प्रधानमन्त्री कार्यालयबाट भन्दै फोनमार्फत वडासचिवलाई धम्की दिने पक्राउ

जिल्ला प्रहरी कार्यालय काठमाडौंले २२ वर्षीय प्रकाश खड्कालाई शंखमुलबाट पक्राउ गरेको हो ।

जेष्ठ २, २०८३

कान्तिपुर संवाददाता

Arrest made for threatening ward secretary over phone, claiming to be from Prime Minister's Office

काठमाडौं — दैलेखको दल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिएको आरोपमा आफूलाई जेनजी अभियन्ता बताउने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काठमाडौंले २२ वर्षीय प्रकाश खड्कालाई शंखमुलबाट पक्राउ गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फोन गरेको भन्दै कर्मचारीलई धम्क्याउने, त्रास सिर्जना गर्ने किसिमले अमर्यादित शब्द प्रयोग गरेको आरोपमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । 

शनिबार बिहान वडासचिव भण्डारीलाई धम्क्याएको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । भिडियो भाइरल भएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति नै जारी गरेर अनुसन्धानका लागि निर्देशन दिइएको जनाएको थियो । 

खड्काले ‘एउटा सिफारिस’ पत्र बनाइदिन भन्दै सुरुमा आग्रह गरेका थिए । भण्डारीले प्रक्रिया अनुसार हुने बताएपछि उनले अपशब्द बोलेका थिए । प्रहरीले त्यसबारे बयान लिएर विस्तृतमा जाँच गर्ने बताएको छ । 

कान्तिपुर

Link copied successfully