स्कुल जान थाले पनि उनीहरूसँग ड्रेस छैन, किताब छैन र कापीकलम पनि छैन
What you should know
काठमाडौँ — ‘तिमीहरूलाई के-के चाहिएको छ ? हामीलाई भन्नु ल,’ बल्खुस्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले विस्थापित वस्तीका बालबालिकाहरूलाई बुधबार दिउँसो कक्षाकोठामा सोधे ।
‘हामीसँग ड्रेस छैन, किताब छैन, कापीकलम छैन,’ विद्यार्थीहरूको सामूहिक स्वरमा मसिनो स्वर मिलाइरहेका थिए १२ वर्षीय विश्वनाथ गुरुङ । काठमाडौं र भक्तपुरका विभिन्न सुकुमवासी बस्तीमा सरकारको डोजर चलेपछि वर्षौँदेखि बसिरहेका मान्छेहरू घरबारविहीन भए । सरकारले विस्थापित परिवारलाई विभिन्न स्थानका ‘होल्डिङ सेन्टर’मा लगेर राखेको थियो ।
शान्तिनगर गैह्रीगाउँका विस्थापित परिवारमध्येका हुन्, विश्व । जसलाई कान्तिपुरले एक साताअघिको भेटमा सोधेको थियो, ‘स्कुल कहिलेबाट जाने ?’ ‘खै, कहाँ बस्ने भन्ने नि थाहा छैन । स्कुल कहाँ पढने नि थाहा छैन । कापीकलम पुरियो,’ पारिपट्टि गुह्हेश्वरी माध्यमिक विद्यालयतर्फ टोलाएर हेरिरहेका उनले । विश्वले ४ कक्षासम्म गुहेश्वरी पढेका थिए । केही दिन अघिमात्र कीर्तिपुर होल्डिङ सेन्टर पुगेका उनीहरू मंगलबारबाट नियमित स्कुल आउन थाले ।
‘स्कुलमा किताबकापी आउँछ भन्नुभएको छ । तर अहिले त अरूकै किताब तन्कीतन्की हेर्नुपर्छ,’ कक्षा ७ मा पढिरहेकी विष्णुलक्ष्मी गुरुङले भनिन् । विष्णुलक्ष्मीलाई अरू साथीहरूको ड्रेस देख्दा आफ्नो पनि भइदिए हुने लाग्दो रहेछ । ‘अरुको ड्रेस छ । हाम्रो पनि भइदिएदेखि स्कुलमा पढ्न पनि रमाइलो हुन्थ्यो,’ विष्णुलक्ष्मीले भनिन् । विश्व र विष्णुजस्तै राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ मंगलबारदेखि विद्यालय जान थालेका हुन् । काठमाडौं महानगरपालिकाको राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना आजदेखि विद्यालय जान थालेका छन् ।
काठमाडौं महानगरपालिकाको शिक्षा अधिकारी नमराज ढकालका अनुसार शिक्षा विभागले विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नम्बर १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनका लागि लैजान समन्वय गरेको थियो । नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका एकसहित ६२ पुरुष, ३ सुत्केरी, २ गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन् । यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका छन् ।
कक्षा ६ मा पढ्ने लविता परियार स्कुल आउन पाएकोमा त खुसी छिन् । तर उनीसँग न जुत्ता छ, न झोला । टाई बेल्ट, आइडीकार्डसहित स्कुल जाने बानी लागेको उनलाई केही नबोकी स्कुल आउँदा भने नरमाइलो लागिरहेको छ । लविताको साथी थिइन् विष्णु । उनीहरू एकै ठाउँबाट विस्थापति भएर होल्डिङ सेन्टर पुगेका थिए । ‘सबै साथी पहिलेको स्कुलमा थिए । यहाँ त ऊ र म मात्र हौँ । स्कुलका अरू साथीसँग त बोलचाल पनि भएको छैन,’ उनले भनिन् । लवितासँग घरमा किताब, कापीदेखि लिएर स्कुलका लागि चाहिने सबै सामान थिए । ‘डोजर घरमा पसेर सबै सामान पुरिए,’ उनले भनिन् ।’
कक्षामा अरू साथीहरूसँग घुलमिल नहुँदा आफूहरू एक्लै परेको पीडा पनि थियो । गैरीगाउँबाट विस्थापित भएर आएका १२ वर्षीय सिजन नेपाली कक्षा ५ मा पढ्छन् । उनी यसअघि सिनामंगलको गुहेश्वरीमा पढथ्रे । घर भत्किएपछि सिजनको परिवार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आयो । ‘स्कुल कहिलेदेखि जाने हो भन्ने लागेको थियो । आउन त पाइयो । तर यहाँ पनि सधैं पढ्न पाइन्न रे, ’ उनले भने ।
सन्तानहरूको पढाइ बिग्रने चिन्ता लिएर बसिरहेका अभिभावकहरू छोराछोरी स्कुल जान थालेकोमा खुसी छन् । ५८ वर्षीय हिराहरि दुसादकी पाँच वर्षकी नातिनी स्कुल जान थालेको कुराले हर्षित देखिए । ‘स्कुल हाल्नुपर्ने उमेरमा हाल्न पाइएन भनेर दु:ख लागेको थियो । अब त जान थाले,’ उनले भने । तर यो पनि अस्थायी ठाउँ भएकाले स्कुलहरू फेरिरहँदा बालबालिकालाई समस्या हुने अभिभावकहरूमा डरभने कायम छ । विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाका अनुसार उक्त स्कुलमा विस्थापित परिवारमा रहेका ५८ जना विद्यार्थीको नामावली आएको थियो । तीमध्ये मंगलबार विद्यालयमा ४१ जना छात्रछात्राहरू उपस्थित भए । ती विद्यार्थीहरू ईसीडी (नर्सरी) देखि कक्षा ९ सम्मका थिए । ‘विद्यार्थीमध्ये कक्षा ९ मा भने एक जना मात्र छन् । सबैभन्दा बढी कक्षा ६ मा १२ जना विद्यार्थीहरू छन्,’ उनले भने ।
बालबालिकाहरू धेरैपछि स्कुलको आँगनामा टेक्न पाउँदा फुरुङ्ग देखिएको उनी बताउँछन् । ‘हिजो आउँदा विद्यार्थीहरू रमाइरहेका थिए । उनीहरूलाई पढ्ने भन्दा नि रमाइलो गर्ने ध्यान थियो । बिस्तारै बानी लगाउँदैछौँ,’ उनले भने । झाका अनुसार पहिलो दिन होल्डिङ सेन्टरबाट आएका विद्यार्थीहरूलाई एउटा कक्षाकोठामा राखेर परामर्श गरिएको थियो ।
‘उनीहरूलाई स्वागत गर्दै ‘कुन कुन कक्षा पढेर आउनुभएको छ र अब कुन कक्षामा भर्ना हुने हो’ भनी सोधपुछ गरेर क्रमैसँग कक्षाहरूमा पठायौँ । शिक्षक र कार्यालय सहयोगीहरू मिलेर सबैलाई कक्षामा सेटल गरायौँ । शिक्षक साथीहरूलाई पनि ‘यी विद्यार्थीहरूलाई अर्को दृष्टिकोणले नहेरियोस् र कसैले नहेपोस्’ भनेर सचेत गराएका छौँ,’ झाले भने । तर विद्यार्थीहरूलाई केही समयका लागि मात्र यहाँ व्यवस्थापन गराइएको उनले बताए । ‘उनीहरू यहाँ सधैँ बस्ने होइनन्, होल्डिङ सेन्टरमा रहुन्जेल वा डेढ-दुई महिनाका लागि मात्र यहाँ आउने हुन् । त्यसैले हामीले महानगरलाई नै कतैबाट सामान किनेर पठाइदिन वा ट्रयाक सुट र युनिफर्मका लागि सम्बन्धित ठाउँको फोन नम्बर दिएर आफैं समन्वय गर्न भनेका छौँ,’ उनले भने ।
विस्थापित परिवारबाट आएका विद्यार्थीहरूलाई पढाइरहेको सोही विद्यालयले पनि बल्खुस्थित सुकुमवासी बस्ती सरकारले भत्काएसँगै आफ्ना नियमित विद्यार्थी गुमाएको छ । ‘बल्खुको सुकुमवासी बस्तीबाट हामीकहाँ ८० देखि १०० जना विद्यार्थीहरू आउँथे । अभिभावकहरू यहाँ पढाउन चाहन्थे, तर बस्ती हटेपछि उनीहरूले यो क्षेत्रमा डेढ-दुई महिनाका लागि डेरा नै पाएनन्,’ उनले भने, ‘पहिले ५-६ हजारमा दुई-तीनवटा कोठा पाउनेहरूले अहिले बाहिर १५-२० हजार तिर्न सक्दैनन् । हाम्रै विद्यालय व्यवस्थापन समितिका सदस्यको छोरीले समेत डेरा नपाएर बालाजुतिर जानु पर्यो र उतै भर्ना हुनुपर्यो ।’
