परिणाम दिन सकेनौं भने हामी नालायक भएर निस्किन्छौं : रवि लामिछाने

‘पार्टी, विचार र सिद्धान्तका रुपमा हामी अलग हौंला, तर मुलुकमा राजनीतिक परिवर्तनको हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईं/हामीले अहिले पनि गर्नु परेन, भोलि पनि गर्नुपर्ने छैन । अब पाँच वर्ष हामीले काम गर्नुपर्नेछ ।'

वैशाख २७, २०८३

कान्तिपुर संवाददाता

If we fail to deliver results, we will emerge as incompetent: Ravi Lamichhane

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले आगामी पाँच वर्ष परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् । 

पार्टीका सांसदहरूका लागि आइतबार ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । ‘अहिले हामी ऐतिहासिक क्रान्तिबाट आएका छौं । यो क्रान्तिलाई पनि परिणाम दिन सकेनौं भने तपाईं/हामी नालायक भएर निस्किन्छौं ।’

उनले केही सांसदहरुले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफूकहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय भइनसकेको स्पष्ट पारे । ‘मलाई अहिले पनि साथीहरुले कहिलेकाहीं भन्नुहुन्छ– सभापतिज्यू म त सुरुवातदेखि लागेको, पार्टीमा योगदान छ भनेर । योगदानको मूल्य माग्न ढोका ढकढक्याउनुहुन्छ । मलाई दुःख लाग्छ । यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन साथीहरु । योगदान त अब दिने हो ।'

उनले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरे पनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको उल्लेख गरे । फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भए पनि अघिल्ला पुस्ताका नेताहरूले गरेको संघर्षकै जगमा यो क्रान्ति सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘पार्टी, विचार र सिद्धान्तका रुपमा हामी अलग हौंला, तर मुलुकमा राजनीतिक परिवर्तनको हिसाबले खनिएको त्यो जगमा गरिएको दुःख जस्तो दुःख तपाईं/हामीले अहिले पनि गर्नु परेन, भोलि पनि गर्नुपर्ने छैन । अब पाँच वर्ष हामीले काम गर्नुपर्नेछ ।'

उनले आफ्नो अभिव्यक्ति र क्रियाकलापहरुले आम नागरिकमा चोट पुग्ने कुरामा सचेत हुन सबै सांसदहरुलाई आग्रह गरे ।

कान्तिपुर

Link copied successfully