मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको नयाँदिल्लीले नेपाललाई जानकारी गराएको छ । यद्यपि दिल्लीले भ्रमण सर्नुको वास्तविक कारण भने खुलाएको छैन ।
What you should know
काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिश्रीको भ्रमण स्थगन भएको छ । सरकारी उच्च स्रोतका अनुसार आगामी मे ११ देखि हुने भनिएको २ दिने भ्रमण हाललाई स्थगित गरिएको हो ।
नेपालमा वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै दिल्लीले विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने निर्णय गरेको थियो । नयाँ सरकारका प्राथमिकता र द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम दिने तरिकाले मिश्रीको भ्रमण हुन लागेको भनिए पनि अहिलेलाई सारिएको हो । मिश्रीको अन्य प्रतिबद्धताका कारण भ्रमण सारिएको नयाँदिल्लीले नेपाललाई जानकारी गराएको छ । यद्यपि दिल्लीले भ्रमण सर्नुको वास्तविक कारण भने खुलाएको छैन ।
परराष्ट्र मन्त्रालयले भने भ्रमण सर्नुको पछाडि मुख्यगरी २ कारण हुन सक्ने जनाएको छ । परराष्ट्रका एक अधिकारीले भारतीय विदेश सचिव मिश्रीले भ्रमणका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत भेट्न चाहेको तर प्रधानमन्त्री शाह अनिच्छुक रहेको बताउँछन् । बारम्बार भेटघाटको प्रबन्ध मिलाउन भारतीय पक्षबाट आग्रह आए पनि प्रधानमन्त्री शाहले अस्वीकार गरेकाले मिश्रीको भ्रमण सरेको हुन सक्ने उनको बुझाइ रहेको छ । त्यस्तै हालै लिपुलेकका बारेमा देखिएको नेपाल र भारतबीचको सीमा विवादका बीच पनि मिश्री काठमाडौं आउन नचाहेको उनको आकलन छ ।
भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको तयारी थालेको छ । भारत र चीनले कोभिड–१९ महामारीयता स्थगित मानसरोवर यात्रा आगामी जुनदेखि अगस्टसम्म पुनः सुरू गर्न सहमति गरेका छन् ।
यो विषयमा नेपाललाई भने कुनै जानकारी दिइएको छैन । २१ फागुनको निर्वाचनपछि आएको नयाँ सरकारले उक्त निर्णयको विरोध गर्दै ‘कूटनीतिक नोट’ मार्फत आफ्नो पुरानो अडान दोहोर्याएको छ ।
नेपालले सीमाको विषयमा दुवै छिमेकीप्रति असन्तुष्टि जनाएको यो पहिलो पटक भने होइन । सन् २०१५ यता मात्र नेपालले एकतर्फी रूपमा आफ्नो भूमि प्रयोग गरिएको विषयमा भारत र चीनलाई चार पटकसम्म कूटनीतिक नोट पठाइसकेको छ । सँगै उच्चस्तरीय राजनीतिक भेटमा पनि नेपाली पक्षले यो विषय उठाउँदै आएको छ । तर, भारत र चीन दुवैले नेपालको चासोलाई बेवास्ता गर्दै आएका छन् ।
अप्रिल अन्तिम साता मौरिससमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच भएको भेटवार्तामा भारतले विदेश सचिवलाई काठमाडौं पठाउन चाहेको जानकारी गराएको थियो । त्यसपछि भारतले भ्रमणका लागि मे ११ र १२ को मिति प्रस्ताव गरेको थियो । परराष्ट्र सचिव अमृतबहादुर राईले त्यसपछि औपचारिक निमन्त्रणा पठाएका थिए ।
मिश्रीले नै प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिने अपेक्षासमेत गरिएको थियो । परराष्ट्र मन्त्री खनालले समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भ्रमणको निम्तो प्रधानमन्त्री शाहले स्वीकार गरेको जानकारी दिएका थिए । भ्रमणबारे दुवै पक्षबाट कुनै घोषणा नभए पनि नयाँदिल्ली र काठमाडौंमा भने तीव्र पारिएको थियो ।
प्रधानमन्त्री शाहले विदेश मन्त्री वा प्रधानमन्त्रीभन्दा तलको अधिकारी वा नेतासँग भेट्न अस्वीकार गर्दै आएका छन् । यसअघि उनले दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र सहायक विदेशमन्त्री कपुरलाई पनि प्रधानमन्त्री शाहले भेटेका थिएनन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार भारत, चीन र अमेरिकाका वरिष्ठ अधिकारीहरूसँग भेटघाट गरी दशकौँदेखि नेपाललाई सहयोग र समर्थन गर्दै आएका मुलुकहरूसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्न अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री खनालले गरेको आग्रहलाई शाहले बेवास्ता गरेका छन् ।
