धरानका २० वटै वडामा करिब १७ हजार ३७५ सुकुमवासी परिवार बसोबास गर्दै आएका छन् ।
धरान — धरान उपमहानगरपालिकाभित्रका सुकुमवासी बस्ती हटाउने निर्णयको विरोधमा बस्तीवासीले बुधबार साँझ राँके जुलुस निकालेका छन् ।
बस्ती रक्षा आन्दोलन परिचालन समितिको आयोजनामा निस्केको जुलुसमा सहभागीहरूले विस्थापित परिवारलाई क्षतिपूर्ति, पुनर्वास तथा वैकल्पिक व्यवस्थाविना उठिबास नलगाउन माग गरेका छन् । धरानको छाता चोकस्थति पुरानो अस्पताल परिसरबाट सुरु भएको जुलुस महेन्द्रपथहुँदै भानुचोक पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा अखिल नेपाल सुकुमवासी संघ, बस्ती रक्षा आन्दोलन परिचालन समिति, सुकुमवासी संघर्ष संरक्षण समिति तथा स्थानीयवासीको सहभागिता थियो ।
प्रदर्शनका क्रममा सहभागीहरूले डोजर आतंक बन्द गर, सुकुमवासी एक हौँ जस्ता नारा लगाएका थिए ।
अखिल नेपाल सुकुमवासी संघ कोशी प्रदेश अध्यक्ष सुदर्शन श्रेष्ठले सरकारको कदमका कारण सुकुमवासी समुदाय आन्दोलनमा उत्रिन बाध्य भएको बताए । उनले डोजर अभियानविरुद्ध देशव्यापी आन्दोलन भइरहेको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनमाथि दमन भए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
धरान उपमहानगरपालिकाको तथ्यांकअनुसार धरानका २० वटै वडामा करिब १७ हजार ३७५ सुकुमवासी परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये भूमिहीन दलित १ हजार ४६२, भूमिहीन सुकुमवासी ४ हजार १०६ र अव्यवस्थित बसोबासी ९ हजार ८७१ रहेका छन् । वडा–५ मा सबैभन्दा बढी सुकुमवासीको बसोबास रहेको छ भने वडा १७, ११, १५, १६ र ४ मा पनि उल्लेख्य संख्यामा छन् । अन्य वडामा भने तुलनात्मक रूपमा कम छन् ।
