चामलमा विषादी फेला परेकाेबारे  उपभाेक्ता अदालतमा मुद्दा दायर हुने 

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमल्सिनाले पेस गरेको रिट दर्ता हुने भएको छ ।

वैशाख ३१, २०८३

दुर्गा दुलाल

Case to be filed in consumer court over pesticide found in rice

What you should know

काठमाडौँ — काठमाडौं उपत्यकामा खपत हुने चामलमा विभिन्न ११ थरी विषादीका अवशेष रहेको  पाएपछि यो विषयमा अब उपभोक्ता अदालतले सुनुवाइ गर्ने भएको छ । उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमल्सिनाले पेस गरेको रिट दर्ता हुने भएको छ । यसअघि दरपिठ भएको उक्त निवेदन बिहीबार इजलासले दर्ता गर्न आदेश दिएसँगै अब उपभोक्ताको हितको विषयमा सुनुवाइ हुने छ । 

उपभोक्ता अदालत गठन भएपछिका एक वर्षमा उपभोक्ताले आफूलाई हानिनोक्सानी परेको विषयमा व्यक्तिगत रूपमा मुद्दा मामिला गरेका थिए । तर उपभोक्ताहरूलाई सामूहिक रूपमा नै हानि भएको दाबीसहित उपभोक्ता अदालतमा मुद्दा परेको यो पहिलो मुद्दा हुने छ । 

सेवा प्रदायकको गल्ती र त्यसमा नियामक निकायको कमजोर नियमनले चामल उपभोक्ता गर्ने समग्र उपभोक्ताको स्वास्थ्यमा असर परेको भन्दै निवेदनमा सामूहिक दुष्कृति(मास टर्ट)को सिद्धान्तअनुसार कारबाहीको माग  रिटमा गरिएको छ ।

मुद्दामा नेपालमा चामल आयात गर्दा विषादी परीक्षण गरेको भए कागजात पेश गर्न लगाउन आदेशको माग गरिएको छ । स्थानीय तहहरूले खाद्यान्न निरीक्षण अधिकृतको व्यवस्था गर्नुपर्नेमा त्यसो नगरेको भन्दै काठमाडौं उपत्यकाका स्थानीय तहलाई चामलमा विषादी प्रयोगका बारेमा नमुना संकलन र जाँच गरी निरीक्षण प्रतिवेदन पेस गर्न लगाउन आदेश मागे गरिएको छ । 

अनुसन्धानका क्रममा परीक्षण गरिएका नमुनामा ढुसीनाशक, किटनाशक, मुसा मार्नेलगायत कतिपय प्रतिबन्धित विषादीको समेत अवशेष फेला परेको  थियो ।

भक्तपुर र ललितपुरमा बिक्री–वितरण हुने चामलभन्दा काठमाडौंका पसलका चामलमा बढी विषादी पाइएको छ । गैरबासमतीको तुलनामा बासमती चामलमा विषादीको मात्रा दोब्बर देखिएको  थियो । 

काठमाडौंस्थित ‘प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल’ र भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ ले ‘नेपालको धानमा विषादीको प्रयोग र किसानको सुरक्षा व्यवहार : योजनाबद्ध व्यवहारको सिद्धान्त र सम्भावित स्वास्थ्य जोखिम’ शीर्षकको प्रतिवेदन हालै सार्वजनिक गरेको थियो । 

उक्त प्रतिवेदनले काठमाडौंका तीन जिल्लामा खपत भइरहेको चामलमा विषादीको घनत्व प्रतिकेजी ५.०९ माइक्रो ग्रामदेखि ३१२.५४ माइक्रो ग्रामसम्म पाइएको औंल्याएको हो । यो प्रतिवेदन ‘स्प्रिन्जर नेचर’को प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक जर्नल ‘वातावरण, विकास र दिगोपन’ मा प्रकाशित छ ।

अध्ययनका लागि संकलित नमुनामध्ये ८३ प्रतिशत चामल विषादीयुक्त रहेको प्रतिवदेनमा भनिएको छ । त्यसमा ८० प्रतिशत नमुनामा दुई वा सोभन्दा बढी प्रकारका विषादीका अवशेष भेटिएको उल्लेख गरिएको छ । चामलमा भेटिएका ११ थरी विषादीमध्ये ट्राइसाइक्लाजोल, थाइमिथक्जाम र टेबुकोनाजोलको मात्रा युरोपेली युनियनले तोकेको अधिकतम अवशेष सीमाभन्दा निकै  बढी पाइएको थियो । 

अध्ययनले गैरबासमती चामलको तुलनामा बासमती चामलमा दोब्बर बढी विषादी रहेको देखाएको छ । बासमती चामल महँगोमा बिक्ने र यसमा किराहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले किसानले बढी मात्रामा विषादी प्रयोग गरिरहेका पाइएको थियो ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully