नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसद् छाडेकामा प्रधानमन्त्रीको आलोचना

संसद्को गरिमा कायम हुने व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री शाहलाई विपक्षी दलहरूको आग्रह

वैशाख ३०, २०८३

जयसिंह महरा

Prime Minister criticized for leaving Parliament while policies and programs were being presented

What you should know

काठमाडौँ —  

संसद्मा आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री वालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयमा विपक्षी दलहरूले आलोचना गरेका छन् । संसद्को गरिमा कायम हुने व्यवहार प्रदर्शन गर्न प्रधानमन्त्री शाहलाई उनीहरूले सचेत गराएका छन् । 

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब ५० मिनेटपछि प्रधानमन्त्री शाह संसद् बैठकबाट बाहिरिएका थिए । नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई बिदाइ गर्न पनि उनी बैठक हलमा गएनन् । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधिसभामा टेबुल गर्ने क्रममा पनि प्रधानमन्त्री शाहले केही बोलेनन् ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरिरहँदा बिचमै संसदबाट बाहिरिएको विषयमा राजनीतिक तथा सार्वजनिक वृत्तमा प्रधानमन्त्री शाको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयमा सरकारको धारणा माग गरेको छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम बाचन गरिरहँदा बिचमै संसदबाट बाहिरिएको विषयमा राजनीतिक तथा सार्वजनिक वृत्तमा प्रधानमन्त्री शाको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले यो विषयमा सरकारको धारणा माग गरेको छ ।मंगलबारको बैठकको सुरुमा नै कांग्रेस प्रमुख सचेतक बासना थापाले आकस्मिक समय मागेर प्रधानमन्त्री शाहको व्यवहारप्रति संसदीय दलका तर्फबाट आपत्ति जनाइन् । ‘राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरतासँग जोडिएको छ,’ उनले भनिन् ।

लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा बिरलै देखिने दृश्य सोमबार देखिएको थापाको भनाइ थियो । ‘यस विषयमा सरकारबाट तत्काल स्पष्ट जवाफ दिइयोस्, संवैधानिक पदको सम्मान गरियोस्, संसदीय परम्परालाई कमजोर नबनाइयोस् र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस्,’ उनले भनिन् । 

मंगलबारकै बैठकमा कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री शाहबाट देखाइएको व्यवहार दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । ‘आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेस भइरहँदा प्रधानमन्त्री बीचमै हिँड्नुभयो भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ, यस्तो रेकर्ड राख्न लागेकामा म उहाँलाई बधाई दिऊँ कि दुःख व्यक्त गरूँ ?’ उनले भने । 

प्रधानमन्त्री शाहको व्यवहारले मुलुककै शिर झुकेको आङ्देम्बेको भनाइ छ । ‘प्रधानमन्त्रीले अहंकार र मर्यादाहीन व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण हो । उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । यो सदनको गरिमा र इज्जतमा दाग लागेको अनुभूति हामीलाई भएको छ,’ उनले भने । 

पूर्वप्रधानमन्त्री एवं नेकपा संसदीय दल नेता पुष्पकमल दाहालले संसद्को मर्यादा प्रधानमन्त्रीको व्यवहारसँग जोडिने स्मरण गराए । ‘संसद्को मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामी अगाडि जान सक्छौं । हिजो जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो, म त्यसलाई समर्थन गर्छु,’ उनले भने, ‘प्रधानमन्त्रीले केही निश्चित मर्यादा पालना नगर्ने हो भने संसद्को मर्यादा रहन सक्दैन । यसमा सबैको ध्यान जाओस् । प्रधानमन्त्रीको कार्यशैलीमा हामी सबैको भविष्य जोडिएको छ ।’

दाहालले रास्वपालाई संख्याको दम्भ नदेखाउन र विधि मिच्ने काम नगर्न सुझाव दिए । उनले रास्वपाप्रति जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लगाउन पनि उनले आग्रह गरे । 

संसद् बैठकको बीचमै प्रधानमन्त्री बाहिरिएकामा र उनले लगाएको पोसाकलाई लिएर एमालेले पनि आपत्ति जनाएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिलाई धन्यवाद दिन बसेको प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद गुरुप्रसाद बरालले त्यसबारे प्रश्न उठाएका थिए ।

दाहालले रास्वपालाई संख्याको दम्भ नदेखाउन र विधि मिच्ने काम नगर्न सुझाव दिए । उनले रास्वपाप्रति जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लगाउन पनि उनले आग्रह गरे । ‘प्रधानमन्त्रीले सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन ? चलन त्यसै चल्दैन, चलाएपछि चल्छ । हामीले कस्तो चलन चलाउने हो यो देशमा ? राष्ट्रपतिले नीति र कार्यक्रम सम्बोधन गरिरहनुभएको छ, प्रधानमन्त्री, जसले नीति र कार्यक्रमलाई टेबुल गरेर प्रक्रियामा अगाडि बढाउनुभएको थियो, बीचमा बहिष्कार गरेर हिँड्नुभएको देख्यौं,’ उनले भने, ‘बैठकमा निश्चित मर्यादा हुन्छन्, राष्ट्रपतिको सम्बोधनको करिब १५ मिनेट फ्रन्टलाइनमा बसेर प्रधानमन्त्रीले के संवाद गरिरहनुभएको थियो ? के छलफल गरिरहनुभएको थियो ?’

