चढ्दा पनि उनलाई यस्तै प्रश्न तेर्स्याइरहन्छन् । 

संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्याल यो प्रवृत्तिका कारण लामो समयदेखि संसदीय मामिला कभर गर्दै आएका मूलधारका पत्रकारहरूलाई अप्ठ्यारो स्थितिमा पुर्‍याएको बताउँछन् । 

पछिल्लो समय सम्पादकीय विवेकलाई बेवास्ता गर्ने कन्टेन्ट क्रिएटरहरूको प्रवेश ठूलो चुनौती बनेको छ । उनीहरू जे देख्छन्, त्यही तत्काल पोस्ट गरिदिन्छन्,’ सत्यालले कान्तिपुरसँग भने, ‘यसले वास्तविक पत्रकारहरूको अवमूल्यन गर्छ र भविष्यमा संसद् सचिवालयलाई सञ्चारमाध्यमको पहुँचमै रोक लगाउने अवस्थामा पुर्‍याउन सक्छ ।’ 

नेपालमा कन्टेन्ट क्रिएटरहरूको संख्या बढेको छ । सहज इन्टरनेट पहुँच र सस्तो प्रविधिले कन्टेन्ट उत्पादनलाई एउटा अर्थतन्त्रमै परिणत गरिदिएको छ । 

गत मे १३ (बुधबार) दिउँसो ३:२५ बजे सांसद इन्दिरा रानामगरलाई घेरेर प्रश्न गरियो । आफू शारीरिक रूपमा अस्वस्थ रहेको बताउँदा पनि भीडले उनलाई छाडेनन् ।ह्या भाइ ! म यहाँ बिरामी भएर हिँड्दै छु कि, उपनेतालाई भनिदिनु न । म यहाँ बिहानदेखि खानै नखाइकन हिँडिरहेको छु ।यति भन्दा पनि उनीहरूले रानामगरलाई छाडेनन् । 

सांसद श्रद्धा कुँवर र केपी खनाल पनि यसरी सोधिने प्रश्नहरूको सिकार बनेका छन् । गत वैशाख २६ र २७ गते भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण कार्यक्रममा उनीहरू सँगै बसेको भिडियो तथा तस्बिर भाइरल भयो । त्यही तस्बिरलाई लिएर संसद् बाहिर युट्युबरहरूले उनीहरूलाई अनावश्यक प्रश्नहरू सोधेका थिए । 

बिहीबार दिउँसो अर्को एउटा फेसबुक पेजमा पोस्ट गरिएको १ मिनेट २ सेकेन्डको भिडियोमा सांसद खनाललाई भीडले घेरेको देखिन्छ । उनी भन्छन्, ‘मेरो गाडी आयो, म जान्छु ।तर, एक जना बुम बोकेका व्यक्ति नजिकै पुगेर सोध्छन्, ‘तस्बिरको बारेमा छोटो प्रतिक्रिया दिन सक्नुहुन्छ ?’ उनी जवाफ दिन्छन्, ‘तस्बिर एडिट गरिएको हुन सक्छ,’ र हतारहतार आफ्नो गाडीको ढोका लगाउँछन् । 

त्यही दिन बेलुका ४:१८ बजे उनीहरूले श्रद्धालाई पनि सोध्छन्, ‘तपाईंको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ । त्यसबारे केही भन्नुहुन्छ कि ?’ उनी हतारिँदै भन्छिन्, ‘अहिले एउटा काम परिरहेको छ, अहिले कुरा गरौँला के प्लिज ।’

सांसद कुँवरले आफूमाथि तेर्सिने यस्ता प्रश्नहरूले दुर्व्यवहारको महसुस भएको बताइन् ।सदनमा के छलफल भयो, नीति तथा कार्यक्रम कस्तो छ वा बजेटमा तपाईंको धारणा के छ भनेर सोध्नुको सट्टा मिडियाहरू माइक तेर्स्याउँदैतपाईंको फोटो भाइरल छ, तपाईंलाई कस्तो लागिरहेको छ ?’ भनेर आउँछन् । कसैको छातीमै माइक जोत्नु कति सान्दर्भिक हो ?’ उनले कान्तिपुरसँग भनिन्, ‘कसैको व्यक्तिगत जीवनमा प्रवेश गरेर भ्युज र भाइरलको पछि कुद्नु परिवार र समाज दुवैका लागि हानिकारक छ ।’ 

