भाउ नपाउँदा जंगलमै कुहिन्छ बहुमूल्य गुच्छीच्याउ

पहिले प्रतिकिलो ४३ हजारसम्ममा बिक्ने गुच्छीच्याउको मूल्य हाल ९ देखि १३ हजारमा झरेपछि संकलनकर्ता निराश छन्।

वैशाख २६, २०८३

वसन्तप्रताप सिंह

Valuable bunches of mangoes rot in the forest for lack of value

What you should know

बझाङ — तीन वर्षअघिसम्म साइपाल गाउँपालिका–१ धलौनका जोवन बोहराको परिवार यतिबेला गुच्छीच्याउको खोजीमा जंगल–जंगल चहारिरहेका हुन्थे । दिनभरी जंगलमा गुच्छी च्याउ खोज्ने, सफा गर्ने र धागोमा उनेर माला जस्तै बनाएर सुकाउन परिवारका सबै सदस्य व्यस्त हुन्थे । 

जंगलमा सित्तैमा पाइने गुच्छीच्याउ सुकाएर बेच्दा राम्रै कमाइ हुन्थ्यो । ‘एकै ठाउँमा एक डोकोसम्म पनि भेटाएको छु,’ जोबनले भने ‘कुनै वर्ष त मेरै घरबाट तीन/चार किलोसम्म सुकाएको गुच्छीच्याउ पनि बेच्यौं ।’ उनले राम्रो मूल्य पाएको वर्ष च्याउ बेचेरै ८० देखि ९० हजारसम्म कमाएको सुनाए । ‘धेरै टिप्नेले त एक डेढलाखसम्मको पनि बेचे,’ उनले भने । 

सामान्यतया: वैशाखदेखि असारसम्म गुच्छीच्याउ टिप्ने सिजन भएकाले यो अवधिमा जोबनको परिवार दिनहुँजसो जंगल जान्थे । लेकको पाखो खेतबारीमा कमै उब्जनी हुने हुँदा गुच्छिच्याउ टिपेर महंगो मूल्यमा बेच्न पाउनु जोबन जस्तै अरु साइपालवासीका लागि आम्दानीको स्रोत थियो । तर केही वर्षयता भने साइपालका जंगलमा जताततै पाउने यो च्याउ स्थानीयले खोज्नै छोडेका छन् । 

संकलन भएको सबै च्याउ बिक्री नहुने र बिक्री भइहाले पनि पहिला जसरी राम्रो मूल्य पाउन छोडेपछि टिप्नै छाडेको उनीहरु बताउँछन् । पहिले सुकेको गुच्छीच्याउलाई प्रतिकिलो ४३ हजार रुपैयाँसम्म तिर्न तयार हुने व्यापारीले अहिले प्रतिकिलो ९ देखि १३ हजार रुपैयाँमात्रै दिन थालेपछि साइपालवासी च्याउ टिप्न निरुत्साहित भएका छन् । ‘चार/पाँच वर्ष पहिला तोला (११.६६ ग्राम)कै पाँच सय (किलोको करिब ४३ हजार)सम्म पनि बिक्री हुन्थ्यो । हुम्ला, जुम्लातिरका मान्छे च्याउ किन्न घरघरै आइपुग्थे,’ साइपाल-३ की रिना बोहराले भनिन्, ‘अहिले बाहिरबाट किन्ने मान्छे आउँदैनन् । गाउँका जडीबुटी व्यापारीले किने पनि तोलाको एक डेढ सय भन्दा बढी दिँदैनन् ।’ च्याउ खोज्नका लागि घरबाट निकै टाढाका जंगलमा जानु पर्ने, जंगली जनावरले आक्रमण गर्ने डर हुने र दु:ख गरे अनुसारको मूल्य नपाइने भएकाले स्थानीय संकलकले टिप्न छाडेको उनले बताइन् ।

Valuable bunches of mangoes rot in the forest for lack of value

गुच्छीच्याउ मनसुन सुरु हुनुअघि कुहिएका र सडेगलेका काठ दाउरा, पातपतिंगर जस्ता प्रांगारिक वस्तु थुप्रिएका जंगलमा उम्रने ढुसी वर्गको वनस्पति हो । पूरा नखोलिएको छाता आकार देखिने गुच्छीच्याउको माथिपट्टिको भागलाई अंग्रेजी भाषामा केपसुल र तलतिरको भागलाई स्टाइप भनिन्छ । स्टाइप दुईदेखि तीन सेन्टिमिटरसम्म मोटो हुने यो वनस्पति समुन्द्री सतहबाट १ हजार ८ सयदेखि ३ हजार ५ सय मिटर उचाइँका जंगलमा पाइन्छ ।

बझाङको झण्डै आधा क्षेत्रफल भूभाग ओगटेको साइपाल गाउँपालिकाका सबैजसो जंगलमा प्रशस्त पाइने भए पनि मूल्य पाउन छोडेपछि यसको संकलनमा भने स्थानीयको चासो घट्दै गएको छ । ‘अरु कामले जंगल गएका बेला कोही कोही खानका लागि टिप्छन्,’ साइपालको जिमा गाउँका धनलाल धामीले भने, ‘नटिपेको च्याउ जंगलमै कुहिन्छ ।’ यो च्याउ उम्रेको एक साताभित्रमा नटिपे कुहिएर नष्ट हुने उनले बताए । 

संकलन नहुँदा साइपालका जंगलमा जताततै कुहिएको भेटिने गुच्छीच्याउको मूल्य र माग विश्व बजारमा भने अत्यधिक छ । नेपालमा पनि प्रशस्त मात्रामा पाइने र यसको निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहेको जंगली च्याउबारे दुई दशकदेखि अनुसन्धान गरिरहेका शिव देवकोटाले बताए । ‘यो खेती नगरिने, जंगलमा प्राकृतिक रूपमा मात्र पाइने दुर्लभ च्याउ हो,’ देवकोटाले भने, ‘स्वाद मासु जस्तै हुने,  पौष्टिक तत्वले भरिपूर्ण भएकोले यसको माग युरोपतिर निकै बढी छ ।’

नेपालको हिमाली क्षेत्रमा पाइने जडीबुटीको अध्ययन र दिगो व्यवस्थापनमा काम गर्ने संस्था दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साव) ले गरेको अध्ययन अनुसार विश्वमा पाइने १४ प्रजातिकामध्ये नेपालका ८ प्रजातिका गुच्छीच्याउ संकलन गरिन्छ । यो च्याउ कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा बढी पाइने च्याउ अध्येता देवकोटाले बताए । यो च्याउ भोजपत्र, चिमाल, गोब्रेसल्ला, खस्रु जस्ता रुख भएको जंगलमा बढी मात्रामा पाइन्छ । 

Valuable bunches of mangoes rot in the forest for lack of value

गुच्छीच्याउलाई अंग्रेजीमा ‘मेरैल मसरुम’ भनिन्छ । यसको वैज्ञानिक नाम भने मोचैला हो । यसलाई नेपालीमा  गुच्छीच्याउ भन्ने गरिन्छ । बोलिचालीको भाषामा गुच्ची च्याउ, खोया च्याउ, फुइखाने च्याउ, छोहाडा च्याउ पनि भनिन्छ । यो विश्व बजारमा भने हिमालयन मसरुमका नामले प्रसिद्ध छ ।

चीन, भारत, पाकिस्तान, टर्की, मेक्सिको र अमेरिकामा व्यापक रूपमा कारोबार हुने गरेको सन् २०१९ मा ‘नेचुरल रिसोर्स इकोलोजी एण्ड म्यानेजमेन्ट’ नामको अन्तरराष्ट्रिय जर्नलमा प्रकाशित नेपालमा गुच्छीच्याउको व्यापार र संरक्षण शीर्षकको अध्ययनमा उल्लेख छ । नेपालबाट पनि वार्षिक रुपमा करिब ६.५ टन सुकेको गुच्छीच्याउ विदेश निर्यात हुने गरेको छ । जसमध्ये ५८ प्रतिशत कर्णाली र २९ प्रतिशत सुदूरपश्चिम प्रदेशबाट निर्यात हुने गरेको छ । विशेषगरी युरोप, अमेरिका, जापान र चीनको बजारमा बढी बिक्री हुने सुकेको गुच्छीच्याउको मूल्य प्रतिकिलो १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

