महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार फ्रान्सको पेरिसमा मे ४ देखि ७ सम्म सम्पन्न आईएफजेको विश्व सम्मेलनले उक्त निर्णयप्रति चिन्ता व्यक्त गर्दै संकल्प पारित गरेको हो ।
काठमाडौँ — सरकारी सञ्चारमाध्यमलाई मात्र सरकारी विज्ञापन दिने निर्णयलाई तत्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले आग्रह गरेको छ ।
महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार फ्रान्सको पेरिसमा मे ४ देखि ७ सम्म सम्पन्न आईएफजेको विश्व सम्मेलनले उक्त निर्णयप्रति चिन्ता व्यक्त गर्दै संकल्प पारित गरेको हो ।
‘सरकारी खर्च कटौती गर्ने बहानामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २०८२ चैत १८ गते सबै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने गरी जारी गरिएको निर्देशनप्रति सम्मेलनले गहिरो चिन्ता व्यक्त गरेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अनुसार सम्मेलनले उक्त निर्णयले सम्पादकीय स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र समग्र पत्रकारिताको स्वायत्ततामा प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ । ‘राज्यको विज्ञापन विनियोजनले सरकारी सञ्चारमाध्यमलाई आर्थिक रूपमा बलियो बनाउन सके पनि यसले सूचना प्रवाहमा एकाधिकार कायम गर्ने र सञ्चार क्षेत्रमा सरकारी नियन्त्रण बढाउने खतरा रहेको’ सम्मेलनको ठहर रहेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिअनुसार सम्मेलनले विज्ञापन धेरै सञ्चारमाध्यमहरूको आम्दानीको प्रमुख स्रोत भएकाले सरकारको उक्त निर्णयले स्वतन्त्र सञ्चारमाध्यमको आर्थिक दिगोपना, पत्रकारहरूको जीविकोपार्जन र नागरिकको सूचनामा पहुँचको अधिकारमा प्रत्यक्ष नकारात्मक असर पार्ने जनाएको छ ।
महासंघका अनुसार आईएफजे सम्मेलनले नेपाल सरकारलाई उक्त नीति तत्काल फिर्ता लिन, सबै सञ्चारमाध्यमलाई सार्वजनिक विज्ञापनमा समान पहुँच सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कानुनी वा नियामक कदम नचाल्न आग्रह गरेको छ ।
सम्मेलनमा महासंघका तर्फबाट अध्यक्ष निर्मला शर्मा सहभागी भएकी थिइन् ।
