‘अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित छैन; यो नागरिकको दैनिक जीवनसँग जोडिएको छ,’ उनले भने ।
काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भुमिका अपरिहार्य रहेको बताएका छन् ।
नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लूए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित नरहेको बताएका हुन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू नेपालको कूटनीतिक प्राथमिकता रहेको उनले बताए ।
‘आजको बदलिँदो परिस्थितिमा नेपालले आफ्नो सार्वभौमसत्ता अक्षुण्ण राख्दै विश्व बजारमा आफ्नो अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने चुनौती छ । यस्तो अवस्थामा एनसीडब्लुएजस्ता स्वतन्त्र र गैर–राजनीतिक थिंक ट्याङ्कको भूमिका अझै महत्वपूर्ण भएको छ । अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित छैन; यो नागरिकको दैनिक जीवनसँग जोडिएको छ,’ उनले भने ।
सन् १९४८ मा स्थापित यस संस्थाले नेपालको कूटनीतिक विकासक्रममा एक सचेत पहरेदारको रूपमा कार्य गर्दै आएको मन्त्री खनालले उल्लेख गरे ।
