नेपाल र थाइल्यान्डले मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा सहकार्य गर्ने

थाइल्यान्डलाई ट्रान्जिट बनाउँदै बढेको मानव बेचबिखन रोक्न नेपाल र थाइल्यान्डले संयुक्त गुप्तचर सूचना आदान–प्रदान, उद्धार र कानुनी कारबाहीमा सहकार्य गर्ने भएका छन्।

जेष्ठ १, २०८३

होम कार्की

Nepal and Thailand to cooperate in combating human trafficking and cybercrime

What you should know

काठमाडौँ — थाइल्यान्डलाई ट्रान्जिट बिन्दु बनाएर मानव बेचबिखन, अनलाइन स्क्यामिङ र साइबर अपराधका घटना बढ्न थालेपछि नेपाल र थाइल्यान्डले संयुक्त रूपमा नियन्त्रणकारी सहकार्य विस्तार गर्ने भएका छन् ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओली र शाही थाई प्रहरीको सीमा–सम्बन्धी साइबर अपराध तथा मानव बेचबिखनविरुद्धको विशेष कार्यदलका निर्देशक थाच्चाई पिटानीलाबुट बीच शुक्रबार बैंककमा भएको भेटवार्तामा मानव बेचबिखन, अनलाइन ठगी, तस्करी र साइबर अपराध नियन्त्रणमा सहकार्य सुदृढ गर्ने सहमति भएको हो ।

भेटमा पछिल्ला वर्षहरूमा मानव बेचबिखनमा संलग्न गिरोहहरूले पर्यटक भिसाको दुरुपयोग गर्दै थाइल्यान्डलाई ट्रान्जिट बिन्दुका रूपमा प्रयोग गरिरहेको विषयमा गम्भीर छलफल भएको दूतावासले जनाएको छ ।

प्रहरी जनरल थाच्चाईले नेपाली दूतावासबाट बेचबिखन सम्बन्धी सूचना प्राप्त हुनासाथ शाही थाई प्रहरीले तत्काल कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

राजदूत ओलीले थाइल्यान्ड तथा छिमेकी देशहरूमा बेचबिखनमा परेका नेपालीहरूको उद्धार र स्वदेश फिर्तीमा शाही थाई प्रहरीले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

दुवै पक्षले छिमेकी देशहरूमा सञ्चालन भइरहेका अनलाइन स्क्याम सेन्टरहरूमा विभिन्न देशका नागरिकलाई बेचबिखन गरेर पुर्‍याउने क्रम बढ्दो रहेको भन्दै त्यस्ता केन्द्रमा फसाइएका व्यक्तिको उद्धारका लागि अझ नजिकबाट सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

भेटवार्तामा साइबर अपराध, तस्करी तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि नेपाल र थाइल्यान्डका कानुन कार्यान्वयन निकायबीच गुप्तचर तथा सूचना आदान–प्रदानलाई संस्थागत बनाउने विषयमा पनि सहमति भएको छ ।

साथै दुवै देशका प्रहरी संस्थाबीच क्षमता अभिवृद्धिसम्बन्धी सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको नेपाली दूतावास, बैंककले जनाएको छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully