एसईई नतिजा: जनप्रतिनिधिदेखि नाति उमेरका सित परीक्षा दिएकाहरू पनि उत्तीर्ण

यस वर्षको एसईईमा पनि कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएका छन् भने कतिपय विद्यालयको नतिजा शून्य छ । जनप्रतिनिधिदेखि वर्षाैंपछि भर्ना भएर नाति उमेरकासित परीक्षा दिएकाहरू पनि उत्तीर्ण भएका छन् ।

वैशाख २९, २०८३

कान्तिपुर संवाददाता

SEE Results: Those who took the exam, from people's representatives to grandchildren, also passed

What you should know

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी सहभागी भएकामा २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भए भने १ लाख ४६ हजार ५ सय ७ जना अनुत्तीर्ण भए ।

यसपालि जीपीए ३.६० देखि ४ सम्म ल्याउने विद्यार्थी संख्या ४८ हजार ३ सय ९२ रहेको छ । जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना छन् । यस्तै २.८० देखि ३.२० जीपीएसम्म ९४ हजार २ सय २२ ले ल्याएका छन् । जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ५५ हजार ९ सय ७७ छन् । २.४० भन्दा मुनि २.० सम्म ल्याउने विद्यार्थी संख्या ५ हजार १ सय ९० छ । जीपीए २.० भन्दा मुनि १.६० सम्म ल्याउने विद्यार्थी ७ जना मात्र छन् ।

कान्तिपुर संवाददाताहरूका अनुसार यो वर्षको एसईईमा पनि कतिपय सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याएका छन् भने कतिपय विद्यालयको नतिजा शून्य छ । जनप्रतिनिधिदेखि वर्षाैंपछि भर्ना भएर नाति उमेरकासित परीक्षा दिएकाहरू पनि उत्तीर्ण भएका छन् ।  

चितवनमा ४ जीपीए ल्याउने ७३ मध्ये एकै विद्यालयका ३७ 
चितवन संवाददाता रमेशकुमार पौडेलका अनुसार भरतपुरको नारायणी नमुना माविका ३७ जनाले वर्षको एसईईमा ४ जीपीए ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाभर कुल ७३ जनाको ४ जीपीए आएको छ । जसमध्ये आधाभन्दा धेरै एउटै विद्यालय नारायणी माविका छात्रछात्राहरू रहेका छन् । नारायणी माविबाट ३८० विद्यार्थी एसईईमा सामेल थिए । ‘जसमध्ये १९ जना छात्र र १८ जना छात्राले चार जीपीए ल्याएका छन्,’ विद्यालयका प्रधानअध्यापक (प्रअ) रामशरण दुवाडीले भने । 

एक जना विद्यार्थी मात्रै अनुत्तीर्ण भएको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार एसईईमा चितवनमा साधरण धारतर्फ १० हजार ४१३ विद्यार्थी सामेल थिए । जसमध्ये  ६ हजार ८७१ जनाले स्तरीकृत अंक प्राप्त गर्न सफल अर्थात उत्तीर्ण भएको कार्यालयले जनाएको छ ।

नारायणी माविमा अघिल्लो वर्ष ७ जनाले चार जीपीए प्राप्त गरेका थिए । विद्यालयले यो पटक अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याएको प्रअ दुवाडीले बताए । नारायणी मावि ६० वर्ष नाघेको विद्यालय हो । २०२० जेठ ६ गते रात्री माविका रूपमा पढाइ सुरू भएको थियो । विगतमा यो स्कुल शून्यमा पुगेको थियो । 

विद्यालयका ५४ जना विद्यार्थीले एसएलसी दिएका बेला २०३८ सालको नतिजामा कोही पनि उत्तीर्ण भएनन् । त्यसपछि विद्यालयको भविष्यलाई लिएर चिन्ता सुरू भयो । २०४१ सालदेखि विद्यालय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुन थाल्यो । २०४९ सालदेखि विद्यालयलाई व्यवस्थित रूपमा अगाडि बढाउन सामूहिक प्रयत्न सुरू भएको पूर्व प्रअ पूर्णप्रसाद दवाडी बताउँछन् । यो प्रयासको प्रभाव २०५७ सालको एसएलसीमा बल्ल देखियो । त्यो वर्ष विद्यालय एसएलसी नतिजामा सामुदायिक विद्यालयमा चितवनभरीमा पहिलो भयो । त्यसपछि विद्यालय परिवारमा आत्मविश्वास बढ्दै गएको दवाडी बताउँछन् ।

SEE Results: Those who took the exam, from people's representatives to grandchildren, also passed

एसएलसीको नतिजा लगातार ५ वर्षसम्म ९० प्रतिशत पार भएको,  विद्यार्थी संख्याका आधारमा शिक्षक अनुपात मिलेको, कक्षाकोठा पर्याप्त भएको, पढाइमा सूचना प्रविधिको प्रयोग भएको जस्ता १५१ वटा सूचक पूरा गरेको आधारमा शिक्षा विभाग अन्तर्गतको तत्कालीन हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालयले नारायणी माविलाई २०७० सालमा नमुना विद्यालय कायम गरेको हो ।

त्यसको एक वर्षअघि विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरू गरेको थियो । ‘सरकारी स्कुलको पढाइ मन नपरेर स्थानीयले छोराछोरी पढाउन निजी बोर्डिङ स्कुल रोज्न थाले । हामीले पनि अंग्रेजी पढाउने योजना बनायौं । अभिभावकलाई सहयोग गर्न आह्वान गर्‍यौं,’ विद्यालयका पूर्व प्रअ तथा विद्यालय व्यवस्थापन समितिका वर्तमान अध्यक्ष टेकबहादुर थापाले भने । 

पर्याप्त शिक्षक प्रबन्ध गर्नका लागि सरकारी दरबन्दी नभए पनि निजी स्रोतको खर्च बेहोर्न अभिभावकहरू सहयोग गर्न तयार भएपछि यो सम्भव भएको थापा बताउँछन् ।  विद्यालयमा हाल बालविकासदेखि १२ सम्म पढाइ हुन्छ । गत वर्ष कुल विद्यार्थी संख्या ३ हजार ३३४ थियो । विद्यालयलाई सरकारले उपलब्ध गराएको आफ्नो नामको लालपुर्जा भएको ६ विघा ४ कट्ठा १४ धुर जग्गा छ । सप्तगण्डकी क्याम्पस सञ्चालन हुने १ बिघा जमिन र सिटिईभीटीले तालिम केन्द्र सञ्चालनका लाागि प्रयोग गरेको २ विघा जमिन पनि नारायणी माविको ६ विघा जमिन मध्यकै हो ।

खानीखोला–५ का वडाध्यक्ष स्याङ्तान ४४ वर्षको उमेरमा एसईई उत्तीर्ण

काभ्रे संवाददाता ज्योति श्रेष्ठका अनुसार खानीखोला गाउँपालिका–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले ४४ वर्षको उमेरमा एसईई उत्तीर्ण गरेका छन् । २०८२ को एसईईमा सहभागी भएका स्याङ्तान २.५५ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् । जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका उनी लामो अन्तरालपछि पुन: पढाइलाई निरन्तरता दिँदै सफलता हासिल गरेका हुन् । 

उनी सानैदेखि पढाइप्रति रुचि राख्थे । विविध कारणले उनले पढाईलाई निरन्तरता दिन सकेनन् । २०५६ सालमा कक्षा ८ सकेर ९ मा भर्ना हुने बेला तत्कालीन द्वन्द्वकालको जटिल परिस्थितिका कारण पढाइलाई निरन्तरता दिन सकेनन् । ‘देशको परिस्थिति र व्यक्तिगत कारणले बीचमै पढाइ रोक्नुपर्‍यो,’ उनले भने, ‘लामो संघर्षपछि फेरि समय मिल्यो र पढाइलाई निरन्तरता दिने निर्णय गरेँ ।’ 

SEE Results: Those who took the exam, from people's representatives to grandchildren, also passed

उनले बीचमा पुन: विद्यालयमा भर्ना हुने प्रयास गरे पनि सामाजिक कार्य र व्यक्तिगत जिम्मेवारीका कारण अवसर छुट्दै गएको बताए । २०७९ सालमा वडाध्यक्ष निर्वाचित भएपछि पनि व्यस्तता बढ्दै गयो । २०८० सालमा भने पढाईलाई निरन्तरता दिने सोच बनाए । आफूले बाल्यकालदेखि नै पढ्दै आएको खानीखोला–५ मा रहेको जनविकास माध्यमिक विद्यालयमा उनले पुन: भर्ना गरे ।

२०८१ मा कक्षा ९ उत्तीर्ण गरेका उनी २०८२ को एसईईमा सहभागी भएर उत्तीर्ण भएका हुन् । अब ११ कक्षामा भर्ना भएर अध्ययनलाई अझै अगाडि बढाउने उनको तयारी छ । ‘अब ११ कक्षामा भर्ना भएर पढाइलाई अगाडि बढाउने योजना छ,’ उनले भने, ‘प्राविधिक शिक्षा कि अन्य विषय रोज्ने भन्नेबारे सुझाव लिइरहेको छु ।’  

पारिवारिक रूपमा पनि उनले धेरै संघर्ष भोगेका छन् । बाल्यकालमै आमालाई गुमाएका स्याङ्तानले पछि बुबालाई पनि गुमाउनुपरेको बताए । दिदीबहिनी, आफन्त र परिवारको सहयोगले आफू यहाँसम्म आइपुगेको उनको भनाइ छ । उनकी जेठी छोरीले गत वर्ष एसईई गरेकी थिइन् । कान्छी छोरी १० कक्षा पढिरहेकी छिन् । छोराछोरीले समेत पढ्न हौसला दिइरहेको उनले बताए । 

स्याङ्तानले आफू जनप्रतिनिधि भएकाले शिक्षा अभियानलाई पनि प्राथमिकतामा राख्दै आएको बताए । विद्यालयमा पुगेर बालबालिकालाई नियमित पढाइको महत्त्वबारे सचेतना फैलाउँदै आएका छन् । उनले भने, ‘मैले यो उमेरमा एसईई पास गर्दा नयाँ पुस्तालाई पनि पढाइको महत्त्व बुझाउन सन्देश जाओस् भन्ने चाहना छ।’ बाल्यकालमा शिक्षक वा वन क्षेत्रको कर्मचारी बन्ने सपना देखेका स्याङ्तान अहिले जनप्रतिनिधिको भूमिकामा छन् । शिक्षा हासिल गरेर समाजलाई अझ प्रभावकारी रूपमा नेतृत्व गर्ने चाहना रहेको उनले बताए । 

वर्षदिनको छँदा एकसाथ परिवारका ८ जना गुमाएका सन्सरबहादुरले गरे एसईई 

चितवन संवाददाता रमेशकुमार पाैडेलका अनुसार २०६७ जेठमा विषालु च्याउ खाएर परिवारका सबै सदस्य गुमाएका चितवनको पहाडी गाउँ कान्दामा सन्सरबहादुर चेपाङले एसईई उत्तीर्ण गरेका छन् । च्याउ खाँदा बिरामी परेका परिवारका आठ सदस्यको मृत्युपछि भरतपुरस्थित एसओएस बालग्रामको आश्रयमा पढिरहेका सन्सरबहादुर २ दशमलब ६९ जीपीए ल्याएर पास भएका हुन् ।  

चितवनको उत्तरी भेग पहाडी गाउँ लोथरको कान्दामा २०६७ को जेठ १४ मा जंगली च्याउ खाएका एकै घरका आठ जनाको निधन भएको थियो । सानो भएका कारण च्याउ नखाएका बालक सन्सरबहादुर मात्रै जोगिएका थिए । उनै सन्सरबहादुर यो पटक एसईई उत्तीर्ण भएका हुन् । 

SEE Results: Those who took the exam, from people's representatives to grandchildren, also passed

हाल राप्ती नगरपालिका–१३ मा पर्ने कान्दा गाउँ पुग्न अहिले पनि दिनभर हिँड्नुपर्छ । गाउँ पुग्ने मोटरबाटो छैन । अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ बहुल कान्दामा १६ वर्षअघि यो घटना हुँदा बिरामी भएकालाई भरतपुरको अस्पताल ल्याउनै झण्डै दुई दिन लागेको थियो । 