भारतमा पनि यो च्याउ प्रतिकिलो ५० देखी ६० हजार भारुसम्म बिक्री हुने गरेको एन्साबका उपनिर्देशक पुष्प घिमिरेले बताए । ‘अहिले नेपालबाट सिधैं तेस्रोमुलक पठाउने खालको व्यापारिक सञ्जाल नहुँदा संकलकले सस्तो मूल्यमा भारतमा बिक्री गर्ने र भारतीय व्यापारीले तेस्रो मुलुकसम्म पठाउने गरेको देखिन्छ,’ गुच्छीच्याउको मूल्य नबढ्नुको कारणबारे उनले भने, ‘संकलकदेखि मुख्य व्यापारीसम्म पुग्दा थुप्रै तह हुन्छन् । त्यसैले संकलकले निकै कम मूल्य पाउने भएकाले पनि यसको संकलन हुन छाडेको हो । नेपालबाट सिधै तेस्रो मुलक निर्यात गर्न सकियो भने संकलक र व्यापारीले राम्रो मूल्य पाउन सक्ने सम्भावना छ ।’ 

बझाङको उत्तरी हिमाली तथा पहाडी भूभागमा पाइने यो च्याउ जंगलमा धेरै पाइने भए पनि संकलन गर्न स्थानीयले चासो नदिने गरेको जडीबुटी व्यापारीहरु बताउँछन् । ‘चार/पाँच वर्ष अघिसम्म मैले प्रत्येक वर्ष ५०/६० किलो सुकेको च्याउ बिक्री गर्थे,’ जडीबुटी व्यापारी समेत रहेका साइपाल गाउँपालिका पूर्वअध्यक्ष राजेन्द्र धामीले भने, ‘आजभोली किन्ने मान्छे भेटिँदैनन् । गुच्छीच्याउ टिप्ने र यार्सा टिप्ने सिजन पनि सँगै सुरु हुने भएकाले मानिसहरु च्याउ भन्दा (बढी कमाई हुने भएर) यार्सातिरै बढी लाग्छन् । च्याउ जंगलमै कुहिन्छ ।’

उनले साइपालमा मात्रै प्रतिवर्ष १ सय किलो भन्दा बढी सुकेको गुच्छीच्याउ संकलन गर्न सकिने बताए । 
डिभिजन वन कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ६५ किलो सुकेको गुच्छीच्याउ जिल्ला बाहिर निकासी भएको देखिन्छ । वनको तथ्यांक अनुसार अन्तिम पटक आर्थिक वर्ष २०७९/०८० मा १५ किलो निकासी भएको छ । त्यसयता अनुमति लिएर निकासी भएको देखिँदैन । सानो परिमाणमा ओसारपसार गर्नेहरुले अनुमति नलिने भएकोले वनको रेर्कडमा कम देखिएको र २०७६ साल अघिसम्म बढी संकलन हुने गरेको साइपालका पूर्वअध्यक्ष धामीको भनाई छ । 

साइपालका स्थानीयका लागि आम्दानीको भरपर्दो स्रोत हुन सक्ने गुच्छीच्याउको उपयुक्त बजार खोज्न नसक्दा जंगलमै कुहिनु दुर्भाग्यपूर्ण भएको भए पनि यसको बजारीकरणमा स्थानीय सरकारले समेत उपाय खोज्न सकेको छैन । ‘च्याउ पनि प्रशस्त छ, अरु देशमा महंगोमा बिक्री पनि हुन्छ पनि भन्छन्, तर कसरी बिक्री गर्ने भन्ने उपाय हामीसँग छैन,’ साइपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले भनिन्, ‘विदेशतिर पठाउन सके यो च्याउ नै स्थानीयको रोजगारी र आम्दानीको माध्यम हुने थियो । आइडिया थाहा नहुँदा त्यसै कुहिने गरेको छ । यो हाम्रो दुर्भाग्य हो ।’ उनले च्याउको बजार खोज्नका लागि पालिकाले काठमाडौंका विभिन्न व्यापारीहरुसँग सम्पर्क गरे पनि भने जस्तो मूल्य दिने मानिस नभेटिएको बताइन् । 

सन् २०१९ को नेपालमा गुच्छीच्याउको व्यापार र संरक्षण शीर्षकको अध्ययनले भने नेपालले चीन, भारत, पाकिस्तान, भुटानलगायत एसियाली देशका आपुर्तीकर्तासित गुच्छीच्याउको दिगो उपयोग र संरक्षणबारे क्षेत्रीय मञ्चको विकास गरेर बजारीकरण प्रवर्द्धन गर्न सके हिमाली बस्तीका स्थानीयले प्रचुर मात्रामा आर्थिक लाभ उठाउन सक्ने निष्कर्ष निकालेको छ। 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully