भारतीय विदेश सचिव मिश्री काठमाडौं आउँदै

भारतीय पक्षबाट ३०–३१ वैशाखको मिति प्रस्ताव, नेपालको नयाँ सरकारका प्राथमिकता र दिल्लीबाट गरिएका अपेक्षाबारे परामर्श हुने

वैशाख १४, २०८३

अनिल गिरी

Indian Foreign Secretary Mishri arriving in Kathmandu

What you should know

काठमाडौँ — वालेन्द्र शाहको नेतृत्वमा १३ चैतमा नयाँ सरकार गठन भएयता काठमाडौंले छिमेकी र अमेरिकाका उच्च अधिकारीहरूको आतिथ्य गर्ने क्रम जारी छ । अमेरिका र चीनबाट उच्च अधिकारीको भ्रमण भएलगत्तै नयाँदिल्लीले पनि सरकारसँग सम्बन्ध विस्तार गर्न वैशाख अन्तिम साता उच्च अधिकारीलाई काठमाडौं पठाउने भएको छ ।

परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतीय पक्षले विदेश सचिव विक्रम मिश्रीको भ्रमणका लागि ३०–३१ वैशाखको मिति प्रस्ताव गर्दै पत्राचार गरेको छ । भ्रमणलाई औपचारिकता दिन परराष्ट्र सचिव अमृतबहादुर राईका तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाउनुपर्ने हुन्छ । भारतीय पक्षको प्रस्तावको जवाफमा परराष्ट्र सचिव राईले औपचारिक निम्तो पठाइसकेको सरकारी अधिकारीहरूले बताएका छन् । 

यसअघि २७ चैतमा मोरिससमा नवौं हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशकंरलाई भेटका थिए । उक्त भेटमा आगामी दिनमा दुवैतर्फबाट हुने उच्चस्तरीय भ्रमणअघि नेपालका प्राथमिकताका आयोजना र कार्यक्रमलाई टुंगो लगाउने विषयमा छलफल भएको थियो । 

खनालसँगको भेटमा भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भ्रमणलाई उपलब्धिमूलक बनाउन नयाँ सरकारका प्राथमिकता बुझ्नु आवश्यक रहेकाले त्यसका लागि विदेश सचिव मिश्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए । 

मिश्रीको काठमाडौं भ्रमणका एजेन्डा भने सार्वजनिक भइसकेका छैनन् । भ्रमणबारे जानकार अधिकारीहरूका अनुसार मिश्रीले काठमाडौंमा रहँदा नयाँ सरकारको प्राथमिकता र दिल्लीबाट गरिएको अपेक्षाबारे परामर्श गर्नेछन् । 

शनिबार नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको अन्तरक्रियामा मिश्रीले आफू ‘निकै चाँडै’ काठमाडौं जाने बताएका छन् । उनले काठमाडौं आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तोसमेत हस्तान्तरण गर्ने अनुमान छ । त्यस्तै केही प्रभावशाली मन्त्री र समकक्षी राईसँग नेपाल–भारत सम्बन्धमा समग्र विषयमा छलफल गर्नेछन् । 

‘म चाँडै नै काठमाडौं जाँदै छु तर अहिलेसम्म मिति तय भएको छैन,’ नेपाली संसदीय मामिला पत्रकारसँगको भेटमा उनले भने । भारतीय विदेश मन्त्रालयको निम्तोमा दिल्लीमा रहेका नेपाली पत्रकारले भारतीय विदेश सचिव मिश्रीसँग अन्तरक्रिया गरेका हुन् । परराष्ट्र अधिकारीहरूका अनुसार मन्त्री खनालले नेपालमा भारतीय सहयोगका आयोजनाहरूको अवस्था, प्रगति र देखिएका अवरोध तथा सहयोगका नयाँ क्षेत्रबारे मन्त्रीहरूसँग पालैपालो छलफल गरिरहेका छन् । 

खनाल र जयशंकरबीच मोरिससमा भएको भेटमा उच्चस्तरीय भ्रमण र बैठकअघि आआफ्ना प्राथमिकतालाई केन्द्रमा राख्दै द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने र सहयोगका नयाँ क्षेत्र पहिल्याउने सहमति भएको थियो ।

भारतीय विदेश सचिव मिश्रीको प्रधानमन्त्री शाहसँग भेट हुने/नहुने टुंगो छैन । यसअघि नेपाल भ्रमणमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि सहायक विदेशमन्त्री समीर पल कपुरलाई प्रधानमन्त्री शाहले भेटेनन् । 

अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री खनालले नेपाललाई दशकौंदेखि सहयोग र साथ दिँदै आएका भारत, चीन र अमेरिकाजस्ता मुलुकसँग सौहार्द सम्बन्ध बनाउन ती मुलुकका उच्च अधिकारीलाई भेट दिन प्रधानमन्त्रीलाई आग्रह गर्दै आएका छन् । 

नेपाल र भारतबीच जिल्लादेखि परराष्ट्रमन्त्री तहमा सुरक्षा, जलस्रोत, सिँचाइ, सीमा व्यवस्थापन, व्यापार, वाणिज्य र कृषिलगायतका करिब तीन दर्जन संयन्त्र छन् । यीमध्ये केही संयन्त्रका बैठक नियमित रूपमा हुने गरेका छन् भने केहीको वर्षौंदेखि भएको छैन । त्यस्तै भारतको आर्थिक र प्राविधिक सहयोगमा नेपालमा दर्जनौं आयोजना र कार्यक्रम सञ्चालनमा छन् । तीमध्ये केही प्रगति उत्साहजनक छ भने केहीमा लक्ष्यअनुसार काम हुन सकेको छैन । 

मोरिससमा भएको सहमतिअनुसार परराष्ट्र मन्त्रालयले नेपालका प्राथमिकता तय गर्न गृहकार्य गरिरहेको छ । त्यसका लागि मिश्री काठमाडौं आउनुअघि विभिन्न तहमा थप बैठक हुने अधिकारीहरूको भनाइ छ । ती अधिकारीका अनुसार मिश्रीले दिल्ली फर्केपछि त्यहाँको राजनीतिक नेतृत्वसँग काठमाडौंमा प्राप्त प्राथमिकता सूचीका विषयमा छलफल गर्नेछन् । त्यसले उच्चस्तरीय भ्रमणका लागि वातावरण निर्माण गर्ने उनीहरूको भनाइ छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully