नियमापत्ति, फौजदारी, अध्यादेशलगायतलाई बुझाउने संकेत नै छैनन्, कतिपय शब्दका संकेत लामो भएकाले छोटो समयमा बुझाउन समस्या हुन्छ, विरोध र नाराबाजी हुँदा कसले बोलेको कुरा बुझाउने/संकेत गर्ने भन्नेमा अन्योल हुन्छ।
What you should know
काठमाडौँ — सिन्धुलीका घनबहादुर थापा नवज्योति बहिरा माविका शिक्षक हुन् । उनी कान सुन्दैनन्, तर अरूले जस्तै मोबाइल र टेलिभिजन हेर्न सक्छन् । पत्रपत्रिका पढ्न सक्छन्, समसामयिक विषयमा अपडेट भइरहन्छन् । राजनीतिदेखि नीति निर्माणसम्ममा चासो राख्ने उनलाई आफूले चुनावमा भोट हालेको व्यक्तिले के बोल्छन्, के गर्छन् भन्ने चासो भने सधैं हुन्छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकको प्रत्यक्ष प्रसारण सांकेतिक भाषामा पनि सुरु भएसँगै उनको राजनीतिक चासोको प्यास मेटिन थालेको छ । ‘देशको नीति निर्माण गर्ने संसद् बैठकमा के भइरहेछ भन्ने हामी जस्ता सुन्न नसक्नेले पनि बुझ्ने अवसर पाएका छौं,’ उनले भने ।
२०६४ मा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधित्व गरेका राघववीर जोशीका लागि संसद्मा दोभाषेको व्यवस्था गरिएको थियो । संसद् बैठकलाई सांकेतिक भाषामा प्रत्यक्ष प्रसारण भने २८ वैशाखदेखि सुरु भएको हो । सांकेतिक भाषामा बैठकबारे बुझाउनु दोभाषेका लागि भने चुनौतीपूर्ण छ । संसद् बैठक समान रूपमा अगााडि बढ्दैन । कहिले नाराबाजी हुन्छ त कहिले होहल्ला र बैठक स्थगित ।
गत बुधबार प्रतिनिधिसभा बैठकमा यस्तै दृश्य थियो । सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी दलहरूले विरोध गरिरहे । संसद्मा प्रधानमन्त्रीको खोजी गर्दै कोही सांसद बाहिरिए, कोही विरोधमा उत्रिए । प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषामा दोभाषेको काम गरिरहेका दिनेश श्रेष्ठका लागि त्यो समय सामान्य रहेन । कसको कुरालाई के संकेत गर्ने, कसरी गर्ने अलमलमा परे उनी ।
‘एकै पटक धेरैको आवाज सुनिन्छ, विरोध गर्दैगर्दा कसको कुरा संकेत गर्ने, के गर्ने अलमल हुन्छ । कतिपय शब्दहरूको त संकेत नै हुँदैन ।’ संसद्मा बोलिने नियमापत्ति, फौजदारी, अध्यादेश जस्ता शब्दहरू बुझाउने संकेत नभएको उनले बताए ।’
विगत १५ वर्षदेखि दोभाषेको काम गर्दै आइरहेका श्रेष्ठले संसद् बैठकमा फरक अनुभव गरेका छन् । संसद्मा सांसदले बोल्ने समय सीमित हुन्छ त्यही सीमित समयमा बोलेका शब्दलाई उनले संकेतमा देखाउनु चुनौती हुन्छ । ‘चुनौतीसँगै सिक्ने अवसर पनि हुने रहेछ,’ उनले भने, ‘संसद्मा हुने बहस, कानुन निर्माण र राष्ट्रिय मुद्दालाई नजिकबाट बुझ्न पाइन्छ ।’
सन्तोषी घिमिरेले पनि प्रतिनिधिसभामा दोभाषेको काम गरिरहेकी छन् । कोशी बहिरा संघ, राष्ट्रिय बहिरा महासंघ र नेपाल टेलिभिजनमा दोभाषेको जिम्मेवारी सम्हाल्दै अहिले उनी संसद्सम्म आइपुगेकी छन् ।
‘आवाज मात्र होइन, बैठकमा भएको दृश्यलाई पनि बुझाउनुपर्ने हुन्छ, होहल्ला र विरोधको दृश्यलाई पनि सांकेतिक भाषामा बुझाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।
राष्ट्रिय सभा बैठक प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषामा बुझाइरहेका छन् प्रकाश महर्जनले । उनले सांकेतिक भाषामा काम गरेको १७ वर्ष भइसकेको छ । राष्ट्रिय बहिरा संघ, विभिन्न टेलिभिजन र संस्थामा काम गरेका उनको संसद् बैठकको लाइभको कार्य भने पहिलो अनुभव हो । संसद् बैठकमा दिमाग र हात दुवै चलिरहेको हुन्छ ।
लाइभ सुन्दै सांकेतिक भाषामा बुझाउँदै गर्दा प्राविधिक समस्या पनि उनले भोगिरहेका हुन्छन् । कहिले आवाज नसुनिने त कहिले क्यामरा अन्तै घुम्ने हुन्छ । त्यसले गर्दा सांसदहरूले बोलेको कुरा दुरुस्त उतार्न सहज नहुने उनको भनाइ छ ।
राष्ट्रिय सभामा नै सांकेतिक भाषाको संकेत गरिरहेकी समृद्धि श्रेष्ठको पनि अनुभव उस्तै छ । उनले पनि शब्दहरूको संकेतमा अठ्यारो परिरहेको बताएकी छन् । शब्द सँगसँगै केही प्राविधिक कठिनाइ पनि भोग्नुपरेको उनको अनुभव छ ।
राष्ट्रिय बहिरा महासंघका महासचिव सीताराम ओझा संसद्मा दोभाषेको व्यवस्था गरिनुलाई ऐतिहासिक उपलब्धि तथा समावेशी लोकतन्त्रतर्फको महत्त्वपूर्ण कदम भएको बताउँछन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी सम्बन्धित निकायले सांकेतिक भाषामा सुन्न पाउनुपर्छ भन्ने माग भएपछि समय सान्दर्भिक गर्न पहल गरिएको बताए । सुनाइसम्बन्धी अपांगता भएकी गण्डकी प्रदेशसभाकी सदस्य सुनीता थापा संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको प्रत्यक्ष बैठकमा सांकेतिक भाषाको प्रयोग सुरु हुनु अत्यन्त स्वागतयोग्य र ऐतिहासिक कदम भएको बताउँछिन् ।
‘म स्वयं बहिरा अपांगता भएको व्यक्ति र प्रदेशसभा सदस्यका रूपमा यसलाई निकै सकारात्मक रूपमा लिन्छु,’ उनले भनिन्, ‘संसद्मा हुने बहस, नीति र निर्णय सबै नागरिकले समान रूपमा बुझ्न पाउनु लोकतन्त्रको आधार हो ।’
नेपालको संविधान २०७२ ले बहिरा समुदायको सूचना तथा सञ्चारमा पहुँच सुनिश्चित हुनुपर्नेर् व्यवस्था गरेको छ । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ मा बहिरा समुदायको सूचना तथा सञ्चारमा पहुँच सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । २०७८ को जनगणनाअनुसार सुनाइसम्बन्धी अपांगता भएकाको जनसंख्या १ लाख २ हजार ८ सय ९३ छ ।
