नेपाल पूर्ण रूपमा ग्रिनेड, सकेट बमको जोखिमबाट मुक्त भइसकेको छैन । बेवारिसे भेटिने बमबाट सर्वसाधारण र बालबालिकालाई बढी जोखिम हुन्छः अवकाशप्राप्त सहायक रथी सुरेश शर्मा
What you should know
काठमाडौँ — २३ फागुन ०५८ मा भगवती गौतम आफ्नो कामको सिलसिलामा रुकुमकोटबाट साविक सदरमुकारमा मुसिकोट आइरहेकी थिइन् । साँख भन्ने ठाउँमा आइपुगेपछि एक्कासि ठूलो विस्फोट भयो । उनी बहोस् भइन् । होस आउँदा उनी काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा थिइन् । उनलाई उपचारका लागि सुरक्षा निकायले काठमाडौं लगेको थियो । सर्वसाधारण हिँड्ने बाटोमा राखिएको बमले उनको खुट्टा उडाइसकेको थियो । जिउभरी बमको छर्रा लागेको थियो । गम्भीर घाइते भएकी उनी ६ महिना अस्पताल बसेर कृत्रिम खुट्टाको सहारामा घर फर्किइन् । त्यो घटनाले उनलाई अहिले पनि झस्काइरहेको छ ।
‘म बाटोमा हिँड्दै थिएँ । बम पड्किएपछि मैले केही थाहा पाइनँ । मेरो होस खुल्दा म शिक्षण अस्पतालको बेडमा थिएँ । बमले एउटा खुट्टा उडाइसकेको थियो । जिउमा बमका छर्रा थिए,’ उनले त्रासदीपूर्ण दिन सम्झँदै भनिन्, ‘युद्धमा लागेकाले थापेको धरापमा हामी सर्वसाधारण पर्दा दुःख पाइरहेका छौं ।’ अहिले पनि कतै बम फेला परेको खबर सुन्दा उनलाई डर लाग्छ ।
त्यस्तै ०८१ भदौ १३ मा पाँचथरको फलेलुङ गाउँपालिका-५ प्रङबुङस्थित ज्ञानबहादुर राईको घरको आँगनमा विस्फोटक पदार्थ पड्किँदा दुईजना बालबालिकाको मृत्यु भएको थियो । ज्ञानबहादुर राईको परिवार बस्दै आएको घरको आँगनमा भएको विस्फोटमा ज्ञानबहादुरका छिमेकी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवा र दुई वर्षीया छोरी प्रिन्सा साँवाको मृत्यु भएको थियो ।
०५२ देखि ०८२ असारसम्ममा बारुदी सुरुङ र बम विस्फोटमा ६ सय ५१ जनाको मृत्यु भएको थियो भने २,८९९ जना घाइते भएका थिए ।तत्कालीन विद्रोही शक्ति माओवादी नेतृत्वमा भएको १० वर्षे सशस्त्र युद्धका क्रममा बिच्छ्याइएका, लुकाइएका बारुदी सुरुङ, बम अहिले पनि भेटिइरहेका छन् । विस्तृत शान्ति सम्झौता र लडाकु समायोजन र हतियार व्यवस्थापन भएको वर्षौं बितिसक्दा पनि बस्तीमै बम भेटिँदा सर्वसाधारण त्रसित छन् । युद्धका डोबहरू मेटिँदै गए पनि युद्धरत पक्षले एकअर्कालाई प्रयोग गरेका हतियार र बम सर्वसाधारणका लागि घातक बनेको छ ।
सुरक्षा अधिकारीहरूले युद्धकालमा राखिएका बम फेला परेमा त्यसको जोखिम हुने भएकाले प्रहरीलाई खबर गर्नु सुरक्षित उपाय हुने बताएका छन् । पछिल्लो पटक वैशाख १९ मा सल्यानको शारदा नगरपालिका-३ बयलडाँडास्थित जिल्ला प्रहरी कार्यालयको हाताभित्र विभिन्न खालका ८६ वटा बम फेला परेको थिए । ती बम प्रहरीले शान्ति सम्झौतापछि संकलन गरी जमिनमुनि राखेको थियो । नयाँ भवनको जग खन्ने क्रममा बम भेटिएका थिए । ती बम सेनाको टोलीले निष्क्रिय पारेको थियो ।
त्यस्तै १२ पुस २०८२ मा रुकुम पश्चिम चौरजहारी-१ धिरजबहादुर क्षेत्रीको घरको जग खन्दा एउटा सकेट बम फेला परेको थियो । ६ जेठमा पनि रोल्पाको दहवननजिकै रहेको एक विद्यालय परिसरभित्र बेवारिस अवस्थामा २ वटा सकेट बम फेला भेटिएका थिए । रोल्पाको त्रिवेणी गाउँपालिका-२ नुवागाउँको भगवती माविको क्षेत्रभिक्र जमिनमुनि गाडेर राखिएको थियो ।
१८ मंसिर २०८१ चितवनको कालिका नगरपालिकामा दुईवटा ग्रिनेड बम फेला परेको थियो । कालिका नगरपालिका-३ चतुर्मुखी मन्दिर परिसरको जमिन खन्ने क्रममा बम भेटिएको थियो । ३० पुस २०७२ मा सल्यान कोर्बाङ झिम्पे-खर्सुबाङमा ३ सय ६० थान सकेट बम फेला परेको थियो ।
सुरक्षा निकायका अनुसार अझै पनि युद्धकालमा जमिनमुनि र दुर्गम क्षेत्रमा बम हुन सक्ने बताएकाले सावधानी आवश्यक भएको बताएका छन् ।
शान्ति सम्झौता भएपछि माओवादी लडाकुलाई प्रमुख ७ र सहायक २१ शिविरमा राखिएको थियो । त्यसबेला लडाकुका हतियार र अन्य युद्ध सामग्री शिविरमा जम्मा गरिएको थियो । नेपालका लागि संयुक्त राष्ट्र संघीय मिसन (अन्मिन) ले करिब ५२ हजार थान (करिब सात टन) विस्फोटक सामग्री संकलन गरेको थियो ।
२०६६ मा चितवनको शक्तिखोर, झापा, कैलाली, सुर्खेत, रोल्पाका शिविरमा अन्मिनको विज्ञ समूहले ती वम र काम नलाग्ने हतियार निष्क्रिय गरेका थियो । युद्धप्रभावित क्षेत्र रुकुम, रोल्पा, जाजरकोट, सल्यान, दाङ, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा अझै पनि जमिनमुनि बम हुन सक्ने विज्ञहरूको भनाइ छ ।
पाँचथर विस्फोट : घाइते दाजुबहिनीको मृत्यु
त्यस्तै सरकार र अन्मिनको टोलीले देशका सेना, प्रहरी र अन्य क्षेत्रका बारुदी सुरुङहरू हटाएको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय बारुदी सुरुङ नियन्त्रण टोली (अनमाट) ले नेपालका ७३ वटा बारुदी सुरूङ क्षेत्रहरू पूर्ण रूपमा हटाइएको घोषणा गरिएको थियो । २०६८ जेठ ३१ मा ललितपुरको फुलचोकी डाँडामा आयोजित विशेष समारोहमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र प्रधानसेनापति छत्रमानसिंह गुरुङले अन्तिम बारुदी सुरुङ विस्फोट गराएर त्यसको घोषणा गरेका थिए । संयुक्त राष्ट्रसंघीय बारुदी सुरुङ नियन्त्रण टोलीले सरकारलाई प्रमाणपत्र बुझाए । त्यति मात्र होइन, नेपाललाई बारुदी सुरुङरहित मुलुक नै घोषणा गरिएको थियो ।
बारुदी सुरुङ अभियान नेपालकी प्रमुख पूर्णशोभा चित्रकारले युद्ध र युद्धपछि करिब पाँच हजार व्यक्ति प्रत्यक्ष प्रभावित भएको बताइन् । 'ल्यान्ड माइन मनिटर र युनिसेफले ती घटनाको अनुगमन गरेको थियो,' उनले भनिन् ।
तत्कालीन गृहमन्त्री रमेश लेखकले राष्ट्रिय सभाको बैठकमा बारुदी सुरुङ र विस्फोटमा परी ६ सय ५१ को मृत्यु भएको जानकारी दिएका थिए । उनले नेपाल प्रहरीबाट प्राप्त तथ्यांक दिँदै वि.सं. २०५२ देखि २०८२ असारसम्ममा बारुदी सुरुङ र विस्फोटजन्य घटनाहरूमा ६ सय ५१ जनाको मृत्यु भएको थियो भने २ हजार ८ सय ९९ जना घाइते भएका थिए ।
२०६८ कात्तिक १५ मा सेनाले नै अघि सारेको प्रस्तावका आधारमा लडाकु समायोजन गर्नेसहित सरकार, संविधानलगायतका विविध विषयमा सहमति भएको थियो ।
नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी सरेश शर्माले युद्धका बेला राखिएका बम र विस्फोटक पदार्थबाट जोखिम हटिनसकेको बताए । ‘एक पटक सशस्त्र द्वन्द्व भएको मुलुकमा युद्धका अवशेष रहन्छन् । राज्य र विद्रोही पक्षले एकअर्काविरुद्ध प्रयोग गर्न बिछ्याएका बारुदी सुरुङ, ग्रिनेड, सकेट बम रहेका हुन्छन् । नेपालमा अझै पनि ग्रिनेड, सकेट बम भेटिइरहेका छन्,’ उनले भने, ‘शान्ति प्रक्रियापछि पनि मानवीय क्षति र घाइते भएक घटना छन् । नेपाल पूर्ण रूपमा ग्रिनेड, सकेट बमको जोखिमबाट मुक्त भइसकेको छैन । बेवारिसे रूपमा भेटिने बमबाट सर्वसाधारण र बालबालिकालाई बढी जोखिम हुन्छ ।’ चित्रकारले माओवादी युद्धकालमा राखिएका ग्रिनेड, सकेट बम, विस्फोटक पदार्थले सर्वसाधारण जोखिममा पर्ने भएकाले यसको पूर्ण नियन्त्रणका लागि सरकार सचेत हुनुपर्ने बताइन् ।
नेपाली प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायाण काफ्लेले द्वन्द्वकालीन अवस्थाका बम फाट्टफुट्ट फेला परे पनि समयमै निष्क्रिय गर्ने काम भइरहेको बताए । ‘हालसालै द्वन्द्वकालीन अवस्थामा फेला परेका बमबाट ठूलो घटना भएको छैन,’ उनले भने, ‘कहीँ कतै फेला परे प्रहरीलाई खबर गरे नेपाली सेनाले समयमै निष्क्रिय बनाउँदै आएको छ ।’
चितवनस्थित तत्कालीन माओवादी ३ नम्बर डिभिजन सहायक कमान्डर दीपक चलाउनेले युद्धका बेला खाल्डो खनेर राखिएका बम अझै पनि हुन सक्ने बताए । ‘बम बनाउने प्राविधिक टोलीले बनाएका बम विभिन्न जिल्लामा राखिन्थ्यो । प्रयोग नभएका बम खाल्डो (ड्रेन) खनेर राख्दा अझै बचेका हुन सक्छन्,’ उनले भने, ‘शान्ति प्रक्रिया सुरू भएपछि ती बम राखेकै ठाउँमा रहेकाले हाल फेला परेको देखिन्छ ।’