यसअघि, व्यक्तिगत रूपमा लक्षित प्रश्नहरू सोधिएपछि सांसद क्रान्तिशिखा धितालले गत अप्रिल ११ मा फेसबुकमा आफ्नो आक्रोश पोखेकी थिइन् ।युवा महिला सांसदहरूसँग तपाईं सुन्दर देखिनुहुन्छ, एकदमै राम्रो पहिरनमा आउनुभएको छ भन्ने टिप्पणीबाट कुराकानी सुरु गर्ने प्रवृत्ति मैले देखेकी छु । यो सुन्दा व्यक्तिगत जस्तो लागे पनि संरचनागत रूपमा यसले महिलालाई मुख्य विषयवस्तुबाट टाढा राख्छ र उनीहरूलाई आवरणमा मात्र सीमित गरिदिन्छ,’ उनले लेखेकी छन्, ‘तपाईंले समातेको माइक विचारका लागि हो, सौन्दर्य मूल्यांकनका लागि होइन । त्यसका लागि अन्य प्लेटफर्महरू छन् । कसरी र कहाँ प्रश्न सोध्ने भन्ने कुरामा सचेत र जिम्मेवार बन्नुहोस् ।’ 

यो स्टाटस लेखेपछि यस्ता प्रश्नहरू धेरै कम भएको उनले कान्तिपुरलाई बताइन् ।अचेल त उनीहरू तपाईंलाई त प्रश्न सोध्न पनि हुन्न है भन्छन् । तर मैले प्रश्न नै सोध्न हुन्न भन्न खोजेको होइन,’ उनी भन्छिन्, ‘खाली विषयकेन्द्रित र मर्यादित प्रश्न सोधियोस् भन्ने मात्र मेरो माग हो ।’ 

रास्वपाकै अर्का सांसदले यसरी भीडबाट आउने व्यक्तिगत र अनावश्यक प्रश्नले सांसदहरूलाई मानसिक रूपमा तनाव दिएको बताए ।हामी राष्ट्रिय मुद्दाहरूमा बोल्न संसद् जान्छौं, तर बाटोमै कसैले रोक्छन् वा दुःख दिन्छन् कि भन्ने डर लाग्छ । हामीले नबोले पनि भीडले भ्युज पाउँछ, बोले पनि भ्युज पाउँछ,’ ती सांसदले भने । 

सत्यालका अनुसार सांसद र मन्त्रीहरूलाई घेरेर अनावश्यक प्रश्नहरूको वर्षा गर्ने यस्तो अभ्यासले महत्त्वपूर्ण संसदीय मुद्दाहरूलाई ओझेलमा पारेको छ ।सांसदहरू गाडीबाट ओर्लिंदै गरेको, हिँड्दै गरेको, कुरा गर्दै गरेको वा सामान्य छलफललाई सस्तो क्याप्सन राखेर कन्टेन्ट बनाउने प्रवृत्ति बढेको छ,’ उनी भन्छन्, ‘पहिले पत्रकारहरू नीति र मुद्दाहरूमा केन्द्रित हुन्थे; अहिले सामान्य र साना गतिविधि नै कन्टेन्ट बन्न थालेका छन् ।’ 

यो समस्यालाई स्वयं कतिपय सांसदहरूले नै मलजल गरिरहेका छन् । धेरैले मूलधारका सञ्चारमाध्यमको निगरानीबाट बच्न सामाजिक सञ्जाल र युट्युबरहरूलाई प्राथमिकता दिने गरेका छन् ।कतिपय सांसदले त कन्टेन्ट क्रिएटरहरूलाई आफ्नै गाडीमा राखेर संसद् भवनभित्र छिराउँछन् । केही राजनीतिक नेताहरू वस्तुगत आलोचनाबाट बच्न एकतर्फी सन्देश प्रवाहका लागि सामाजिक सञ्जाललाई रुचाउँछन्,’ सत्यालले भने । 

सांसद धिताल पनि कतिपय सांसदहरू सस्तो लोकप्रियता र कन्टेन्टमा रमाउने गरेको स्वीकार्छिन् ।कतिपय सांसदहरू भ्युज र अटेन्सनमा रमाइरहेको प्रस्टै देखिन्छ । गम्भीर बहसको सट्टा आफ्नो रूप वा पहिरनको प्रशंसा हुँदा उनीहरू मख्ख पर्छन् । पत्रकारलाई दोष दिए पनि यो संस्कृति नेतृत्व तहमै व्याप्त छ,’ उनले कान्तिपुरसँग भनिन् । 

सांसद धितालले यो विकृति सच्याउन पत्रकार र सांसद दुवैले जिम्मेवारीपूर्ण व्यवहार गर्नुपर्नेमा जोड दिइन् ।दुवै पक्ष सचेत हुनुपर्छ । प्रश्न सोध्नु पत्रकारको अधिकार हो, तर कुन प्रश्न सोध्ने, कहिले र कसरी सोध्ने भन्ने कुरामा उनीहरू सजग र जिम्मेवार हुनुपर्छ । भ्युज र टीआरपीको दौड तत्काल रोकिनुपर्छ ।’ 

लामो समय संसदीय मामिलामा रिपोर्टिङ गरेका पत्रकार तथा उपप्राध्यापक जगत नेपाल यसलाई मर्यादित पत्रकारिता मान्दैनन् । ‘संसद्‌मा अहिले स्थापित मिडियाभन्दा कन्टेन्ट क्रिएटर बढी छन् । उनीहरूले व्यक्तिगत तहका प्रश्नहरू सोधिदिने, घेर्ने, हरास (दुर्व्यवहार) गर्ने अनि एआई जेनेरेटेड कन्टेन्ट बनाउने गरेको देखिन्छ,’ उनले भने, ‘भाइरल भ्युजका लागि हैरानी गर्ने, डिमोरलाइज गर्ने सांसदको ह्युमिलेसन गर्नु राज्य र जनतालाई अपमान गर्नु हो । धेरै मान्छेहरू संसदीय प्रणालीलाई पढ्नेभन्दा हामी नयाँ बनाउने भन्छौं, उनीहरूलाई पहिला के थियो, कसरी आयो भन्ने पनि थाहा छैन ।’

डिजिटल कन्टेन्टका लागि रिपोर्टिङ गरिरहेको नयाँ पुस्ताले अग्रज पत्रकारहरूबाट सिक्नुपर्ने सांसद कुँवरको पनि सुझाव छ ।जसरी कक्षाकोठामा सिनियरले जुनियरलाई मार्गदर्शन गर्छन्, त्यसरी नै जिम्मेवार मिडिया हाउसहरूले नयाँ साथीहरूलाई उचित पत्रकारिताबारे सिकाउनुपर्छ,’ उनले भनिन् ।  

संसद् सचिवालयले सामाजिक सञ्जाल वा युट्युबका लागि मात्र काम गर्ने कन्टेन्ट क्रिएटरहरूलाई स्थायी पास दिनुको साटो अस्थायी वा छ महिने परीक्षण पास मात्र जारी गर्नुपर्ने सुझाव सत्याल दिन्छन् ।

प्रवेश अनुमति दिनुअघि सचिवालयले पत्रकारिताका सिद्धान्त, संसदीय आचरण र रिपोर्टिङका नियमहरूबारे अनिवार्य तालिम दिनुपर्छ,’ उनले भने, ‘बेलायतको संसद्मा जस्तै नेपालले पनि क्यामेरा र अन्तर्वार्ताका लागि छुट्टैप्रेस जोनतोक्नुपर्छ ताकि सांसदहरूलाई हिँड्दै गर्दा दुःख दिने वा अनावश्यक रूपमा बाटो छेक्ने काम नहोस् ।

सांसद र मन्त्रीलाई प्रश्न सोध्ने नाममा य्टुबरहरूले अपनाएको तरिकामा समस्या भएको मिडिया सन्चालक दानीसमेत स्वीकार्छन् । ‘प्रश्न सोध्ने तरिका एक पटक मात्र होइन, मैले धेरै पटक ठीक नभएको महसुस गरिसकेको छु । हो कहिलेकाहीं मिल्दैन, तर तरिका नमिले पनि प्रश्न सोध्न भने छाडिँदैन,’ उनी भन्छन् ।

दया दुदराज कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully