विद्यार्थीलाई टेबुलमुनि ओत दिइएको भिडियो सार्वजनिक भएको स्कुलमा के हुँदै छ प्रगति ?

२०१७ सालमा स्थापित विद्यालयका सबै कक्षाकोठा जीर्ण । भिडियो बाहिरिएपछि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख र गाउँपालिका अध्यक्षले गरे विद्यालय अनुगमन ।

वैशाख २४, २०८३

मनोज पौडेल

What you should know

कपिलवस्तु — केही दिनदेखि जिल्लाको विजयनगर–६, जुडपनियाँस्थित रामशरण आधारभूत विद्यालयबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । जिल्लाकै दुर्गम क्षेत्रस्थित विद्यालयको नाजुक भौतिक अवस्थाले शिक्षामन्त्री सस्मित पोखरेलको समेत ध्यानाकर्षण गरेको थियो । 

मन्त्री पोखरेलले जुडपनियाँस्थित विद्यालयमा कक्षा २ मा अध्ययनरत विद्यार्थीलाई एक शिक्षकले ओत दिँदै गरेको कारुणिक दृश्यले आफू बेचैन भएको उल्लेख गरेका छन् । त्यसरी ओत प्रदान गर्ने शिक्षिकाप्रति मन्त्री पोखरेलले कृतज्ञता पनि व्यक्त गरेका छन् । 

विद्यालयका अनुसार कक्षा २ का विद्यार्थी रहेको कोठाको छाना र झ्यालका भेन्टिलेसनबाट पानी चुहिएको थियो । पानीले विद्यार्थी भिज्न थालेपछि शिक्षिकाले ठूलो टेबुल ल्याएर उनीहरूलाई त्यसमुनि राखी ओत दिएकी थिइन् । विद्यार्थी भिज्दै उक्त टेबुलमुनि ओत लागेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । टेबुल सानो र विद्यार्थी धेरै भएकाले टेबुलमुनि  ठेलमठेल गर्दै ओत लागेका थिए । 

गत सोमबार दिउँसो १ बजेतिर कपिलवस्तुमा हावाहुरीसहित वर्षा भएको थियो । त्यसपछि विद्यालयका कक्षाकोठामा पानी पसेको विद्यालयका शिक्षक शम्भु विकले बताए । ‘सबै कोठामा पानी भित्र पसेर विद्यार्थी भिज्न थाले,’ शिक्षिका निर्मला महत्रा थापाले भनिन्, ‘त्यसपछि आत्तिएर विद्यार्थी जोगाउन लागेँ ।’ कक्षा २ को कोठामा रहेका बालविकासदेखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई जम्मा गरेर उनीहरूलाई टेबुलमुनि राखेर ओत दिएको उनले बताइन् ।What progress is being made at the school where a video of a student being forced under a table was made public?

‘एक्कासि हावाहुरीसहितको बाछिटाले विद्यार्थी अत्तालिएपछि मस्तिस्कले काम गर्नै छाडेको थियो,’ उनले भनिन्, ‘विद्यार्थी पढ्ने टेबुल र बेन्चको सहयोग लिएर विद्यार्थी जोगाएँ ।’  बालबालिकालाई टेबुलको ओत प्रदान गरिएको भिडियो बनाएर शिक्षक विकले फेसबुकमा पोस्ट गरेका थिए । 

उक्त मार्मिक भिडियोका कारण अहिले विद्यालय भाइरल बनेको छ । भिडियोबाहिर आएपछि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले स्थलगत अनुगमन गरिसकेका छन् । विद्यालयको नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायबाट पहल भइरहेको मन्त्री पोखरेलले पनि आफ्नो फेसबुक वालमा लेखेका छन् ।

उक्त भिडियो बिहीबार दिउँसोसम्म १७ लाखले हेरिसकेको शिक्षक विकले बताए । ‘के होला ? कसो होला ? भनेर भिडियो पोस्ट गरेको थिएँ,’ उनले भने, ‘एउटा भिडियोकै कारण विद्यालयको अवस्था छरपस्ट देखियो । संघीयदेखि स्थानीय सरकारको चासो र ध्यान पुग्यो ।’ अब विद्यालय पुनःनिर्माण हुनेमा आशावादी भएको उनले बताए ।  

२०१७ सालमा स्थापित विद्यालयका सबै कक्षाकोठा जीर्ण छन् । नौवटा कोठा भए पनि सबैका झ्याल र भेन्टिलेसनका ढोका टुटेफुटेका छन् । पानीको बाछिटा कक्षाकोठाभित्रै पसेर समस्या भइरहेको छ । वर्षाका बेला पठनपाठनमा अवरोध हुन्छ । कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा २ सयभन्दा बढी विद्यार्थी छन् । सबै कोठा टिनले छाएको पुराना, जीर्ण र भत्किने अवस्थाका छन् ।

विद्यालयमा ३ जना स्थायी, एक जना निमावि संघीय अनुदान, ३ जना गाउँपालिकाको स्वयंसेवी शिक्षक, एक जना निजी स्रोत, एक जना बालविकास र एक जना कार्यालय सहयोगी छन् । भिडियो भाइरल भएपछि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख र गाउँपालिका अध्यक्ष गोपाल थापाले अनुगमन गरेका थिए । विद्यालयको भवन सक्दो छिटो बनाउन योजना निर्माण गरिएको अध्यक्ष थापाले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully