जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराएको आरोपमा पीडित किशोरीकी आमा र लेखनदाससहित ४ जना पक्राउ

जबरजस्तीकरणी मुद्दामा मिलापत्र गर्ने कार्यमा संलग्न देखिएको आरोपमा पीडित किशोरीकी आमा, उक्त वडाका पूर्ववडाध्यक्ष, आरोपी युवकका बुवा र लेखनदासलाई पक्राउ गरिएको हो ।

वैशाख २९, २०८३

मनोज पौडेल

Four people, including the victim's mother and Lekhan Das, arrested on charges of arranging a settlement in a rape case

What you should know

कपिलवस्तु — जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराएको आरोपमा ४ जना पक्राउ परेका छन् । जबरजस्तीकरणी मुद्दामा मिलापत्र गर्ने कार्यमा संलग्न देखिएको आरोपमा यशोधरा गाउँपालिका–५ का पीडित किशोरीकी आमा, उक्त वडाका पूर्ववडाध्यक्ष, आरोपी युवकका बुवा र लेखनदासलाई पक्राउ गरिएको हो । 

मिलापत्र गराउने काममा सलग्न रहेका पूर्ववडाध्यक्ष नईम भनिने लईस पठान, पीडित किशोरीकी आमा, आरोपी युवकका बुवा मोहम्मद सफिक पठान र मिलापत्रको कागजात लेख्ने लेखनदास रामबृक्ष कोहारलाई पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए । 

यशोधरा गाउँपालिका–५ का २६ वर्षीय ईलियास पठानले आफ्नै घरमा १९ वर्षीया एक किशोरीलाई गत वैशाख २१ जबरजस्तीकरणी गरेको आरोप छ । आरोपित पठान भने फरार छन् । घटना पश्चात पीडित किशोरीकै आमाले जाहेरी दिएपछि वैशाख २३ मा मुद्दा दर्ता भएको थियो । उक्त घटनामा पीडकविरुद्ध पक्राउ पुर्जी जारी गरेर अनुसन्धान भइरहेका बेला वैशाख २७ गते पीडित किशोरीकी आमासहित ५५ वर्षीय लईस पठान मिलापत्र गरेको कागज लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दुई परिवार बीच जग्गा विवाद हुँदा आरोपीलाई दु:ख दिन जबजस्तीकरणीमा फसाउन खोजिएको बताएका थिए । तर, प्रहरीले जबजस्तीरकणीलाई विषयान्तर गर्न जग्गा विवादको विषय देखाएर लेनदेन गरी अपराध ढाकछोप गर्न खोजेको दाबी गरेको छ । लेनदेनको विषय बाहिर आएपछि प्रहरीले आरोपी ईलियासका बुवा मोहम्मद सफिकलाई समेत नियन्त्रणमा लिएको थियो ।

सफिकको साथबाट प्रहरीले विभिन्न दरका १ लाख ३ हजार ५५० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ । सफिकले आफ्नो छोरालाई बचाउन पीडितकी आमालाई अनुचित लाभमा पारेर मुद्दा मिलाउने कार्यमा संलग्न रहेको खुलेको डिएसपी सिंहले बताए । दर्ता भइसकेको जाहेरीलाई मिलापत्रको कागज लेख्ने यशोधरा गाउँपालिका–८ का ४५ वर्षीय रामबृक्ष कहारलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

घटनामा पक्राउ परेका चार जनामाथि फौजदारी मुद्दामा मिलपत्र गराउन नपाउने शीर्षकमा अपराध संहिता २०७४ को दफा २२७ ‘क’ बमोजिम अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी सिंहले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully