कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल

कानुन दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्त्वमाथि जोड दिए ।

वैशाख २६, २०८३

न्युज एजेन्सी नेपाल

Law should be fear for the guilty and hope for the innocent: President Poudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा हुनुपर्ने बताएका छन् ।

कानुन दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्त्वमाथि जोड दिए ।

'कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ । विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तल-माथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सनु हुन्न,' राष्ट्रपति पौडेलले भने, 'त्यसैले सुशासन, अमनचैन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार तथा उपचार दुवै हुन् भनेर सम्झने र बुझ्ने पुनीत दिनलाई नै कानुन दिवसका रूपमा मनाइन्छ ।'

कानुन दिवसको यही मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने उनले बताए । उनले भने, 'नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शिघ्र व्यवस्थापनमार्फत छिटो छरितो न्याय सम्पादन गर्ने, विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्यमान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताका लागि यो कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।'

न्युज

Link copied successfully