२०६७ जेठ १४ को साँझ कान्दाका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाए । बाबुराम सन्सरबहादुरका हजुरबुवा हुन् । गाउँमा च्याउ खाएका सबै आठ जना बिरामी परेको हल्ला भएपछि भोलिपल्ट स्थानीय कान्देश्वरी विद्यालयका प्रधानाध्यापक (प्रअ) बालकृष्ण थपलिया बाबुरामको घर गए । छिमेकीहरू उनीहरूलाई जनावरको दिसा खुवाएर वान्ता गराउन खोज्दै थिए । प्रअ थपलियाले यस्तो नगर्न र ‘जति सक्दो चाँडो अस्पताल लौजाऔं’ भने । गाउँलेहरू जुट्दाजुट्दै बाबुरामको प्राण गयो । लगत्तै बाबुरामकी श्रीमती अर्थात् सन्सरबहादुरकी हजुरआमाको पनि निधन भयो । ‘बिरामी भएकामध्ये बाबुराम, उनकी श्रीमती र बाबुरामकी एक नातिनी (सन्सरबहादुरकी दिदी)को गाउँमै प्राण गयो,’ प्रअ थपलियाले घटना सम्झे । बाँकी पाँच जनालाई थपलियाले गाउँलेको सहयोगमा भरतपुर अस्पताल ल्याए ।

सन्सरबहादुरका बुवा पूर्णबहादुर, आमा चन्द्रमाया, सन्सरबहादुरकी एक दिदी, काका जीतबहादुर र जीतबहादुरकी श्रीमतीको भरतपुर अस्पतालकै शय्यामा मृत्यु भयो । उपचारको प्रयासमा काठमाडौं लगिएका जीतबहादुरको पनि जेठ २० मा मृत्यु भएपछि सन्सरबहादुरको परिवारमा कोही बचेनन् । 

परिवारका सबै बिते बच्चालाई के गर्ने ? प्रअ थपलिया साँछी बस्ने भएपछि भरतपुरको एसओएस बालग्रामले सन्सरबहादुरलाई राख्ने जिम्मा लियो । यो घटनाले सन्सरबहादुरलाई अर्कै संसारमा पुर्‍यायो । 
बालग्रामकी आमा ‘कान्ति’को काखमा सन्सरबहादुर हुर्किन थाले । सन्सरबहादुरको स्कुले जीवन सुरु भयो । ‘फुटबलमा उनको सानैदेखि धेरै रुचि छ । स्कुलबाट फुटबल खेल्न ठाउँठाउँ गएका छन्,’ एसओएस बालग्रामका निर्देशक राजेन्द्र लम्सालले भने ।

तीन वर्षअघि अन्डर–१६ समूहको छनौट खेल्न काठमाडौंसम्म गए पनि छनोट हुन सकेनन् । बालग्राममा बस्न आएकाहरू २३ वर्षको हुँदासम्म एसओएसले जिम्मेवारी लिन्छ । ‘त्यो बेलासम्म पढाइदेखि सबै कुरामा सहयोग गर्छाैं । हाम्रोमा कक्षा ११ मा विज्ञान विषय छ । त्योबाहेकको विषय पढ्न बाहिर गए पनि सहयोग हुन्छ,’ निर्देशक लम्सालले भने । 

फुटबलसँगै बास्केटबल, भलिबलमा पनि आफ्नो रुचि भएको उनले बताए । उनलाई नाँच्न पनि रहर लाग्छ । ‘कहिलेकाँही त गीत पनि गाउँछु,’ सन्सरबहादुरले भने । पढाइमा राम्रो अक्षर लेख्न नसकेका कारण प्रगति गर्न नसकिएको उनी बताउँछन् । गाउँमा आफ्ना हजुरबाआमा पट्टिका सबैको निधन भए पनि अन्य आफन्त छन् । उनी बीचमा दुई पटक गाउँ पनि पुगे । ‘गाउँ त धेरै टाढा रहेछ । काठमाडौंभन्दा पनि टाढा । दिनभरी हिँड्न पर्ने,’ उनले भने । 

अचेल कान्दाको अवस्था परिवर्तन भएइसकेको प्रअ थपलिया बताउँछन् । त्यतिबेलाको घटनाको स्थलगत समाचार संकलन गर्न पुगेका पत्रकारमध्ये एकल सिलवालले आफ्ना मित कलाकार तथा सिनेमा निर्माता रविन्द्रसिंह बानियाँसँग मिलेर कान्दाको रुपान्तरणका लागि ‘मितेरी अभियान’ सुरु गरे । उक्त अभियानमा पछि लक्ष्मी प्रतिष्ठान जोडियो । प्रतिष्ठानले २०७२ सालमा गाउँमा छात्राबास सुरु गर्‍यो ।

छात्राबासमा नि:शुल्क रुपमा बसेर बालबालिकाले कान्देश्वरी स्कुलमा पढ्न थाले । २०६७ मा ४ कक्षासम्म मात्रै पढाइ हुने उक्त विद्यालयमा अहिले कक्षा ८ सम्म पढाइ हुन्छ । माथिल्लो कक्षा पढ्न नजिक विद्यालय नभएकाले कान्दाका विद्यार्थीलाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा संचालन गरेको छात्रावासमा लगेर एसईईसम्म पढाउन थाल्यो ।

‘कान्दाका बालबालिकाले २०७८ सालदेखि काभ्रेबाट एसईई दिन सुरु गरेका हुन् । अहिलेसम्म सयौं एसईई दिइसके । ४०/४५ जनाले १२ कक्षा पास गरेका छन् । स्नातक पनि पढ्दै छन् । घटनापछि गाउँमा शिक्षा क्षेत्रमा राम्रो अभियान चल्यो,’ थपलियाले भने । त्यो बेला आठ जना अभिभावक गुमाएर एक्लै परेका शिशुले अहिले एसईई उत्तीर्ण गरेको खबरले आफु निकै खुसी भएको थपलियाले बताए । 

७ कक्षा पास गरेको ५६ वर्षपछि ६६ वर्षीय करवीरले गरे एसईई पास

धनकुटा संवाददाता विनोद घिमिरेका अनुसार पाख्रिबास नगरपालिका–७ मुगाका ६६ वर्षीय करवीर राईले कक्षा ७ पास गरेको झण्डै ५६ वर्षपछि एसईई गरेका छन् । २०१७ सालमा तत्कालीन मुगा गाउँपञ्चायत–१ गैरीटोलमा जन्मिएका राईले २०२७ सालमा स्थानीय राम मिडल स्कुलबाट कक्षा ७ उत्तीर्ण गरेका थिए।

विद्यालयका तत्कालीन प्रधानाध्यापक अच्युत घिमिरे तथा शिक्षकहरू माधव घिमिरे, उर्मिला श्रेष्ठ र गोल देवानले उनको क्षमता देखेर कक्षा ३ बाट सिधै कक्षा ५ मा भर्ना गरिदिएका थिए। राई सम्झिन्छन्, 'त्यसबेला राम्रो विद्यार्थीलाई कक्षा चढाउने चलन थियो, मैले ४ नपढी ५ मा भर्ना पाएँ।'

SEE Results: Those who took the exam, from people's representatives to grandchildren, also passed

गाउँमै कक्षा ७ सम्म पढाइ भए पनि त्योभन्दा माथिको अध्ययनका लागि धनकुटा सदरमुकाम जानुपर्ने अवस्था थियो। गाउँमा उच्च शिक्षा पढ्ने वातावरण नभएकाले उनको पढाइ त्यहीँ रोकियो। 'अब छोरालाई गाउँका कसैले पनि ढाँट्न सक्दैन' भन्दै पढाइ पुगेको ठानेका थिए। उनी अहिले पनि त्यो समय सम्झँदै भन्छन्, 'आनन्द लहरी, प्रीति लहरी पढ्न जानिगो, भैगो । नौरङ्गी डाँफेको गीत गाउन जाने भइगयो,' त्यसबेला बुवाआमाले भनेकाे करवीरले सम्झिए । तर उनको पढाइप्रतिको मोह भने समाप्त भएन । २०४० सालमा उनले चुङमाङ गाविसस्थित भारती माध्यमिक विद्यालयबाट प्राइभेट टेस्ट परीक्षा दिने योजना बनाए। त्यतिबेला एसएलसी दिनुअघि टेस्ट परीक्षा पास गर्नुपर्ने व्यवस्था थियो।

टेस्ट परीक्षा पास गरे पनि उनले एसएलसी भने उत्तीर्ण गर्न सकेनन् । धनकुटा बहुमुखी क्याम्पसमा तोकिएको परीक्षा केन्द्रबाट परीक्षा दिएका उनले अंग्रेजी, नेपाली, इतिहास र शिक्षा–शिक्षण विषयमा सफलता पाए पनि भूगोल, विज्ञान र गणितमा असफल भए। त्यसपछि फेरि पढाइ छुट्यो। गाउँका साथीभाई रोजगारीका लागि भारतको कोइलाखानीतिर लागेपछि उनी पनि त्यहीँ पुगे। केही वर्षपछि गाउँ फर्केर विवाह गरे।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४९ सालमा उनी नेकपा एमालेको तर्फबाट तत्कालीन मुगा गाविसको उपाध्यक्ष निर्वाचित भए। त्यसबेला ईन्द्रबहादुर राई गाविस अध्यक्ष थिए। त्यसपछि जनप्रतिनिधि, पार्टी राजनीति र सामाजिक सेवामा सक्रिय हुँदा पढाइ फेरि ओझेलमा पर्‍यो।

२०८० सालमा अचानक उनलाई फेरि पढ्ने हुटहुटी जाग्यो। 'अब काम गर्न पनि सकिन्न, गाउँमा लुडो खेलेको हेरेर कति बस्नु ? अब एसईई पास गरेर ११–१२ पढ्छु भन्ने सोचे,' उनले भने । 

२०८० सालमा उनले खुला सिकाइ प्रणालीमा भर्ना भए। सुनसरीको धरानस्थित सगरमाथा डल्फिन कलेजबाट आवेदन दिएर सप्तरीको राजविराजमा परीक्षा दिन पुगे। परीक्षा केन्द्रमा जाँदाआउँदा अरु विद्यार्थीले जिस्काउँदै उनलाई 'लौ बाजे, बस्नुस्' भन्दै बसको सिट छोडिदिने गर्थे। पहिलो प्रयासमा उनले पाँच विषय पास गरे भने दुई विषयमा असफल भए। २०८१ सालमा गणित र अर्थशास्त्र विषयको ग्रेडवृद्धि परीक्षा दिए। अर्थशास्त्रमा सफलता पाए पनि गणितले फेरि रोक्यो। त्यसपछि उनी गणित सिक्न धनकुटा सदरमुकाम आए। तल्लो गोकुण्डेश्वरका गणित शिक्षक गोपाल राईले उनलाई दुई महिनासम्म निःशुल्क ट्युसन पढाए। माथिल्लो गोकुण्डेश्वरका शिक्षक चन्द्र गुरागाईंले समेत सहयोग गरे।

२०८२ चैतमा सञ्चालित एसईईका लागि उनले फेरि धरानस्थित सगरमाथा डल्फिन कलेजबाट आवेदन दिएर राजविराजको केअ सेकेण्डरी स्कुलमा परीक्षा दिए। सोमबार राति प्रकाशित नतिजामा उनले 'सी' ग्रेडसहित एसईई उत्तीर्ण गरे।

रिजल्ट हेर्ने काम भने उनले आफैं गर्न सकेनन्। 'आफू त इन्टरनेटमा खोज्न सक्दिनँ । बुहारीले भनेरै थाहा पाएँ,' उनले हाँस्दै भने, 'सी ग्रेडमा पास भएछु, अब ११–१२ पढ्छु।' अब व्यवस्थापन विषय लिएर ११ कक्षाा भर्ना गर्ने उनको योजना छ । धनकुटामै बसेर कक्षा १२ सम्म पढ्ने तयारीमा रहेका उनले श्रीमती करुणा देवानलाई पनि मुगाबाट धनकुटा ल्याउने योजना बनाएका छन्। 'बुढीले खाना बनाइदिन्छन्, म पढ्न जान्छु,' उनले भने।

राईलाई नयाँ पुस्ताप्रति पनि चिन्ता छ। अहिलेका युवाहरू पढाइभन्दा रमाइलोमा बढी अल्झिएको उनको बुझाइ छ। 'नयाँ पुस्ताले अझै धेरै जान्नु र पढ्नु पर्छ। हामीजस्तो भएर मात्रै भएन। राम्रो पढ्नुपर्छ, हरेश खानु हुँदैन। मैले पनि तीन वर्षमा एसईई पास गरेँ। निरन्तरताले मान्छेलाई उपलब्धि दिन्छ, सही गन्तव्यमा पुर्‍याउँछ,' उनले भने।

उनी आफ्नो परिवारको शैक्षिक उपलब्धिबाट पनि उत्साहित छन्। जेठी बुहारी जशुजनम राईले नेपाली र कानुन विषयमा स्नातकोत्तर गरेकी छन् भने कान्छी बुहारी लक्ष्मी लिम्बु कमर्श र राजनीति शास्त्रमा स्नातकोत्तर हुन्। उनका जेठा छोरा किरणले पर्यटकीयस्थल भेडेटारमा संसारा होटल सञ्चालन गर्दै आएका छन् भने कान्छा छोरा सोचन नेपाली सेनामा कार्यरत छन्। 'मेरो परिवार पनि व्यावसायिक पृष्ठभूमिको छ,' उनले भने, 'अब म पनि कमर्श लिएर ११–१२ पढ्छु।'