प्रधानमन्त्रीले नीति तथा कार्यक्रम चलिरहेका बेला आपसमा कुरा गरेको दृश्यलाई संसद्को रेकर्डबाट हटाउन बरालले सभामुख डीपी अर्यालसँग माग गरेका थिए । जवाफमा अर्यालले भनेका थिए, ‘मेरो ध्यानाकर्षण भएको छ । सचिवालयलाई त्यस विषयमा हेर्न भन्नेछु ।’

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले भने संसदीय गरिमा कायम गर्न रास्वपा प्रतिबद्ध रहेको बताएका छन् । ‘संसदीय मूल्य मान्यता र गरिमा कायम गर्ने जिम्मेवारीप्रति रास्वपा प्रतिबद्ध छ । विगतमा मर्यादा उल्लंघन गरेका छैनौं र आगामी दिनमा पनि गर्ने छैनौं,’ कान्तिपुरसँग उनले भने । 

सोमबार ४ बजे बसेको संघीय संसद् बैठकमा राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संघीय संसद्का दुवै सदनको बजेट अधिवेशनको पहिलो बैठक सोमबार २ बजे बसेको थियो । बजेट अधिवेशनको पहिलो दिन बसेका दुवै सदनको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित भएनन् । प्रधानमन्त्री शाहका तर्फबाट पेस गर्नुपर्ने अध्यादेश राष्ट्रिय सभा र प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पेस गरेकी थिइन् ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि बोलाइएको संयुक्त बैठकमा प्रधानमन्त्री शाह उपस्थित थिए । उनले नीति तथा कार्यक्रम राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए । त्यसपछि राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका थिए । प्रधानमन्त्री शाहले संयुक्त बैठकमा कालो कोट, कालै टिसर्ट र पाइन्ट तथा सेतो स्पोटर््स जुत्ता लगाएका थिए ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेको करिब ५० मिनेटपछि प्रधानमन्त्री शाह संसद् बैठकबाट बाहिरिएर संसद् भवनमा रहेको आफ्नो कार्यकक्षमा बसेका थिए । प्रधानमन्त्री शाह संसद् बैठकबाट बाहिरिएपछि राष्ट्रपतिले करिब आधा घण्टा नीति तथा कार्यक्रम वाचन गरेका थिए । राष्ट्रपतिको बिदाइ गर्न पनि प्रधानमन्त्री शाह आएनन् । 

धानमन्त्री शाह संसद् बैठकबाट बाहिरिएपछि राष्ट्रपतिले करिब आधा घण्टा नीति तथा कार्यक्रम वाचन गरेका थिए । राष्ट्रपतिको बिदाइ गर्न पनि प्रधानमन्त्री शाह आएनन् ।नीति तथा कार्यक्रम वाचनपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले नै टेबुल गरेका थिए तर त्यस क्रममा केही बोलेनन् । विगतमा संसद्मा नीति तथा कार्यक्रम पेस गरेकामा राष्ट्रपतिलाई धन्यवाद भनी छोटो सम्बोधन गर्दै प्रधानमन्त्रीले धन्यवाद प्रस्ताव महासचिवलाई बुझाउने अभ्यास थियो । प्रधानमन्त्री शाहले भने प्रस्तावको प्रति संसद्का महासचिवलाई बुझाएर कुर्सीमा पनि नबसी प्रतिनिधिसभाबाट बाहिरिएका थिए । राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव सभामुखले वाचन गरी निर्णयार्थ प्रस्तुत गर्दासम्म पनि प्रधानमन्त्री शाह प्रतिनिधिसभा बैठकमा बसेनन् । 

नीति तथा कार्यक्रम प्रस्तुतिकै बीचमा प्रधानमन्त्री शाहले किन संसद् बैठक छाडे भन्ने विषयमा आधिकारिक जानकारी आएको छैन । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सोमबार साँझ सामाजिक सञ्जालमा ‘स्वास्थ्यमा असहजता’ भएकाले आराम गर्न उनी बैठकबाट बाहिरिएको उल्लेख गरेका थिए ।

केही बेरमा नै डिलिट गरिएको पोस्टमा लेखिएको थियो, ‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो, त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यो विषय उठाउँदै प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरी संसद्लाई जानकारी गराइनुपर्ने माग गरे । ‘यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्यस्थिति गम्भीर बनेकाले उहाँ हिँड्नुभएको होला । त्यस्तै खालका समाचार आए, अनि पछि फेरि डिलिट भए भन्ने पनि सुन्यौं । उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो ? अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराइयोस्,’ उनले भने, ‘प्रधानमन्त्री अब रास्वपाको मात्रै रहनुभएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ ।’

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully