विद्यालय जान थाले होल्डिङ सेन्टरका बालबालिका, स्कुलको आँगनमा टेक्न पाउँदा फुरुङ्ग

स्कुल जान थाले पनि उनीहरूसँग ड्रेस छैन, किताब छैन र कापीकलम पनि छैन

वैशाख २४, २०८३

समर्पण श्री

Children from the Holding Center started going to school, happy to be able to stand in the school yard

What you should know

काठमाडौँ — ‘तिमीहरूलाई के-के चाहिएको छ ? हामीलाई भन्नु ल,’ बल्खुस्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाले विस्थापित वस्तीका बालबालिकाहरूलाई बुधबार दिउँसो कक्षाकोठामा सोधे ।

‘हामीसँग ड्रेस छैन, किताब छैन, कापीकलम छैन,’ विद्यार्थीहरूको सामूहिक स्वरमा मसिनो स्वर मिलाइरहेका थिए १२ वर्षीय विश्वनाथ गुरुङ । काठमाडौं र भक्तपुरका विभिन्न सुकुमवासी बस्तीमा सरकारको डोजर चलेपछि वर्षौँदेखि बसिरहेका मान्छेहरू घरबारविहीन भए । सरकारले विस्थापित परिवारलाई विभिन्न स्थानका ‘होल्डिङ सेन्टर’मा लगेर राखेको थियो ।

शान्तिनगर गैह्रीगाउँका विस्थापित परिवारमध्येका हुन्, विश्व । जसलाई कान्तिपुरले एक साताअघिको भेटमा सोधेको थियो, ‘स्कुल कहिलेबाट जाने ?’ ‘खै, कहाँ बस्ने भन्ने नि थाहा छैन । स्कुल कहाँ पढने नि थाहा छैन । कापीकलम पुरियो,’ पारिपट्टि गुह्हेश्वरी माध्यमिक विद्यालयतर्फ टोलाएर हेरिरहेका उनले । विश्वले ४ कक्षासम्म गुहेश्वरी पढेका थिए । केही दिन अघिमात्र कीर्तिपुर होल्डिङ सेन्टर पुगेका उनीहरू मंगलबारबाट नियमित स्कुल आउन थाले ।

‘स्कुलमा किताबकापी आउँछ भन्नुभएको छ । तर अहिले त अरूकै किताब तन्कीतन्की हेर्नुपर्छ,’ कक्षा ७ मा पढिरहेकी विष्णुलक्ष्मी गुरुङले भनिन् । विष्णुलक्ष्मीलाई अरू साथीहरूको ड्रेस देख्दा आफ्नो पनि भइदिए हुने लाग्दो रहेछ । ‘अरुको ड्रेस छ । हाम्रो पनि भइदिएदेखि स्कुलमा पढ्न पनि रमाइलो हुन्थ्यो,’ विष्णुलक्ष्मीले भनिन् । विश्व र विष्णुजस्तै राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ मंगलबारदेखि विद्यालय जान थालेका हुन् । काठमाडौं महानगरपालिकाको राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना आजदेखि विद्यालय जान थालेका छन् ।

काठमाडौं महानगरपालिकाको शिक्षा अधिकारी नमराज ढकालका अनुसार शिक्षा विभागले विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नम्बर १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पठनपाठनका लागि लैजान समन्वय गरेको थियो । नदीकिनारामा अव्यवस्थित बसोबास गरिरहेका घरटहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामङ्गलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका एकसहित ६२ पुरुष, ३ सुत्केरी, २ गर्भवतीसहित ८० महिला, ३१ बालिका र ३० बालक छन् । यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका छन् ।

Children from the Holding Center started going to school, happy to be able to stand in the school yard

कक्षा ६ मा पढ्ने लविता परियार स्कुल आउन पाएकोमा त खुसी छिन् । तर उनीसँग न जुत्ता छ, न झोला । टाई बेल्ट, आइडीकार्डसहित स्कुल जाने बानी लागेको उनलाई केही नबोकी स्कुल आउँदा भने नरमाइलो लागिरहेको छ । लविताको साथी थिइन् विष्णु । उनीहरू एकै ठाउँबाट विस्थापति भएर होल्डिङ सेन्टर पुगेका थिए । ‘सबै साथी पहिलेको स्कुलमा थिए । यहाँ त ऊ र म मात्र हौँ । स्कुलका अरू साथीसँग त बोलचाल पनि भएको छैन,’ उनले भनिन् । लवितासँग घरमा किताब, कापीदेखि लिएर स्कुलका लागि चाहिने सबै सामान थिए । ‘डोजर घरमा पसेर सबै सामान पुरिए,’ उनले भनिन् ।’

कक्षामा अरू साथीहरूसँग घुलमिल नहुँदा आफूहरू एक्लै परेको पीडा पनि थियो । गैरीगाउँबाट विस्थापित भएर आएका १२ वर्षीय सिजन नेपाली कक्षा ५ मा पढ्छन् । उनी यसअघि सिनामंगलको गुहेश्वरीमा पढथ्रे । घर भत्किएपछि सिजनको परिवार कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आयो । ‘स्कुल कहिलेदेखि जाने हो भन्ने लागेको थियो । आउन त पाइयो । तर यहाँ पनि सधैं पढ्न पाइन्न रे, ’ उनले भने ।

सन्तानहरूको पढाइ बिग्रने चिन्ता लिएर बसिरहेका अभिभावकहरू छोराछोरी स्कुल जान थालेकोमा खुसी छन् । ५८ वर्षीय हिराहरि दुसादकी पाँच वर्षकी नातिनी स्कुल जान थालेको कुराले हर्षित देखिए । ‘स्कुल हाल्नुपर्ने उमेरमा हाल्न पाइएन भनेर दु:ख लागेको थियो । अब त जान थाले,’ उनले भने । तर यो पनि अस्थायी ठाउँ भएकाले स्कुलहरू फेरिरहँदा बालबालिकालाई समस्या हुने अभिभावकहरूमा डरभने कायम छ । विद्यालयका प्रधानाध्यापक अनिलकुमार झाका अनुसार उक्त स्कुलमा विस्थापित परिवारमा रहेका ५८ जना विद्यार्थीको नामावली आएको थियो । तीमध्ये मंगलबार विद्यालयमा ४१ जना छात्रछात्राहरू उपस्थित भए । ती विद्यार्थीहरू ईसीडी (नर्सरी) देखि कक्षा ९ सम्मका थिए । ‘विद्यार्थीमध्ये कक्षा ९ मा भने एक जना मात्र छन् । सबैभन्दा बढी कक्षा ६ मा १२ जना विद्यार्थीहरू छन्,’ उनले भने । 

Children from the Holding Center started going to school, happy to be able to stand in the school yard

बालबालिकाहरू धेरैपछि स्कुलको आँगनामा टेक्न पाउँदा फुरुङ्ग देखिएको उनी बताउँछन् । ‘हिजो आउँदा विद्यार्थीहरू रमाइरहेका थिए । उनीहरूलाई पढ्ने भन्दा नि रमाइलो गर्ने ध्यान थियो । बिस्तारै बानी लगाउँदैछौँ,’ उनले भने । झाका अनुसार पहिलो दिन होल्डिङ सेन्टरबाट आएका विद्यार्थीहरूलाई एउटा कक्षाकोठामा राखेर परामर्श गरिएको थियो ।

‘उनीहरूलाई स्वागत गर्दै ‘कुन कुन कक्षा पढेर आउनुभएको छ र अब कुन कक्षामा भर्ना हुने हो’ भनी सोधपुछ गरेर क्रमैसँग कक्षाहरूमा पठायौँ । शिक्षक र कार्यालय सहयोगीहरू मिलेर सबैलाई कक्षामा सेटल गरायौँ । शिक्षक साथीहरूलाई पनि ‘यी विद्यार्थीहरूलाई अर्को दृष्टिकोणले नहेरियोस् र कसैले नहेपोस्’ भनेर सचेत गराएका छौँ,’ झाले भने । तर विद्यार्थीहरूलाई केही समयका लागि मात्र यहाँ व्यवस्थापन गराइएको उनले बताए । ‘उनीहरू यहाँ सधैँ बस्ने होइनन्, होल्डिङ सेन्टरमा रहुन्जेल वा डेढ-दुई महिनाका लागि मात्र यहाँ आउने हुन् । त्यसैले हामीले महानगरलाई नै कतैबाट सामान किनेर पठाइदिन वा ट्रयाक सुट र युनिफर्मका लागि सम्बन्धित ठाउँको फोन नम्बर दिएर आफैं समन्वय गर्न भनेका छौँ,’ उनले भने ।

Children from the Holding Center started going to school, happy to be able to stand in the school yard

विस्थापित परिवारबाट आएका विद्यार्थीहरूलाई पढाइरहेको सोही विद्यालयले पनि बल्खुस्थित सुकुमवासी बस्ती सरकारले भत्काएसँगै आफ्ना नियमित विद्यार्थी गुमाएको छ । ‘बल्खुको सुकुमवासी बस्तीबाट हामीकहाँ ८० देखि १०० जना विद्यार्थीहरू आउँथे । अभिभावकहरू यहाँ पढाउन चाहन्थे, तर बस्ती हटेपछि उनीहरूले यो क्षेत्रमा डेढ-दुई महिनाका लागि डेरा नै पाएनन्,’ उनले भने, ‘पहिले ५-६ हजारमा दुई-तीनवटा कोठा पाउनेहरूले अहिले बाहिर १५-२० हजार तिर्न सक्दैनन् । हाम्रै विद्यालय व्यवस्थापन समितिका सदस्यको छोरीले समेत डेरा नपाएर बालाजुतिर जानु पर्यो र उतै भर्ना हुनुपर्यो ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully