काठमाडौँ — सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् ।
कानुन दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भिक भएर न्याय सम्पादन गर्न आह्वान गरिन् । उनले न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् ।
उनले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराइन् । विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिबद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उनको भनाइ छ ।
एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउने उनले स्पष्ट पारिन् ।
यी हुन् कामु प्रधानन्यायाधीश मल्लको सम्बोधनका मुख्य ५ बुँदा
- डर र प्रभावमा स्वच्छ न्याय सम्भव छैन । डर र भयबाट मुक्त भई अदमय साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायाकर्मीहरूलाई अनुरोध गर्दछु ।, म आफैँले जीवनभर विभेद र अन्याय विरुद्ध लडे। लडाई आजपनि बाँकी नै छ । सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भई काम गर्न हामी सबैलाई प्रेरणा देओस्।
- न्यायको अन्तिम गन्तव्य बनाउनुको साटो आफ्नै स्वार्थहरूको संरक्षण गर्न मुकुण्डो बनाउने कुत्सित प्रयासमा त लागेका छैनौं भन्ने प्रश्न उठिरहेको छ ?
- कतै अख्तियारी र विधिको प्रयोगको वहानामा संवैधानिक सर्वोच्चता, स्वतन्त्रता र न्यायको सार्वभौमतामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अकर्मण्य बनाएर आज्ञाकारी न्यायपालिकाको र कानुनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयासरत छैनौं भन्ने प्रश्न उठिरहेको छ ?
- संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम–क्रान्ति वा परिवर्तन हुन सक्दैन । संविधान विरुप पारेर संविधानको सरोकारवाला सञ्चालकहरूको रुप शीङ्गार्न सकिदैन । संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको बफादार कार्यान्वयन गर्न सकिदैन ।
- संरचना भत्काएर परिवर्तन रोज्ने नयाँ बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको धित त मर्ला तर विधि र विधिसंगत अपेक्षा राख्नेहरूको स्वप्न भङ्ग हुने तय छ। विधि र वैधानिक परम्पराको हत्या गरेर गरिने स्वार्थ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को दिलाउँछ औचित्यको नाममा विधिमा छेडकानी गर्ने कार्य स्वेच्छाचारिता स्वभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सह्य हुँदैन ।
कानुन दिवसको अवसरमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको मन्तव्यको पूर्ण अंश