बर्दियामा पासोमा परेर मर्‍यो बाघ, घटनाको अनुसन्धान हुँदै 

मधुवन नगरपालिका-१ सोमलपुर र भलनी भटुवा सामुदायिक वनमा वयस्क बाघ पासोमा परेर मरेको हो ।

जेष्ठ १, २०८३

कमल पन्थी

Tiger dies after falling into a trap in Bardiya, incident under investigation

बर्दिया — खाता जैविक मार्गमा बिहीबार बिहान एउटा बाघ मृत अवस्थामा भेटिएको छ । मधुवन नगरपालिका-१ सोमलपुर र भलनी भटुवा सामुदायिक वनमा वयस्क बाघ पासोमा परेर मरेको हो । 

डिभिजन वन कार्यालय,बर्दियाका जिल्ला वन अधिकृत विजयराज सुवदीले फलामको तारबाट बनाइएको डोरी पासोमा परेर बाघको मृत्यु भएको अनुसन्धानमा देखिएको बताए । बँदेल,चित्तललगायत वन्यजन्तु पासोमा पारेर मार्ने उद्देश्यले चोरी सिकारीले धराप बनाएका थिए । बाघको घाँटीमा पासोको जाली अड्किएको हो । 

सुवेदीले बाघ मारिएको घटनालाई लिएर छिटै वरिष्ठ वन अधिकृतको संयोजकत्वमा अनुसन्धान टोली गठन गरिने बताए । ‘यो निकै गम्भीर घटना हो,’ उनले भने, ‘दोषी उम्किन पाउँदैनन । बाघको सबै अंग सुरक्षित रहेका छन् ।’

बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको टोलीले बाघको पोस्टमार्टम गरेका छन् । पोस्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने डिभिजन वन कार्यालयले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले चोरी सिकारीले वन्यजन्तुलाई पासो थापेर मार्ने उद्देश्यले राखेको अनुसन्धानमा देखिएको बताए । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully