‘जनताको आवाज दबाएर होइन, उनीहरूको समस्या बुझेर समाधान खोज्नुपर्छ,’उनले भने, ‘लोकतन्त्रमा जनता नै केन्द्रमा हुनुपर्छ ।’
सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा संरक्षणका नाममा भूमिहीन सुकुमवासीमाथि अन्याय र ज्यादती नगर्न सुझाव दिएका छन्।
शुक्रबार वीरेन्द्रनगर नगरपालिका को ५०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र सम्मानित महसुस गर्न पाउनुपर्ने बताए । पछिल्लो समय सुकुम्बासी बस्ती हटाउने अभियानका कारण सर्वसाधारण त्रसित बनेको उनको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले वास्तविक अवस्था र नागरिकको जीवनस्तर अध्ययन नगरी डोजर चलाउने कार्य उचित नहुने बताए । ‘जनताको आवाज दबाएर होइन, उनीहरूको समस्या बुझेर समाधान खोज्नुपर्छ,’उनले भने, ‘लोकतन्त्रमा जनता नै केन्द्रमा हुनुपर्छ ।’
उनले भूमिहीन तथा सुकुमवासीको समस्या तत्काल समाधान हुने विषय नभएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक नीति आवश्यक रहेको धारणा राखे । सरकारी जग्गा संरक्षण अभियान सञ्चालन गर्दा मानवीय संवेदनालाई समेत प्राथमिकतामा राख्नुपर्ने उनको जोड थियो ।
मुख्यमन्त्री कँडेलले २१ फागुनको निर्वाचनपछि बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला जनजीविकाको सवाललाई बेवास्ता गर्न नहुने बताए ।
उनले रास्वपाले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै आगामी बजेटमा कर्णालीका आवश्यकता र प्रदेश सरकारले संघीय सरकारसमक्ष राख्दै आएका योजनालाई प्राथमिकता दिन आग्रह गरे ।