३० जिल्लाका विद्यार्थी पढिरहेको डहु माविबाट एसईईमा ११ जनाको ४ जीपीए

रामेछाप संवाददाता नवराज श्रेष्ठका अनुसार एसईई २०८२ को नतिजा सार्वजनिक भएसँगै रामेछापको ग्रामीण भेगमा रहेको एउटा विद्यालय फेरि राष्ट्रिय चर्चामा आएको छ । जिल्लाको सुनापाति गाउँपालिका–४ बेथानस्थित डहु माध्यमिक विद्यालयले यस वर्षको एसईईमा ११ विद्यार्थीले ४ जीपीए ल्याएको छ ।

SEE Results: Those who took the exam, from people's representatives to grandchildren, also passed

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार विद्यालयका कुल ६६ विद्यार्थीमध्ये ११ जनाले ४ जीपीए प्राप्त गरेका छन् । विद्यालयका अनुसार प्राविधिक धार कम्प्युटर इन्जिनियरिङतर्फ अध्ययनरत ९ तथा साधारण धारतर्फका २ विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । त्यस्तै, प्राविधिक धारतर्फ ३८ जनाले ३.६० देखि ३.९६ जीपीए प्राप्त गरेका छन् भने एक जनाले ३.५९ जीपीए ल्याएका छन् । साधारण धारतर्फ ९ जनाले ३.६० देखि ३.९६, ५ जनाले ३.२० देखि ३.६० र २ जनाले २.८० देखि ३.२० जीपीए ल्याएका छन् ।

एसईईको राष्ट्रिय नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको वर्षमा डहु माविले हासिल गरेको उपलब्धि सामूहिक समर्पण, अनुशासन र निरन्तर सङ्घर्षको प्रतिफल भएको विद्यालयका प्रधानाध्यापक दलबहादुर वलले बताए । उनले भने, 'व्यक्तिगत जीवनका धेरै खुसीलाई बन्धक राखेर पनि शैक्षिक क्षेत्रमा नयाँ इतिहास रच्न निरन्तर समर्पित सहकर्मी शिक्षक, मेहनती विद्यार्थी र विश्वासिला अभिभावकप्रति कृतज्ञ छु ।' उनले १६.६६ प्रतिशत विद्यार्थीले ४ जीपीए ल्याउनु ऐतिहासिक उपलब्धि भएको बताए ।  

डहु मावि उत्कृष्ट व्यवस्थापन र परीक्षामा हासिल गर्दै आएको नतिजाकै कारण चर्चामा रहँदै आएको विद्यालय हो । सीमित स्रोत–साधन, ग्रामीण परिवेश र अवसरको अभावबीच पनि विद्यालयले निरन्तर उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आएको छ । विद्यालयको सफलताप्रति स्थानीय अभिभावक उत्साहित देखिन्छन् ।

सामुदायिक विद्यालयप्रतिको विश्वास कमजोर बन्दै गएको अवस्थामा डहु माविले मेहनत, अनुशासन, सक्षम व्यवस्थापन तथा शिक्षक–अभिभावकबीचको सहकार्य भए सरकारी विद्यालयले पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको अभिभावकहरूको भनाइ छ ।

विद्यालयको शैक्षिक वातावरण, अनुशासन र व्यवस्थापनबाट प्रभावित भएर मन्थली नगरपालिका–९ का प्रेमबहादुर श्रेष्ठले सदरमुकाम मन्थलीस्थित एक निजी विद्यालयमा अध्ययनरत आफ्नी छोरीलाई तीन वर्षअघि डहु माविमा भर्ना गराएको बताए । उनले भने, 'विद्यालयको पढाइ, अनुशासन र नतिजाले हामी अभिभावकको विश्वास जितेको छ ।'

विद्यालयकी शिक्षिका रिना तामाङका अनुसार हाल नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यालयमा हरेक दिन बिहान साढे ६ बजेदेखि अपराह्न साढे ४ बजेसम्म नियमित कक्षा सञ्चालन गरिन्छ भने त्यसपछिको समय खेलकुद, नृत्य तथा अन्य अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराइँदै आएको छ । 'सबै शिक्षक, विद्यार्थी र अभिभावकको मेहनत तथा सामूहिक प्रयासकै परिणामस्वरूप विद्यालयले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको हो,' तामाङले भनिन्, 'यसबाट हामी खुसी छौँ । तर अझै पनि हाम्रो लक्ष्य पूरा भएको छैन । एसईई २०८२ मा २५ जना विद्यार्थीले ४ जीपीए ल्याउने अपेक्षा गरेका थियौं, तर ११ जनाले मात्रै त्यो उपलब्धि हासिल गरे । त्यसैले अझै धेरै मेहनत गर्नुपर्ने आवश्यकता छ ।'

३० जिल्लाका विद्यार्थी 
डहु मावि अहिले रामेछाप मात्रै होइन, देशका विभिन्न जिल्लाका विद्यार्थी र अभिभावकहरूको रोजाइको विद्यालय बन्न थालेको छ । गाउँका अधिकांश अभिभावक आफ्ना छोराछोरीलाई राम्रो शिक्षाको खोजीमा सदरमुकाम र सहरतर्फ लैजाने प्रवृत्ति बढिरहेका बेला सुनापति गाउँपालिकाको दुर्गम बस्तीमा रहेको डहु माविले भने उल्टै सहरका विद्यार्थीलाई गाउँतर्फ आकर्षित गरिरहेको छ ।

सामुदायिक विद्यालयप्रतिको घट्दो विश्वासका बीच डहु माविले शैक्षिक गुणस्तर, अनुशासन र आवासीय व्यवस्थापनमार्फत आफूलाई देशकै नमुना विद्यालयका रूपमा स्थापित गर्दै लगेको छ । पछिल्लो समय विद्यालय अवलोकन गर्न आउने अभिभावक, शिक्षक र विभिन्न स्थानीय तहका प्रतिनिधिसमेत धेरै हुने गरेका छन् ।

प्रअ वलका अनुसार अहिले विद्यालयमा कुल ६ सय विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ३६० जना विद्यार्थी ३० जिल्लाबाट आएर आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् । 'टाढाबाट आएका सबै विद्यार्थीलाई पढाउने इच्छा हुँदाहुँदै पनि व्यवस्थापन गर्न कठिन छ,' प्रअ वलले भने, 'त्यसैले प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी छनोट गर्ने गरेका छौँ । होस्टेलमा बस्ने विद्यार्थीको कोटा निर्धारण गरेर भर्ना लिनुपरेको छ ।' 

विद्यालयका अनुसार अहिले काभ्रे, दोलखा, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, रौतहट, महोत्तरी र झापालगायत जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत छन् । त्यसै गरी काठमाडौं, मकवानपुर, बझाङ, म्याग्दी, डोटी, नवलपरासी, बैतडी, सल्यान, सप्तरी, अर्घाखाँची, सिराहा, चितवन, सुर्खेत, सर्लाही र सुनसरीलगायत जिल्लाबाट आएका विद्यार्थी पनि डहु माविमा आवासीय रूपमा अध्ययन गरिरहेका छन् ।

नवलपुरबाट १९ जनाले ल्याए ४ जीपीए 

हाम्रा नवलपुर संवाददाता नवीन पौडेलका अनुसार पूर्वी नवलपरासीबाट यस वर्षको एसईईमा १९ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । २०८१ सालको एसईईमा जिल्लामा १० जनाले मात्र ४ जीपीए ल्याएका थिए ।

यस वर्ष सामुदायिक विद्यालयतर्फ ९ र संस्थागततर्फ १० जनाले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ कावासोतीका प्रमुख दीपेन्द्र श्रेष्ठले बताए । SEE Results: Those who took the exam, from people's representatives to grandchildren, also passed

यस वर्ष ४ जीपीए प्राप्त गर्ने विद्यालयमा शिव माध्यमिक कावासोतीका २ जना, नेपाल माध्यमिक विद्यालय देवचुली, जनता मावि शिवनगर,  ज्ञानोदय मावि कावासोती, वरचुली मावि, सकलादेवी मावि, रत्नराज्य माविका एक/एक जनाले ४ जीपीए प्राप्त गरेका छन् ।

संस्थागततर्फ विजय सामुदायिक शिक्षा सदनका २ जना , कन्टिनेन्टल, सरस्वती निकेतन, वाइनभिजन, सूर्योदय विद्या मन्दिर, नवलपुर एकेडेमी, गैडाकोट एकेडेमी, अमर बोर्डिङ र स्माल हर्ट एकेडेमीका एक/एक जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।

जिल्लामा २०८२ सालको एसईईमा ७२ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

कान्तिपुर

Link copied successfully