अमेरिकाकै ठूलो बैंक जेपी मोर्गन चेसमा पूर्ववरिष्ठ उपाध्यक्ष रहेका चिरायु राणाले आफ्नी एक पूर्वमहिला सहकर्मीमाथि यौन दूराचार, रंगभेद र पेशागत शोषणको आरोप लगाएका हुन् ।
काठमाडौँ — नेपाली मुलका अमेरिकी बैंकरले विश्वकै एक शक्तिशाली वित्तिय संस्थाविरूद्ध हालेको मुद्दा अहिले अमेरिकामा चर्चामा छ । अमेरिकाकै ठूलो बैंक जेपी मोर्गन चेइसमा पूर्ववरिष्ठ उपाध्यक्ष रहेका चिरायु राणाले आफ्नी एक पूर्वमहिला सहकर्मीमाथि यौन दूराचार, रंगभेद र पेशागत शोषणको आरोप लगाएका हुन् । गत साता न्यूयोर्कको अदालतमा उनले यो मुद्दा दायर गरेका हुन् ।
बेलायती सञ्चारमाध्यम डेली मेलले पहिलोपटक खुलासा गरेको समाचारमा आरोप-प्रत्यारोपहरु अत्यन्तै गम्भीर रहेको उल्लेख छ । यो प्रकरणलाई पोडकास्टदेखि प्राइम–टाइम टेलिभिजन प्रस्तोतासम्मले सनसनी बनाएर प्रस्तुत गरिरहेका छन् ।
यो घटनाले अमेरिका वा विदेश बसेका वा बसेर फर्किएका धेरै नेपालीहरूलाई प्रवासको कठिन अनुभव सम्झना गराउँछ । मुख्यत: श्वेत व्यक्तिहरू हाबी भएको व्यवसायिक वातावरणमा आफ्नो जातीय पहिचान सम्हाल्दै काम गर्नुपर्ने बाध्यता, कार्यस्थलमा हुने शक्ति–सम्बन्धको जटिलता र कुनै घटना बिग्रिँदा दक्षिण एसियाली व्यवसायी वा पेशाकर्मीहरूमाथि सार्वजनिक रूपमै गरिने सुक्ष्म निगरानी यसले स्मरण गराउँछ । अहिलेसम्म राणाले लगाएका कुनै पनि आरोप पुष्टि भइसकेको छैन । यसबारे अदालतमा सुनुवाई सुरु भइसकेको छैन ।
अहिलेसम्म थाहा भएका मुख्य तथ्यहरू यसप्रकार छन् ।
चिरायु राणा को हुन् ?
वित्तिय क्षेत्रमा कार्यरत ३५ वर्षका राणाका अभिभावक बसाई सरेर अमेरिका गएका थिए । भर्जिनियामा हुर्किएका राणासँग अमेरिकाका ठूला वित्तिय कम्पनी क्रेडिट सुइस, द कार्लाइल ग्रुप, मोर्गन स्ट्यान्ली र जेपी मोर्गनलगायतमा काम गरेको अनुभव छ । विवाद बाहिरिनुअघि पछिल्लो समय उनी न्युयोर्कस्थित निजी इक्विटी कम्पनी ब्रेगाल सेजमाउन्टमा ‘प्रिन्सिपल’ पदमा कार्यरत थिए ।
जेपी मोर्गनमा के भयो ?
अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलका अनुसार, राणा मे २०२४ मा जेपी मोर्गनको लेभरेज्ड फाइनान्स टिममा वरिष्ठ उपाध्यक्षको रूपमा प्रवेश गरेका थिए । मे २०२५ मा उनले बैंकको मानव संसाधन विभागमा निवेदन दिँदै आफ्नै एक वरिष्ठ सहकर्मीमाथि जातीय भेदभाव तथा यौन दुराचारको आरोप लगाए । यो गुनासोपछि बैंकले आन्तरिक छानबिन थालेर उनलाई तलबसहित बिदामा राखेको थियो ।
जर्नलका अनुसार बैंकले महिनौँसम्म अनुसन्धान गरे पनि गम्भीर आरोप प्रमाणित गर्न पर्याप्त ठोस तथ्य नपाएको दाबी गरेको छ । त्यस्तै राणाले पनि यस प्रक्रियामा पूर्ण सहयोग नगरेको बैंकको आरोप छ ।
आन्तरिक अनुसन्धानमा चित्त नबुझेपछि राणाले बैंक छाडे र अक्टोबर २०२५ मा ब्रेगाल सेज माउन्टमा प्रवेश गरे । तर यस वर्षको अप्रिलको सुरुवातमै उनलाई त्यहाँबाट पनि कामबाट हटाइएको छ ।
उक्त रोजगारी गुमाएको केही समयमै राणाका वकिलहरूले न्यूयोर्क राज्यको अदालतमा मुद्दा दायर गरे। सुरुमा ‘जोन डो’ नामको छद्म नाम प्रयोग गरी मुद्दा दायर गरिएको थियो, उक्त गोप्य रिट दायरकर्ता राणा नै रहेको खुलासा सबैभन्दा पहिले न्युयोर्क पोस्टले गर्यो । मुद्दामा जेपी मोर्गनको लेभरेज्ड फाइनान्स डिभिजनकी ३७ वर्षीया कार्यकारी निर्देशक लोर्ना हाजिनीमाथि यौन दुराचार, जातीय उत्पीडन, लागूपदार्थ सेवन गराएको तथा पेशागत शोषण गरेको आरोप लगाइएको छ।
दस्तावेजमा उल्लेख भएअनुसार, हाजिनीले पटक–पटक यौन सम्बन्धको माग गरेकी थिइन् ।अस्वीकार गरेमा राणाको करिअर नष्ट गरिदिने धम्की उनले दिइन् र बैंकमा काम गरेको अवधिभर उनलाई जातीय गाली–गलौज पनि गरेको राणाको आरोप छ । 
यो कथा कसरी भाइरल बन्यो?
यो मुद्दा भाइरल हुनुका विभिन्न कारण छन् । पहिलो, अदालतमा पेश गरिने सामान्य कानुनी कागजातको तुलनामा यसमा उल्लेख भाषा दृश्यात्मक रुपमा व्याख्या गरिएको थियो। दोस्रो, कार्यस्थल उत्पीडनका अधिकांश प्रकरणहरूमा देखिने परम्परागत ढाँचा (पुरुष आरोपी, महिला पीडित) विपरीत यसमा पुरुष पीडित र महिला आरोपित थिए ।
मुद्दामा वर्णन गरिएका दृश्यहरूलाई आधार बनाएर तयार पारिएका एआई–निर्मित भिडियोहरू सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममा द्रुत गतिमा फैलिएका छन् । न्यूयोर्क पोस्टलगायत ट्याब्लोयड पत्रिकाको कभरेजले यसलाई थप सनसनी बनायो । जो रोगन, मेगन केलीजस्ता हाई–प्रोफाइल टिप्पणीकारहरूले पनि यस विषयमा सार्वजनिक धारणा राखेका छन् ।
जेपी मोर्गनको प्रतिक्रिया के छ ?
बैंकले सुरुदेखिनै यी सबै आरोप अस्वीकार गरेको छ। जेपी मोर्गनले जर्नललाई दिएको प्रतिक्रियामा धेरैजना कर्मचारीसँग कुराकानी गरेर आन्तरिक छानबिन गरिएको र आफूहरूले यी दाबीहरूमा कुनै विश्वसनीयता नदेखेको बताएको छ।
जेपी मोर्गनका प्रवक्ताका अनुसार लोर्ना हाजिनीले आफ्ना वकिलहरूसँग राणाले लगाएका सबै आरोप अस्वीकार गरेकी छन्। राणासँग कुनै पनि प्रकारको यौन वा प्रेमसम्बन्ध नभएको र उनले बनाएका कथा पूर्ण रुपमा बनावटी रहेको उनले वकिलहरूसँग बताएका छन्
मेलमिलापबारे पछिल्लोपटक के भइरहेको छ ?
जर्नलले सार्वजनिक गरेको नयाँ जानकारी अनुसार, यो प्रकरण सार्वजनिक हुनुअघि नै जेपी मोर्गनले यसलाई शान्त ढङ्गले मिलापत्रबाट टुंग्याउने प्रयास गरिसकेको थियो । २०२६ को मार्च महिनामा, केही हप्तासम्म चलेको मध्यस्थतापछि बैंकले रानालाई १० लाख अमेरिकी डलर दिन प्रस्ताव गरेको थियो ।
जुन रकम जेपी मोर्गनमा उनको दुई वर्षको तलबभन्दा पनि कम हो । राणाले उक्त प्रस्ताव न आधिकारीक रुपमा स्वीकारेका छन्, न त अस्विकार गरेको कुनै प्रमाण नै छ ।
अप्रिलमा राणाका वकिलहरूले कम्पनीलाई फर्काएको जवाफमा १ करोड १७ लाख ५० हजार अमेरिकी डलर (११.७५ मिलियन) क्षतिपूर्ति माग गरिएको छ । जेपी मोर्गनले यो प्रस्ताव अस्वीकार गरेको केही समयमै सार्वजनिक रूपमा मुद्दा दर्ता भयो।
जर्नललाई जेपी मोर्गनले पठाएको विज्ञप्तिमा कम्पनीले आफ्ना कर्मचारीलाई प्रतिष्ठामा क्षति पुग्नबाट जोगाउनका लागि सहमतिको प्रयास गरिएको दाबी गर्यो । तर आधारहरु तर्कसंगत नरहेको दाबी दोहोर्याएको छ ।
मुद्दा अहिले कुन अवस्थामा छ ?
मुद्दा अहिले पनि जारी छ । जेपी मोर्गनले आरोपहरु बनावटी भएको अडान दोहोर्याउँदै आएको छ । जबकि राणाको कानुनी टोलीले ती आरोप सही भएको दाबी गरिरहेको छ। अब यो प्रकरण न्यूयोर्कको अदालत प्रणालीमार्फत अघि बढ्नेछ, अदालती प्रक्रिया वर्षौँसम्म लम्बिन सक्नेछ।
मुद्दामा राखिएका सबै आरोपहरू जेपी मोर्गन र लोर्ना हाजिनी दुवैले अस्वीकार गरेका छन्। राणाले भने अहिलेसम्म कुनै मिडिया अन्तर्वार्ता दिएका छैनन्, न त सार्वजनिक वक्तव्य नै जारी गरेका छन्।
