अपहरण आरोपमा श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम पक्राउ  

राजकुमार चौधरीले दिएको जाहेरीका आधारमा महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिमलाई पक्राउ गरिएको हो ।

वैशाख २९, २०८३

विद्यानन्द राम

Mustakim, who works in the Labor Minister's Secretariat, arrested on kidnapping charges

राजविराज — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवको स्वकीय सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी कसूर गरेको आरोपमा पक्राउ परेका छन् । राजकुमार चौधरीले दिएको जाहेरीका आधारमा महादेवा गाउँपालिका–१ घर भई राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मुस्तकिमलाई पक्राउ गरिएको हो । 

सोमबार पक्राउ परेका मुस्तकिममाथि ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए । उनका अनुसार १४ फागुन २०८२ मा मुस्तकिमसहितका मिलेर चौधरीलाई बा ९९ प ५७७५ र अन्य नम्बर नखुलेको २ वटा दुई मोटरसाइकलमा अपहरण गरी बन्दुक देखाउँदै लुटपाट गरेको आरोप छ । 

त्यस दिन बिहान ८ बजेतिर राजविराज–३ स्थित हनुमान चोकबाट अपहरण गरेका उनीहरुले राजविराज–८ स्थित हिमालय राइस मिलको पछाडि पर्वत भन्ने स्थानमा लगेर शरीर बन्धक बनाई कुटपिट गर्दै नांगै बनाएर भुइँमा थुक्न लगाई चौधरीलाई चाट्न लगाएका आरोप छ । त्यसको भिडियोसमेत रेकर्ड गरी मोबाइल, दुई तोला सुनको सिक्री र १ लाख ३० हजार नगद लुटेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । 

Mustakim, who works in the Labor Minister's Secretariat, arrested on kidnapping charges

जाहेरीअनुसार घटनाबारे कसैलाई बताए भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने र ज्यानै मारिदिने मुस्तकिमसहितकाले डर–त्रास देखाएको आरोप छ । २४ वैशाखमा दिएको जाहेरीमा नाम उल्लेख भएका अन्य ३ जना आरोपीहरु फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

मुस्तकिम सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री यादवको स्वकीय सचिवालयको हलुका सवारी चालक पदमा २७ चैत २०८२ मा नियुक्त भएको देखिएको छ । केही दिनअघि तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्चारकर्मी प्रहृलाद सिंह ‘विक्की’सँग एसपी गौतमकुमार केसीले गरेको फोन सम्वादमा मुस्तकिमलाई ‘ठीक ठाउँमा ल्या, होइन भने... हान्दिन्छु’ भन्दै गालीगलौज गरेका थिए । 

सिंहलाई पनि धम्क्याउँदै एसपी केसीले मुस्तकिममाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको फोन संवाद सामाजिक सञ्जालमा भाइरल भएपछि ७ वैशाखमा मधेश प्रदेश प्रहरी कार्यालयले एसएसपी कमल थापाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर, समितिको प्रतिवेदन भने हालसम्म सार्वजनिक भइसकेको छैन । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully