२४ घण्टामा देशभरबाट लागूऔषधसहित २६ जना पक्राउ

नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौंलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

जेष्ठ २, २०८३

रासस

26 people arrested with drugs from across the country in 24 hours

What you should know

काठमाडौँ — देशका विभिन्न स्थानबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौंलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

त्यस क्रममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम छ सय ४० मिलिग्रामसहित सात जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बेसीगाउँ बस्ने २३ वर्षीय अनिल केसी, ४४ वर्षीय बसन्त तिमल्सिना, सोही नगरपालिका–८ बस्ने ३७ वर्षीय विक्रम ठकुरी, २५ वर्षीय प्रज्वल मैनाली, ३५ वर्षीय देवेन्द्र अर्याल, काठमाडौं चुनिखेल बस्ने सोलुखुम्बु घर भएका ५० वर्षीय प्रशान्त राई र काठमाडौं गौशाला पिंगलास्थान बस्ने दोलखा घर भएका ४७ वर्षीय पेम्बा तामाङ रहेका छन् ।

यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–८ कुशल चोकबाट लागूऔषध ट्रामाडोल दुई हजार २१० ट्याब्लेट र स्पास्पेन दुई हजार ३२० ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय सुशन राईलाई गएराति पक्राउ गरिएको छ । 

यसैगरी रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीबाट लागऔषध स्पास्मो चार सय ८० ट्याब्लेटसहित सोही नगरपालिका–११ मसिना बस्ने ३३ वर्षीय बर्कत अली, झापाबमे कनकाई नगरपालिका–५ चाप्रमारीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ९७० मिलिग्राम कमल गाउँपालिका–५ बस्ने २६ वर्षीय काले भन्ने जीतबहादुर लिम्बू र दमक नगरपालिका–६ बस्ने २० वर्षीय प्रदीप रसाइलीलाई शुक्रबार नै पक्राउ गरिएको छ ।

यस्तै, कैलालीको गोदावरी नगरपालिका–२ स्थित आरबी होटलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित होटलका सञ्चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का ३६ वर्षीय तिलकबहादुर वलीसहित चार जना, जिल्लाकै टीकापुर नगरपालिका–९ खक्रौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम १ सय ६० मिलिग्रामसहित दुई जना, सोही स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ तीन ग्राम ६६० मिलिग्रामसहित तीन जना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक सय ८० मिलिग्रामसहित तीन जनालाई पक्राउ गरिएको जनाइएको छ । 

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–४ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन सय ५० मिलिग्रामसहित एक जना, धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मादेन डेरा गरी बस्ने ४० वर्षीया बिष्णु याखालाई करिब ९२ किलो लागूऔषध गाँजासहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट २१ किलो ३१० ग्राम लागूऔषध गाँजासहित पर्सा बिन्दबासिनी गाउँपालिका–४ मधुवन बस्ने ६० वर्षीय लक्चन हजरालाई आज बिहान बिहान प्रहरीले पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

रासस

Link copied successfully