कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले शनिबारदेखि उक्त क्षेत्रमा डोजर लगाएर अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काउन सुरु गरिएको बताए ।
What you should know
नेपालगन्ज — बाँकेको कोहलपुर–११ स्थित नगर विकास समितिको जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काउन थालिएको छ । नगरपालिकाले शनिबारबाट डोजर चलाएर घर–टहरा भत्काउन थालेको हो । केही परिवारले भने आफैं घर भत्काएर सामान ओसारिरहेका छन् ।
नगरपालिकाले आइतबार पुनः सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतबाट वैशाख २५ गते जारी भएको अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जमिनको हकमा लागू नहुने भएकाले कुनै भ्रममा नपरी बाँकी रहेका घर–टहरा तत्काल खाली गर्न आग्रह गरेको छ ।
नगरपालिकाले समितिको कोहलपुर ३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल जमिन (क्रिकेट मैदान आसपास) अतिक्रमण गरेर निर्माण गरिएका घर–टहरामा डोजर लगाएको हो । गत वैशाख १६ गते नगरपालिकाले सूचना जारी गरेर १० दिनभित्र उक्त जग्गा खाली गर्न अल्टिमेटम दिएको थियो । नगरपालिकाको सूचनापछि सर्वसाधारण सर्ने क्रम जारी छ ।
कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले शनिबारदेखि उक्त क्षेत्रमा डोजर लगाएर अतिक्रमण गरी बनाइएका घर–टहरा भत्काउन सुरु गरिएको बताए । शनिबार दुईवटा डोजर चलाएर ४० वटा घर भत्काइएको उनले बताए । ‘सरसामान लगेर खाली गराइएका घर–टहरामा डोजर चलाएका हौं,’ उनले भने, ‘अहिले सामान निकाल्ने क्रम जारी छ । ६/७ वटा डोजर चलाएर संरचना भत्काउने योजना छ ।’
नगरपालिकाले अस्थायी बसोबासका लागि होल्डिङ सेन्टरको समेत व्यवस्थापन गरिएको जनाएको छ । नगरपालिकाको सम्पर्कमा ७३ परिवार वास्तविक भूमिहीन सुकुमवासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
वर्षौंदेखि सार्वजनिक तथा सरकारी जग्गामा अतिक्रमण गरी बसोबास गर्दै आएका वास्तविक सुकुमवासी तथा भूमिहीन दलितको पहिचान प्रक्रिया पनि नगरपालिकाले सुरु गरेको छ । कोहलपुर–११ स्थित नगर विकास समितिको अतिक्रमित जग्गामा ७ सय ५१ घरधुरीका घर–टहरा रहेका छन् । फारम भरेका परिवारको पहिचान गर्दा भूमिहीन दलित १ सय ५३ र भूमिहीन सुकुमवासी १ सय ४१ जना रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार समितिको कोहलपुर–३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान) आसपास अतिक्रमण गरी निर्माण गरिएका घर–टहराको व्यक्तिगत लगत संकलनका क्रममा उक्त तथ्य फेला परेको हो । उनका अनुसार उक्त क्षेत्रमा ४ सय १६ अव्यवस्थित बसोवासी, १ सय ७२ भूमिहीन दलित र १ सय ६३ भूमिहीन सुकुमवासी गरी ७ सय ५१ घरधुरी बसोवास गर्दै आएका छन् ।
सम्बन्धित निकायसँग समन्वय गरी गरिएको प्रारम्भिक अध्ययनमा भूमिहीन दलिततर्फ ११ जना र भूमिहीन सुकुमवासीतर्फ एक जनाको अन्य जिल्लामा समेत जग्गा–जमिन रहेको देखिएको नगर प्रमुख आचार्यले जानकारी दिए । बस्ती विकास तथा बसोवासका क्रममा केही बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधिबारे उजुरी प्राप्त भएकाले सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको उनले बताए ।
२०८० चैत ५ गतेको बोर्ड बैठकको निर्णय अनुसार स्वघोषणासहित निवेदन आह्वान गरी लगत संकलन गरिएको र प्राप्त विवरण सुरक्षित राखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोवास गर्दै आएका भूमिहीन सुकुमवासीका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी गरिएको सूचनामा कोहलपुर–११ स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपास अतिक्रमित जमिनमा रहेका नागरिकलाई बसाइ व्यवस्थापनका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरिएको जनाइएको छ ।
