कर्णालीबाट पूर्व पुगेका ‘वनका राजा’ हेर्न घुइँचो

मोरङको मिक्लाजुङमा आयोजित ‘राउटे सांस्कृतिक मेला’ मा राउटे समुदायका १९ जना सहभागी छन्, उनीहरूबारे बुझ्न सर्वसाधारणको भीड लागेको छ ।

जेष्ठ ३, २०८३

पर्वत पोर्तेल

Crowds gather to see the 'king of the forest' who has arrived east from Karnali

What you should know

विराटनगर — मोरङको मिक्लाजुङ–३ नेसेलुङ पार्कमा यतिबेला चहलपहल बढेको छ । पहिलो पटक पूर्व आएका ‘वनका राजा’ भनिने फिरन्ते राउटे समुदायलाई प्रत्यक्ष हेर्न र संवाद गर्न सर्वसाधारणको बिहानैदेखि थामिनसक्नु भीड लागिरहेको छ । उनीहरू करिब एक हजार किलोमिटर यात्रा तय गरेर शनिबार उत्तरी मोरङको मिक्लाजुङ आइपुगेका हुन् ।

कर्णाली प्रदेशका जंगल आसपास घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायका १९ जना यतिबेला नेसेलुङ पार्कमा छन् । यही पार्क व्यवस्थापन समितिले ‘राउटे सांस्कृतिक मेला’ आयोजना गरी उनीहरूलाई निम्त्याएको हो । मेला स्थलमा उनीहरूका लागि खाना पकाउने, खाने र सुत्ने टहरा पनि बनाइएको छ । यो सांस्कृतिक मेलामा पूर्वी नेपालका धेरै स्थानीयवासीले यो फिरन्ते समुदायलाई नजिकबाटै नियाल्ने अवसर पनि पाएका छन् । ‘राउटेहरूलाई भिडियोमा देखेको थिएँ,’ दमकका हर्कबहादुर मादेनले सुनाए, ‘पहिलो पटक प्रत्यक्ष देख्न पाइयो ।’

उनीहरूलाई शनिबार भव्य स्वागत गरिएको थियो । अहिले मेलास्थलमा कोही आगन्तुक राउटेको परम्परागत पहिरन नियालिरहेका देखिन्छन् भने कोही उनीहरूले बनाएका काठका भाँडाकुँडा र घरेलु सामग्री खरिद गर्न व्यस्त देखिन्छन् । कतिपय आगन्तुक भने सेल्फी खिच्न र टिकटक बनाउन मस्त हुन्छन् । उनीहरूको जीवनशैलीबारे जिज्ञासा राख्दै संवाद गर्नेहरू पनि प्रशस्त देखिन्थे । ‘तपाईंहरू बाँदरको मासु पनि खानु हुन्छ रे, यहाँ केको मासु खानुभयो,’ एक आगन्तुकको जिज्ञासामा राउटे युवाले जवाफ फर्काए, ‘हामीले यहाँ खसीको मासु खायौं । खसीको मासु बाँदरको भन्दा मीठो ।’

Crowds gather to see the 'king of the forest' who has arrived east from Karnali

घुमन्ते समुदायका रूपमा चिनिने राउटेहरू स्थायी बसोबासभन्दा जंगल र प्रकृतिसँग नजिकको जीवन बिताउँदै आएका छन् । मौलिक भाषा, फरक संस्कृति र परम्परागत सीप उनीहरूका विशेषता हुन् । आधुनिक जीवनशैलीको प्रभाव बढ्दै जाँदा उनीहरूको मौलिक पहिचान संकटमा पर्दै गएको भन्दै सरकारले समेत संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यही सभ्यतालाई पूर्वेली समुदायमाझ चिनाउने उद्देश्यले नेसेलुङमा मेला आयोजना गरिएको आयोजकको भनाइ छ । नेसेलुङ पर्यटन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार मेला एक सातासम्म सञ्चालन हुनेछ । ‘राउटे समुदायलाई किताब र टेलिभिजनमा मात्र देखेका धेरैले यहाँ प्रत्यक्ष भेट्ने अवसर पाएका छन्,’ उनले भने, ‘यसले सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका छौं ।’

Crowds gather to see the 'king of the forest' who has arrived east from Karnali

मेलामा राउटे समुदायले निर्माण गर्ने काठका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् । उनीहरूको रहनसहन, खानपान, सीप र सांस्कृतिक अभ्यासबारे जानकारी दिने कार्यक्रम पनि समावेश गरिएको छ । नेसेलुङ फनपार्कका सञ्चालक अशोक चेम्जोङले यस्ता कार्यक्रमले नेपालका फरक–फरक समुदायबीच सांस्कृतिक आदानप्रदानको वातावरण सिर्जना गर्ने बताए । उनका अनुसार राउटे समुदायसँगै लिम्बू समुदायको मौलिक संस्कृति, स्थानीय परिकार र जीवनशैलीलाई एउटै थलोमा प्रस्तुत गर्दा आन्तरिक पर्यटनमा नयाँ आकर्षण थपिएको छ ।

पूर्वप्रदेश सांसद तथा पार्क निर्माणका पहलकर्ता कुशल साम्बाका अनुसार नेसेलुङ अहिले नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । ‘उल्टो घर, भ्युटावर, जातीय परिकार र सांस्कृतिक कार्यक्रमले यहाँ आउनेको संख्या बढिरहेको छ,’ उनले भने, ‘त्यसमाथि राउटे समुदायको प्रत्यक्ष सहभागिताले अझ ठूलो आकर्षण थपेको छ ।’ राउटेहरूलाई सासेक नेपाल नामक गैरसरकारी संस्थाको पहलमा पूर्व ल्याइएको हो । यो मेलालाई मनोरञ्जनको थलोभन्दा पनि नेपालको लोपोन्मुख मौलिक सभ्यतालाई बुझ्ने जीवित संग्रहालयका रूपमा लिएको उर्लाबारीका सामाजिक अगुवा घनश्याम भण्डारीले जनाए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully